चैत्र शुक्ल पक्षको नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाडौं । चैते दसैंसमेत भनिने चैत्र शुक्ल पक्षको नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्न थालेको छ ।

चैत १९ गतेदेखि सुरु भएको नवरात्रका अवसरमा सोही दिनदेखि राजधानी र बाहिरका शक्तिपीठमा भक्तजनको भीड लाग्न थालेको थियो ।

बुधबारदेखि भने धेरै भक्तजन शक्तिपीठमा जम्मा हुन थालेका छन् । बुधबार, बिहीबार र शुक्रबारलाई देवीको पूजा तथा आराधना गर्ने बारका रुपमासमेत लिने गरिएको छ ।

सामान्य अवस्थामा पनि यी बार शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतमले बताए ।

राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनीलगायत मन्दिरमा भक्तजनको भीड लागेको छ । यस अवसरमा विभिन्न मन्दिरमा विशेष अनुष्ठान पनि भइरहेका छन् ।

यसैगरी उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, उग्रतारा, शैलेश्वरीलगायत देशभरका देवी मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

चैत्र नवरात्रसमेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने, सुख, शान्ति पाइने धार्मिक विश्वास छ ।

यस वर्ष चैत २६ गते शनिबार अष्टमी र २७ गते रामनवमी पर्व परेको छ । चैत २८ गते सोमबारसम्म नवरात्र मनाइन्छ । वर्षमा चार नवरात्र पर्छन् ।

त्यसमध्ये आश्विन र चैत्र शुक्ल पक्षमा पर्ने नवरात्रलाई विशेष रुपमा मनाउने गरिन्छ । पुस र असार शुक्ल पक्षमा पर्ने नवरात्रलाई विशेष साधना गर्नेले मात्र मनाउँछन् । यसमध्ये पनि आश्विन शुक्ल पक्षको नवरात्रलाई भने नेपालमा राष्ट्रिय चाडका रुपमा बडा दसैं मनाउने गरिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स