सीडीले हैन, बैंकहरु नाफामा केन्द्रित हुँदा लगानी योग्य पुँजीमा चाप

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु लगानी योग्य पुँजी तरलताको अभावसँग जुझिरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्षको सुरुवाती चरणमा आक्रामक रुपमा कर्जा विस्तार गरेकाले हाल तरलताको अभाव देखिएको बैंकिङ क्षेत्रको जानकारहरु बताउँछन् ।

२०७८ असारमसान्तसम्म ३७ खर्ब २१ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुको चैत ११ गतेसम्म कर्जा लगानी ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकमा देखिएको छ । चालु आव सुरु भएको ९ महिना नपुग्दै बैंकहरुले ५ खर्ब ५८ अर्ब रुपैयाँले कर्जा प्रवाह गरिसकेका छन् । यो अवधिमा निक्षेप भने १ खर्ब २९ अर्ब मात्र निक्षेप संकलन गरेका छन् ।

चालु आवमा राष्ट्र बैंकले करिब ७ खर्ब रुपैयाँ कर्जा प्रचिलान हुने अनुमान गरेको थियो । ९ महिनाको अवधिमा बैंकहरुले राष्ट्र बैंकले अनुमान गरेको रकमको करिब ८० प्रतिशत कर्जा विस्तार गरिसकेका छन् ।

चालु आवको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले अन्तर्राष्ट्रिय सिद्धान्त पालना गर्ने भन्दै सीसीडी रेसियो खारेज गरेर सीडी (कर्जा–निक्षेप) रेसियो कार्यान्वयनमा ल्याएको छ । सीसीडी रेसियो हुँदा बैंकहरुले निक्षेप र चुँक्ता पुँजीको ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्थे । सीडीमा भने निक्षेप संकलनको ९० प्रतिशतसम्म कर्जा विस्तार गर्न सक्छन् ।
साउनपछि सीसीडी हटाएर सीडी लागु हुँदा धेरै बैकर्सले अब एक रुपैयाँ पनि ऋण दिन नसकिने अभिव्यक्त दिएका थिए । तर सीसीडी र सीडी रेसियोमा बैंकहरुको कर्जा दिन सकिने क्षमतामा धेरै ह्रास नआएको पूर्व बैंकर्स तथा सीए अनलराज भट्टराई बताउँछन् ।

सीडी रेसियोमा बैंकहरुलाई स्रोत परिचालनमा गणना हुने निक्षेप, डिभेञ्चर, वैदेशिक ऋण, रिफाइनान्सिङजस्ता उपकरण प्रयोग गरेर पनि तरलताको व्यवस्था गर्न सक्ने सुविधा छ । तर सीडीडी रेसियोमा भने निक्षेप र चुक्ता पुँजीको आधारमा मात्र कर्जा दिन सकिन्थ्यो ।

हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुको चुक्ता पुँजी करिब ४ खर्ब ८ अर्ब २६ करोड छ । चैत ११ गतेसम्म ४३ खर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसरी हेर्दा बैंकहरुसँग कर्जा दिनका लागि ४७ खर्ब ३८ अर्ब रुपैयाँ रहेको छ । सीसीडी कायम भएको भए बैंकहरुले जम्मा ३७ खर्ब ९१ अर्ब रुपैयाँमा कर्जा दिन सक्थे । सीडी कायम हुँदा ३८ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा दिन सक्छन् । अहिले केही बैंकहरुको सीडी रेसियो राष्ट्र बैंकले तोकेको ९० प्रतिशतभन्दा माथि रहेकाले पनि अलिक बढी कर्जा प्रवाह भएको देखिन्छ ।

बैंकहरुले चालु आवको सुरुवाती दिनमा कर्जा लगानीमा आक्रामक हुँदा अहिले तरलताको अभाव देखिएको पूर्व बैंकर्स तथा सीए भट्टराई बताउँछन् ।

‘बैंकहरु निक्षेप संकलनको तुलनामा कर्जा विस्तारमा आक्रामक भए । जसको परिणाम स्वरुप बजारमा तरलाताको अभाव देखिएको हो,’ भट्टराईले भने, ‘निक्षेपको पनि व्यवस्थापन गर्दै कर्जा प्रवाह गरेको भए अहिलेको जस्तो समस्या आउँदैन थियो ।’ राष्ट्र बैंकको नीतिभन्दा पनि बैंकहरु नाफामा केन्द्रित हुँदा तरलताको अभाव चुलिएको उनी बताउँछन् ।

पूर्व बैकर्स तथा सीए अनलराज भट्टराई

बैंकहरुलाई पनि चालु आवको सुरुवतामा कर्जा विस्तार गर्दाको जस्तो फाइदा मसान्तमा कर्जा प्रवाह गर्दा हुँदैन । हरेक असल कर्जाको पनि १.३ प्रतिशत प्रोभिजिङ अनिवार्य गर्नु पर्ने हुन्छ ।

चालु आवको सुरुमै कर्जा दिँदा बैंकहरुले ब्याजबाट अधिकतम लाभ प्राप्त गर्छन् । उद्दारणका लागि मासिक १२ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरिएको छ भने पनि अहिले कर्जा प्रवाह गर्दा बैंकहरुले ३ प्रतिशत मात्र ब्याजबाट लाभ प्राप्त गर्छन् । त्यसमा पनि १.३ प्रतिशत प्रोमिजङ कटाउँदा नाफा घट्ने गर्छ । आवको मसान्तमा कर्जा प्रवाह गर्दा नाफा कम हुने भएकाले बैंकहरुसँग रहेको तरलता चालु आवको सुरुवातमै प्रयोग गर्न रुचाउँछन् । जसका लागि बैंकहरु आवको सुरुवातमै कर्जा विस्तारमा आक्रामक बन्ने गरेका छन् । जसको प्रभाव स्वरुप बैंकहरु अहिले लगानी योग्य पुँजीको अभाव व्यहोरि रहेका छन् ।

चालु आवको पहिलो ९ महिनामा बैंकहरुको निक्षेपको तुलनामा कर्जा प्रवाह ५ गुणा बढी छ । कर्जासँग निक्षेप संकलनका लागि बैंकहरु अग्रसर नहुँदा लगानी योग्य पुँजीको अभाव बारम्बार देखिने गरेको भट्टराई बताउँछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स