पेट्रोलियम पदार्थ ढुवानी गर्ने सम्बन्धमा निगम र व्यवसायीबीच भयो सहमति (पत्रसहित)

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । व्यवसायीहरूले राखेको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल एलपी ग्याँस उद्योग संघ र नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले सबै विरोधका कार्यक्रम फिर्ता लिएका छन् । सहमति पश्चात उनीहरुले पेट्रोलियम पदार्थ र एलपी ग्याँसको ढुवानी र बिक्री वितरण यथावत सञ्चालन गर्ने भएका छन् ।

नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार भएको वार्तामा सहमति भएपछि व्यवसायी र नेपाल आयल निगमले चार बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

व्यवसायीले राखेका पेट्रोलियम बिक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनको वषयमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्ने सहमति भएको छ । अन्य मागका बारेमा १५ जेठसम्ममा पूरा गर्ने गरी काम गर्ने सहमति भएको छ ।

संयुक्त प्रेस विज्ञप्तिमा नेपाल पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका प्रवक्ता विश्व अर्याल र नेपाल आयल निगमका तर्फबाट प्रवक्ता विनितमणि उपाध्यायले हस्ताक्षर गरेका छन् ।

ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरूमा उपभोक्ताको लामो लाइन लागेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स