उद्योगीले विद्युत् नपाउनु चिन्ताको विषय भएको राष्ट्रपति भण्डारीको भनाइ, के के हुन्छ ३ दिनमा

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले उद्योगले अहिले माग अनुसार विद्युत् नपाउनु चिन्ताको विषय भएको बताएकी छिन् । काठमाडौंमा शनिवार आयोजित हिमालयन हाइड्रो एस्पो २०२२ लाई सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले जलविद्युतको अपार सम्भावना भएको देशका उद्योगले आवश्यकता अनुसार विद्युत नपाउनु चिन्ताको विषयम भएको बताएकी हुनु ।

‘आयातीत विद्युतले केही सहज भएपनि त्यसलाई सन्तोषजनक मान्न सकिन्न,’ उनले भनिन् ‘विद्युत् उत्पादन र खपतको सन्तुलन मिलाउन आवश्यक छ ।’ विद्युत् क्षेत्रमा नयाँ प्रविधि र खोज गर्न आवश्यक भएकाले यसतर्फ ऊर्जा व्यवसायीले ध्यान दिनु पर्ने उनले बताइन् ।

आज शनिबारदेखि सुरु भएको एक्स्पोमा जलविद्युत् क्षेत्रका नविनतम प्रविधि प्रदर्शनीदेखि सरोकारका सवै विषयवस्तुमा छलफल भएको हो । एक्स्पोमा शत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरुका बीचमा छलफल हुनेछ । पहिलो दिन शनिबार जलविद्युत् आयोजना निर्माणमा नयाँ प्रविधि, उत्पादित विद्युतको बजारीकरण तथा यसका समस्या र हरित हाईड्रोजनका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

प्रविधि सम्बन्धी सत्रमा भिब्रो सिस्टम क्यानडाका रविशेख दिक्षितले हाईड्रो युनिटको उपयुक्त सञ्चालन तथा मर्मतमा प्रस्तुती दिनेछन् । त्यस्तै डा. सिबास्टियन पाल्टले सेडिमेन्ट व्यवस्थापनमा बोल्नु हुनेछ । सिनेटेकका म्यानेजर मनोज भट्टराईले जलविद्युत्को राष्ट्रिय तथा अन्तररष्ट्रिय क्षेत्रमा उपलब्ध नविन प्रविधिबारे चर्चा गर्नेछन् । हरित हाइड्रोजनका सम्बन्धमा ब्रिटिश हाई कमिशन इण्डियाका वरिष्ठ उर्जा सल्लाहकार मिलिण्ड गोडब्लेले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

दोस्रो दिन चैत २० गते आइतबार जलविद्युत् क्षेत्रमा जलवायु परिवर्तन, वातावरणीय तथा सामाजिक विषयवस्तुमथि छलफल हुँदैछ । सोही दिन नै दोस्रो सत्रमा बैकपिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, नेपाल विद्युत् प्राधिकरणका सागरमणि ज्ञवाली लगायत सहभागीतामा विद्युतीय सवारी साधान र भविस्यका सम्भावनामा विज्ञहरुले छलफल हुनेछ ।

तेस्रो सत्रमा जलविद्युत् आयोजनामा वित्तीय तथा अन्य स्रोत व्यवस्थापनका विषयमा विशेष अन्तक्रिया हुनेछ छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यान लगायतका व्यक्तित्व उक्त सेसनमा सहभागी हुने आयोजकले जनाएको छ ।

तेस्रो दिन चैत २१ गते सोमबार दुईवटा सत्र तय गरिएको छ । पहिलोसत्रमा नेपालमा विद्युत् उत्पादन र उपभोगका विषयमा सरोकारवाला विज्ञले छलफल गर्नेछन् । सो सत्रमा विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीप कुमार थिके, प्राध्यापक अमृतमान नकर्मी, हाईड्रो सोलुसन्सका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान लगायत सहभागी हुुनेछन् ।

अन्तिम सत्रमा जलविद्युत् क्षेत्रको नीतिगत विषयबस्तुमा छलफल गरिने भएको छ । ऊर्जा जलस्रोत सिँचाईमन्त्री पम्फा भूषालको विशेष उपस्थिति हुने सो सत्रमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली काँग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा.कृष्णप्रसाद ओली र ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल सहभागी हुने कार्यक्रम रहेको छ ।

नेपाली जलविद्युुतको बजार प्रवद्र्धन भन्ने नाराका साथ आयोजना गरिएको यस हाइड्रो एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने अपेक्षा आयोजककोे छ ।

यस एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरु लगायत सय वटा भन्दा बढी स्टल बुकिङ भइसकेका छन् ।

जसमा विदेशी स्टलसमेत रहेका छन । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने छ ।

यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोे पावरमा रोबोटर्सको भूमिका विशेष आकर्षणका रुपमा प्रस्तुत गरिँदैछ । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकर्न २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरूका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा एक्स्पोमा हुनेछ ।

एक्स्पोमा जलविद्युत प्रवर्द्धक, उत्पादक, लगानीकर्ता, सप्लायर्स, बैंक, बीमा, जलविद्युतमा नयाँ प्रविधि तथा निर्माण सामग्रीका सप्लायरसँग सम्बन्धित १०० भन्दा बढी स्टल रहेका छन् । उक्त एक्स्पो सोमवारसम्म चल्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स