प्रधानमन्त्री देउवा र मोदीले हरियो झण्डा देखाएपछि चल्यो जनकपुर–जयनगर रेल

जनकपुर । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–जयनगर रेलको संयुक्त उद्घाटन गरेका छन् ।

देउवा र मोदीले आज (शनिबार) भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झण्डा देखाएर रेलको संचालन गरेका हुन् ।

उद्घाटनअघि रेललाई फूल लगाएर दुलही झैं सिंगारिएको थियो ।

अब आजदेखि रेल नियमित रुपमा दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्कौ रेल छुट्ने छ ।

एउटा रेलमा एक हजार ३५० यात्रु यात्रा गर्न सक्ने छन् । यात्रुले आफ्नो साथमा साना झोला लैजान पाउने छन् ।

कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा ९० रूपैयाँ भाडादर तोकिएको छ ।

एसिका लागि भने त्यसको पाँच गुणा अर्थात ४५० रूपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ । कम दूरीमा यात्रा गर्दा स्वत भाडादर त्योभन्दा कम हुनेछ ।

नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरिएको थियो ।

खरिद गरिएको डेढवर्षपछि रेल सेवा सञ्चालन भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स