धागो उद्योगमा ४ हजारले पाए रोजगारी, १२ हजार जनशक्ति तयार हुँदै

काठमाडौं । नेपाल धागो उत्पादक संघले चार हजारलाई थप रोजगारी दिएको छ । संघले पहिलो चरणमा ४ हजार जनशक्तिलाई धागो बनाउने सीप सिकाएर रोजगारी दिएको हो । प्रतिव्यक्ति २० हजार रुपैयाँ खर्चिएर नेपाल धागो उत्पादक संघले सो रोजगारी सिर्जना गरेको संघका सचिव उत्तम गौतमले हाम्रोअर्थलाई जानकारी दिए । ‘सो जनशक्ति तयार पार्नको लागि संघले ८ करोड र ‘युके एड’ ले ९ करोड रुपैयाँ खर्च गरेको हो,’ उनले भने ।

‘युके एड’ को सहयोगमा संघले ३ वर्षको अवधिमा सो जनशक्ति तयार पारेर विभिन्न उद्योगमा रोजगारी दिएको हो । ‘हामीले पहिलो चरणमा धागो बनाउने सीप सिकाएर ३ हजार ७ सय ७८ जनालाई स्पिनिङ धागो बनाउने चार वटा उद्योगमा रोजगारी दिइसकेका हौं,’ उनले भने ‘अब १२ जनशक्ति तयार पार्दैछौं ।’ यो जनशक्ति तयार पार्ने संघको दोस्रो परियोजना हो । अबको साढे २ वर्षमा थप १२ हजार जनाले रोजगारी दिने गरी जनशक्ति तयार पार्ने अर्थात तालिम दिने योजना गत डिसेम्बरमै अघि बढी सकेको छ ।

संघका सचिव गौतमले थपे ‘पहिलो फेजको परियोजना सफल भइसकेको छ, अहिले दोस्रो फेजको परियोजना पनि गत डिसेम्बरबाट नै अघि बढिसकेको छ ।’

संघले केहि पनि नजान्ने कोरो जनशक्तिलाई ३ महिनादेखि ६ महिनासम्मको तालिम दिने गरेको छ । तालिम अवधि भर पनि उक्त जनशक्तिले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउने व्यवस्था संघले मिलाएको छ । तालिम सञ्चालन गर्दा सरकारले न्यूनतम पारिश्रमिक प्रतिव्यक्ति प्रति महिना १३ हजार ७५० रुपैयाँ तोकेको थियो । सीप सिक्न आउनेले सोही अनुरुप भत्ता पाएको पनि उनले जानकारी दिए ।

तालिम लिइसकेपछि उनीहरूले तत्कालै मासिक २० देखि २५ हजारसम्म पारिश्रमिक पाउने गरेका छन् । संघले देशमा सञ्चालित ४ वटा स्पिनिङ मिल्समा तालिम दिने व्यवस्था मिलाएको छ । तालिममा सहभागीहरूले प्रत्येक दिन सैद्धान्तिक ज्ञान हासिल गरेपछि सोही दिन नै प्रयोगात्मक ज्ञान पनि उद्योगमै सिक्ने गरेका छन् ।

हरेक दिन एक सिफ्टमा ३० देखि ५० जनासम्म प्रशिक्षार्थी राखिने सो तालिममा धागो बनाउने मात्रै नभइ सब स्किल सम्बन्धी तालिम पनि उपलब्ध गराउने गरिएको सचिव गौतमले बताए । उनका अनुसार काममा अनुसाशीत हुनेदेखि उत्प्रेरणा जगाउनेसम्मको काम प्रत्येक दिन तालिम अघि १ घण्टा हुने गरेको छ । संघले आयोजना गरेको उक्त तालिममा सहभागी १०५ मध्ये ९५ जना महिला रहेका छन् ।

हाल नेपालको धागो उद्योगमा ८ हजार जनाले रोजगारी पाइरहेका छन् । सोमध्ये २० देखि २५ प्रतिशत विदेशी नागरिक हुन् । आगामी आर्थिक वर्षभित्र सो विदेशी जनशक्ति कार्यरत स्थलमा नेपाली जनशक्ति भर्ना गरिसक्ने अठोट संघले लिएको छ ।

वर्षीनै किन छाड्न ३ हजारदेखि ४ हजारले रोजगारी ?

धागो उद्योगमा काम गर्ने जनशक्ति भनेको दक्ष तथा अर्धदक्ष जनशक्ति हुन्। यी मध्ये कतिपय बढी कमाउने लोभमा परेर विदेश जान्छन् त कति विवाह भएर जान्छन् भने कतिपयले अन्य कारणले पनि काम छाड्ने गरेका छन् । यद्यपि तालिम लिएका जनशक्तिमध्ये १० प्रतिशतले भने विभिन्न कारणले काम गर्दैनन् ।

सो कारण हरेक वर्ष धागो उद्योगमा ३ हजारदेखि ४ हजार जनशक्ति आवश्यक पर्ने देखिन्छ भने उद्योगहरूले उद्योगलाई विस्तार गर्न पूर्वाधार तयार पारिरहेका छन् । रिलाइन्स, जगदम्बा, त्रिवेणीले विराटनगर, वीरगञ्ज र भैरहवामा उद्योग विस्तार गर्न पूर्वाधार तयार पारिरहेका । उक्त उद्योगको लागि थप ३ हजार जनशक्ति आवश्यक पर्छ । सोही कारणले संघले साढे २ वर्षमा तयार हुने गरी थप १२ हजारलाई तालिम दिन लागेको हो ।

कति हुन्छ नेपालमा धागो उत्पादन ?

हाल नेपालमा वार्षिक ५ करोड किलो धागो उत्पादन हुने गरेको छ । सो उत्पादित धागोमध्ये २५ प्रतिशत नेपालमा खपत हुन्छ भने अन्य धागो भारत र टर्कीमा निर्यात हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली धागोले भारत र चीनको धागोसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

नेपालबाट उत्पादित धागोलाई विश्व बजारमा गुणस्तरीय मानिन्छ । त्यसैले पनि विदेशी बजारमा नेपाली धागोलाई रुचाइएको हो । विदेशबाटै कच्चा पदार्थ ल्याएर धागो बनाउँदा ३० प्रतिशत भ्यालु एड गर्न सकिने सचिव गौतमले बताए ।
नेपालमा खासै धागोका कच्चा पदार्थ नभएकोले विदेशबाटै ल्याएर धागो उत्पादन गर्ने गरिएको छ । नेपालले वार्षिक करिब १० अर्ब रुपैयाँको धागो निर्यात गर्ने गरेको छ ।

यस्तो छ धागो निर्यातको ५ वर्ष

भन्सार विभागको तथ्यांक अनुसार २०७३÷७४ सालमा नेपालले ६ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको निर्यात गरेको थियो । आव २०७४\७५ मा निर्यात बढेर ८ अर्ब २६ करोड २३ लाखको र आव २०७५\७६ मा ९ अर्ब २६ करोड २३ लाखको धागो निर्यात भएकोे थियो ।

२०७६\७७ मा कोरोना महामारीका कारणमा उद्योग सञ्चालन गर्न नसक्दा उत्पादनमा प्रभाव परेको थियो । सो वर्ष निर्यात घटेको छ । उक्त आर्थिक वर्षमा नेपालबाट ७ अर्ब २५ करोड ९ लाखको निर्यात भएको तथ्यांकले देखाएको छ । गत वर्ष पनि कोरोनाको कहरका कारण उद्योगीहरूले आफ्नो क्षमता बढाएर ८ अर्ब ५२ करोड ९२ लाख रुपैयाँको धागो निर्यात गरेका थिए ।

धागोको मूल्य ४० प्रतिशतसम्म बढ्यो

पछिल्लो समय कपडा बनाउने धागोको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र अमेरिकी डलरको मूल्य बढेसँगै धागोको मूल्य बढेको हो । अहिले अन्तर्राष्ट्रिय बजारमा धागो मूल्य करिब ४० देखि ५० प्रतिशतसम्मले बढेको छ ।
उद्योग शशीकान्त अग्रवालले पछिल्लो समय धागोका मूल्य बढेको जानकारी दिए ।

संघका अनुसार पछिल्लो समय नेपाली बजारमा १५० रुपैयाँदेखि ७ सय रुपैयाँसम्म मूल्यमा प्रतिकेजी धागो पाइन्छ ।
नेपालमा रिलायन्स स्पिनिङ मिल्स, वीरगञ्जको त्रिवेणी स्पिनिङ मिल्स र भैरहवामा सञ्चालित जगदम्बा स्पिनिङ मिल्स र जय स्पिनिङ मिल्स सञ्चालनमा छन् । यी उद्योगहरूले पोलिस्टर, भिस्कोस, सुती, एक्रेलिक, मिलान्ज, टेक्सराइज्ड र ब्लेन्डेड रंगीन तथा सादा धागो उत्पादन गर्दै आएको छन् ।

नेपाल सञ्चालित यी उद्योगमा करिब १५ अर्ब रुपैयाँ लागनी रहेको संघले बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स