बजारमा विद्युतीय गाडीको अभाव

काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारीसाधनको अभाव चुलिएको छ । पेट्रोलिय पदार्थको बढ्दो मूल्य वृद्धिबाट आजित भएका र वातावरण प्रदुषण प्रति सजक उपभोक्ताहरुमा विद्युतीय सवारी प्रति आकर्षण बढ्दो छ । तर, उपभोक्ताको माग अनुसारको विद्युतीय सवारी बजारमा उपलब्ध नभएको नेपालका लागि विद्युतीय सवारीसाधनका आधिकारीक बिक्रेताहरु बताउँछन् ।

कोरानाका कारण सवारीसाधनको बिक्री घट्न सक्ने अड्कल काटेर चिप उत्पादक कम्पनीहरुले उत्पादनमा कटौती गरेका थिए । तर, कोभिड-१९ को प्रकोप केही मथर भएसँगै सवारी बिक्री अपेक्षा गरिएको भन्दा बढी भएको थियो । अहिले चिपको अभावमा सवारी उत्पादकहरुले बाजारको माग अनुसारको उत्पादन गर्न सकिरहेका छन् ।

सवारीसाधनको उत्पादन कम हुँदा त्यसको असर नेपाली बजारमा पनि देखिएको छ ।

साथै सरकारले ब्यापार घाटा कम गर्नका लागि सवारी आयातमा कडाई गर्दै आइरहेको छ । राष्ट्र बैंकले निर्देशिका जारी गरेर सवारीसाधन लगायत अटोमोवाइल स्पेयर पार्ट्सको आयातका लागि एलसी खोल्दा न्युनतम मार्जिनको सीमा ५ प्रतिशतबाट वृद्धि गरेर ५० देखि १०० प्रतिशतसम्म गरेको छ ।

उक्त व्यवस्थाका कारण सवारीसाधन बिक्रेताले सवारीसाधनको मूल्य बराबरकै रकम बैंकमा धरौटी राखेर गाडी आयात गर्नु पर्ने स्थिति सिर्जना भएको छ । साथै बैंक तथा वित्तीय संस्थाले सवारीसाधन खरिदका लागि सहज फाइनान्सिङ उपलब्ध नगराउँदा पनि सवारीसाधन बिक्री गर्न कठिनाइ भइरहेको व्यवसायीहरुको भनाइ छ ।

बजारमा विद्युतीय गाडीको अभाव

नेपालका लागि एमजी मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले फागुन १५ गते एमजी जेडएस इभी २०२२ सार्वजनिक गरेको थियो । गाडी सार्वजनिक गरिएको एक महिनासम्म पनि कम्पनीले ग्राहकको माग अनुसारको एमजी जेडएस उपलब्ध गराउन सकेको छैन । कम्पनीले गाडी सार्वजनिक गर्दा मुलुकभर बुकिङ लिएको थियो । २ दिनको अवधिमा ४ सयभन्दा बढी गाडी बुक कम्पनीका प्रबन्धक निर्देशक सचिन आर्याल बताउँछन् ।

‘विद्युतीय सवारी प्रति उपभोक्ताको चासो बढ्दो क्रममा छ । कम्पनीले नेपालमा गाडी सार्वजनिक गरेको २ दिनको अवधिमा ४ सयभन्दा बढी बुकिङ लिन सफल भएको थियो । जसका कारण २ दिनमै बुकिङ बन्द गर्नु परेको थियो,’ अर्यालले भने, ‘गाडी खरिद गर्ने चाहान राखेर शोरुम भ्रमण गर्न आउने ग्राहकहरु पनि धेरै हुनु हुन्छ । तर कम्पनीसँग गाडी नै उपलब्ध छैन ।’

ब्रिटेनको ब्राण्ड एमजी चीनको ठूलो व्यापारिक केन्द्र सांघाईमा उत्पादन भई नोपल भित्रिने गरेको छ । कोभिड–१९ को बढ्दो प्रकोपका कारण चीन सरकारले हाल सांघाईमा लकडाउन घोषणा गरेको छ । जसका कारण गाडी नेपाल ल्याउन तत्काल सम्भव नदेखिएको उनी बताउँछन् । गाडीको अभावका कारण बुकिङ लिएका ग्राहकलाई पनि डिलिभरी दिने मिती तोक्न नसकिएको उनी बताउँछन् ।

विद्युतीय सवारीसाधनको माग अनुसारको आपूर्ती गर्न नसकिएको नेपालका लागि हुन्डाई गाडीको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका निर्देशक दिपक थपलिया बताउँछन् । ‘विद्युतीय सवारी प्रति ग्राहकको आक्रषण बढ्दो छ,’ थपलियाले भने, ‘माग अनुसारको आपूर्ती दिन सकिएको छैन ।’

पेट्रोलिय पदार्थमा भएको मूल्य वृद्धिका कारण पनि विद्युतीय सवारी खरिद गर्न चाहाने ग्राहकमा बढोत्तरी भएको उनी बताउँछन् ।

हन्डाईको नयाँ इलेक्ट्रिक कार आयोनिक–५ फागुनमा नेपाली बजारमा सार्वजनिक गरिएको थियो । कम्पनीले तत्कालिन समयमा करिब २५ वटा आयोनिक–५ नेपाली बजारमा ल्याएको थियो । सार्वजनिक गरिएको केही दिनमै सबै गाडी बिक्री भइसकेको थियो । हुन्डाईले नेपालमा कोनाको २ भेरियन्ट र आयोजिनक ३ भेरियन्टमा बिक्री गर्दै आइरहेको छ । कम्पनीसँग विद्युतीय सवारीको स्टक बाँकी छैन । आपूर्ती करिब ठप्प हुँदा कम्पनीलाई बुकिङ लिएका ग्राहकलाई पनि गाडी उपलब्ध गराउन कठिनाइ भइरहेको छ । चीन र कोरियाको लकडाउन खुलेर गाडीको आपूर्ती सहज भएमा दशैंसम्ममा बुकिङ लिएका ग्राहकलाई गाडी उपलब्ध गराउने कम्पनीको योजना छ ।

बैंक तथा वित्तीय संस्थाले सवारीसाधन खरिदका लागि सहज फाइनान्सिङको सहज व्यवस्था नहुँदा बिक्री ठप्प भएको नेपालका लागि बीवाईडीको आधिकारीक वितरक सिमेक्स प्रालिका प्रमुख कार्यकारी निर्देशक साहिल श्रेष्ठ बताउँछन् । ‘विद्युतीय गाडी खरिदका लागि आउनु हुने ग्राहकको संख्या उच्च छ । बैंक तथा वित्तीय संस्थाबाट सवारीसाधनका लागि सहज रुपमा फाइनान्सिङ हुन सकेको छैन,’ श्रेष्ठले भने, ‘फाइनान्सिङ झन्झटिलो हुँदा ग्राहकको विद्युतीय गाडी चढ्ने चहान पुरा गर्न कठिनाइ भइरहेको छ ।’

कम्पनीले बुकिङ गरेको हप्तादेखि १० दिन भित्रमा ग्राहकलाई डिलिभरी दिन सक्ने उनले जानकारी दिए ।

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी महिन्द्रा इलेक्ट्रिक भेहिकल्सको आधिकारिक विक्रेता अग्नि इनर्जीसँग पनि विद्युतीय सवारीको अभाव देखिएको छ । कम्पनीले विभिन्न भेरियन्टका विद्युतीइ सवारी बिक्री गर्दै आइरहेको छ । तर, हाल कम्पनीसँग ई-भेरिटो मात्र उपलब्ध कम्पनीको सहायक प्रबन्धक निर्देशक प्रमोद भण्डारी बताउँछन् ।
कम्पनीले बुकिङ गरेको हप्तादेखि १० दिन भित्रमा ग ई–भेरिटो डिलिभरी गर्न सक्ने उनले बताए ।

जापानी कम्पनी निसानको विद्युतीय गाडी निसान लिफ चढ्न पनि ग्राहकले केही समय प्रतिक्षा गर्नु पर्ने अवस्था छ । सवारीसाधन आयातमा सरकारले कडाई गर्दा ग्राहकको माग अनुसारको गाडी भित्र्याउन कठिनाइ भइरहेको नेपालका लागि निसान तथा ड्याट्सन गाडीको अधिकारिक बिक्रेता पायोनियर मोटो कर्पका सहायक बजार प्रबन्धक स्वेता सिलवाल बताउँछन् । ‘निसान लिफको बुकिङ लिनु भएका ग्राहक धेरै हुनु हुन्छ,’ सिलवालले भनिन्, ‘ग्राहकको माग अनुसारको गाडी आपूर्ती गर्नै कठिनाई भइरहेको छ ।’

सवारीसाधनको आयातमा कडाई र चिप अभावका कारण गाडीको उत्पादन कम हुँदा समस्या भइरहेको उनको भनाइ छ । निसान लिफ बुकिङ गर्ने ग्राहकले डिलिभरी प्राप्त गर्न अझै करिब ३ महिना लाग्ने देखिन्छ ।

नेपालमा किया, दिगो, टाटा, प्यूजो, सिटी स्पिरिटलगायतका विद्युतीय सवारीसाधन बिक्री हुँदै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स