बालुवाटार क्षेत्रमा ढल तथा वर्षातको पानी व्यवस्थापनको कार्य सुरु

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले बालुवाटार ढल तथा वर्षात्को पानी व्यवस्थापन कार्यको आज बालुवाटारमा शिलान्यास गरेका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गतको काठमाडौं उपत्यका फोहोरपानी व्यवस्थापन आयोजनाबाट काठमाडौं महानगरपालिका वडा नं. २, ३ र ४ भित्र पर्ने प्रधानमन्त्री निवास सहित बालुवाटार क्षेत्रमा ढल तथा वर्षात्को पानी व्यवस्थापनको कार्य शुरू भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानीमन्त्री उमाकान्त चौधरीले दशकौंदेखि बालुवाटार क्षेत्र वर्षाका बेला जलमग्न हुने र ढलको समेत उचित निकास नहुँदा समस्या पर्ने गरेकाले यस क्षेत्रमा ढल तथा वर्षात्को पानी व्यवस्थापनको कार्य सुरू गरिएको बताए ।

मन्त्री चौधरीले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र र बाहिर पनि वर्षाका बेला जलमग्न हुने समस्या रहेको उल्लेख गर्नुहुँदै त्यहाँ पनि सिंहदरबार गुरूयोजनालाई प्रभाव नपर्ने गरी ढल व्यवस्थापन गर्नका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको जानकारी दिए ।

उनले ढल तथा वर्षाको पानी व्यवस्थापनको कार्य गुणस्तरीयरूपमा तोकिएकै समयमा सम्पन्न गर्न समेत निर्देशन दिए ।
मन्त्री चौधरीले फोहोर व्यवस्थापन, फोहोरपानीको प्रशोधन र ढल व्यवस्थापन लगायतका कार्य गरी काठमाडौं उपत्यकालाई स्वच्छ, सफा र हराभरा बनाउन सम्बद्ध सरकारी निकायहरू प्रयासरत रहेको बताए ।

कार्यक्रमका सभापति खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले वर्षाका बेला पानी जम्ने, वस्ती डुवानमा पर्ने र ढल फुट्ने जस्ता समस्याबाट दशकौंदेखि काठमाडौं उपत्यकाबासी प्रभावित हुँदै आएको उल्लेख गर्दै बैज्ञानिक किसिमले ढल तथा वर्षात्को पानी व्यवस्थापन कार्यलाई तीब्रता दिन सम्बद्ध निकायहरूलाई निर्देशन दिए ।

काठमाडौं महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले ढल तथा वर्षात्को पानी व्यवस्थापन कार्यमा स्थानीयस्तरबाट सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले बालुवाटार ढल तथा वर्षात्को पानी व्यवस्थापनको कार्य कूल १० करोड ५३ लाखको लागतमा आगामी १५ महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको जानकारी दिए ।

आयोजना निर्देशक सापकोटाले यस कार्यको डिजाइन गर्दा सो क्षेत्रमा हुने सम्भावित पानीको प्रक्षेपण गरी सबै पानी बहन गर्ने क्षमता भएको संरचना छनौट गरिएको उल्लेख गर्दै यसको सफल कार्यान्वयनसँगै विद्यमान डुवानको समस्या अन्त्य हुनेमा विश्वस्त गराए ।

बालुवाटार ढल तथा वर्षात्को पानी व्यवस्थापन कार्य अन्तर्गत बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेट नं. १ देखि सुकुना मार्ग हुँदै टुकुचा खोलासम्म ह्युम पाइप तथा डबल वाल कंक्रिट पाइप विच्छ्याइनेछ । यस कार्यबाट बालुवाटार क्षेत्रमा रहेका प्रधानमन्त्री निवास, नेपाल राष्ट्र बैंक लगायत अन्य सरकारी निकाय र त्यस क्षेत्रका करिव ९ हजार २४६ जनसंख्या लाभान्वित हुनेछन् ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सहसचिवहरू मीना श्रेष्ठ तथा त्रिरेश प्रसाद खत्री र खानेपानी विभागका महानिर्देशक सुर्यराज कँडेल लगायत उपस्थित थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स