सरकारलाई सफल बनाउने गरी बजेट बन्दैछ, प्रधानमन्त्रीको पूर्ण साथ छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आगामी आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका लागि उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका अध्यक्ष तथा प्रतिनिधिलाई बोलाएर सुझाव लिएका छन् ।

मन्त्रालयको आग्रहमा बिहिबार दिउँसो महासंघ अध्यक्ष शेखर गाोल्छा र उपाध्यक्ष रामचन्द्र संघाई, उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल अर्थ मन्त्रालय आएर मन्त्री शर्मासँग छलफलमा सहभागि भएका हुन् ।

सो छलफलमा मन्त्री शर्माले निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार आफ्नो जिम्मेवारी पुरा गर्ने दिशामा अघि बढिरहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेर बजेट निर्माण थालेको र यो सरकारलाई जनताको नजरमा अहिलेसम्मकै सफल बनाउने गरी बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए ।

‘मैले बजेट निर्माण थाल्नुअघि प्रधानमन्त्रीसँग छलफल गरेको थिएँ । त्यस क्रममा तपाई (प्रधानमन्त्री) को नेतृत्व लिएर बजेट बनाउने हो । यो सरकारलाई अहिलेसम्मकै सफल र जनताको नजरमाा लोकप्रिय हुने हिसाबले बजेट बन्छ, कुनै चिन्ता लिनु पर्दैन भनेको छु । उहाँले पनि ठीक छ, तपाई अघि बढ्नुस् भनेपछि बजेट निर्माण प्रकृया शुरु गरिएको हो’ उनले भने ।

बजेटमा व्यवसायीको मात्र नभई दुरदराजका सर्वसाधरणको पनि कुरा सुनिने उनले बताए । ‘अहिले तपाईहरु (निजी क्षेत्र) सँग सुझाव लिएको छु । केही दिनमै कर्णालीदेखि झापासम्मका नागरिकको पनि सुझाव लिन्छौं र यस पटकको बजेट सबैलाई अपनत्व हुने गरी सार्बजनिक गर्छौं’ मन्त्री शर्माले भने ।

शोधानान्तर घाटा, तरलता अभाव र रेमिट्यान्समा भएको कमीलाई सरकारले नियमन गर्न खोजेपनि बाह्य कारणाले गर्दा अप्ठ्यारो परेको उनले बताए । उनले राजनिज्ञ, कर्मचारी, व्यवसायी र आम उपभोक्ताले देशको हित सोच्दा आफ्नो स्वार्थको कुरा हेर्न नहुने बताए । साथै, व्यवसायीको समस्या अर्थ मन्त्रालयले हल गर्ने बताउँदै जुनसुकै समस्या लिएर आउन पनि उनले आग्रह गरे ।

‘निजी क्षेत्रको समस्याको संरक्षकत्व गर्ने ठाउँ यहीं हो । यो भन्दा अरु ठाउँ नै छैन’ उनले भन्नुभयो, ‘त्यसैले आफ्नो स्वार्थलाई अलि पर राखेर देशलाई फाइदा हुने कुरा लिएर आउन म आग्रह गर्छु ।’ उनले अर्थतन्त्र र व्यवसायीक क्षेत्रका बारेमा चिन्ता प्रकट गर्नु सकारात्मक भएको भन्दै यसमा राजनीतिक स्वार्थ भने नराख्न सुझाव दिए ।

‘बिना स्वार्थ देशको अर्थतन्त्रलाई माथी उठाउन म तयार छु । तपाईहरु पनि तयार भएर आउनुस्’ उनले भने । सो छलफलमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुझाव पेश गरे । उनले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या सरकारको क्षमता भन्दा बाहिरको विषय भएकाले नियन्त्रण गर्न कठिनाइ भएको बताए ।

‘अहिले हामी जुन समस्याबाट गुज्रिरहेका छौं । यो नियन्त्रण गर्ने कुरा भनेको सरकारको क्षमता भन्दा बाहिर छ । त्यसैले निजी क्षेत्रको मनोबल पनि धेरै खस्केको छ’ उनले भने ।

त्यस्तै उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेर बजेट निर्माण हुनुपर्ने सुझाव दिए । उनले ऊर्जामा निजी क्षेत्रको ५० प्रतिशत योगदान रहेको भन्दै पीपीए रोक्ने काम ठीक नभएको धारणा राखे । कार्यक्रममा चेम्बर अफ कमर्सको बरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रमैत्री वातावरण सृजना गर्न सुझाव दिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स