राष्ट्र बैंकले २ प्रतिशत विन्दुले बढायो पुनरकर्जाको ब्याजदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जाको ब्याजदर बढाएको छ । राष्ट्र बैंकले मंगलबार पुनरकर्जा कार्यविधि, २०७७ (चौथो संशोधन) गर्दै ब्याजदर बढाएको हो । चौथो संशोधन अनुसार पुनरकर्जाको ब्याजदर २ प्रतिशत विन्दुले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाले लघु, घरेलु तथा साना उद्यम पुरनकर्जा र साधारण पुरनकर्जामा ७ प्रतिशतसम्म ब्याजदर लिने पाउने भएका छन् । विशेष पुनरकर्जामा ५ प्रतिशत ब्याजदर तोकिएको छ ।

चौथो संशोधन जारी हुनु अघि बैंक तथा वित्तीय संस्थाले लघु, घरेलु तथा साना उद्यम पुरनकर्जा र साधारण पुरनकर्जामा ५ प्रतिशतसम्म ब्याजदर लिने गरेका थिए भने विशेष पुनरकर्जामा ३ प्रतिशत ब्याजदर तोकिएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग लघु, घरेलु तथा साना उद्यम पुरनकर्जाका लागि ४ प्रतिशत, साधारण पुरनकर्जामा ५ प्रतिशतसम्म ब्याजदर लिने छ । विशेष पुनरकर्जामा भने २ प्रतिशत मात्र ब्याजदर लिने छ ।

यस अघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई लघु, घरेलु तथा साना उद्यम पुरनकर्जा २ प्रतिशत र साधारण पुरनकर्जामा ३ प्रतिशतसम्म ब्याजदरमा उपलब्ध गराउँदै आएको थियो भने विशेष पुनरकर्जामा १ प्रतिशत मात्रै ब्याजदर तिर्नु पथ्र्यो ।

एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुने छैन ।

ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनर्कर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि, लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई र निजी क्षेत्रबाट संचालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलबिद्युत्आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका दश मेगावाट भन्दा साना जलबिद्युत् आयोजनालाई तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुने कार्यविधिमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले तोकेको व्यवस्थानुसार बैंकले यस्तो पुनर्कर्जा नवीकरण गर्न सक्नेछ ।

यस्तै, बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनर्कर्जाको अधिकतम सीमा ५ करोड रुपैयाँको हुनेछ । यसरी एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिनेरकमको ७० प्रतिशतभन्दा बढी नहुने व्यवस्था छ ।

बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने पुनर्कर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ । तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्न तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रति ग्राहक ऋणी ५० करोड रुपैयाँसम्म पुनर्कर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पुगेको नमानिने कार्यविधिमा उल्लेख छ ।

यसरी ग्राहक अनुसार प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स