सामाजिक सुरक्षा कोषमा आबद्धको पुरानो मेडिकल कलेजमा निःशुल्क उपचार हुने

चितवन । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको निःशुल्क उपचार कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरबाट हुने भएको छ । कोष र कलेजले यससम्बन्धी सम्झौता गरेका हुन् ।

यसभन्दा पहिले औषधि उपचारबापतको खर्च रकम अस्पताललाई भुक्तानी गरेपश्चात् योगदानकर्ता आफैंले सामाजिक सुरक्षा कोषमा सोधभर्ना दाबी गर्ने झन्झटिलो प्रक्रिया थियो ।

अबउप्रान्त योगदानकर्ताले सिधै पुरानो मेडिकल कलेजमा कोषले उपलब्ध गराएको कार्ड देखाएर निःशुल्क उपचार सेवा लिन सक्ने र दाबी भुक्तानी कोषले अस्पताललाई सिधै गर्ने नयाँ व्यवस्था गरिएको हो ।

कोषका सूचना अधिकारी डा. रोशन कोजुले पुरानो मेडिकल कलेजसँग सम्झौता भएको बताउँदै उक्त अस्पतालबाट सेवा लिँदा योगदानकर्तालाई सहज हुने जानकारी दिए ।

कोषले प्रदान गर्ने औषधि उपचारअन्तर्गत एक आर्थिक वर्षमा ओपीडीमा २५ हजार रुपैयाँसम्म र भर्ना भएको बिरामीको हकमा एक लाखसम्म पाइने व्यवस्था छ ।

औषधि उपचार सेवा लिने बिरामीले २० प्रतिशत रकम भने आफैँले व्यहोर्नुपर्नेछ । बाँकी ८० प्रतिशत रकम कोषले सिधै अस्पताललाई भुक्तानी गर्नेछ । दुर्घटनाका बिरामीको हकमा भने सात लाखसम्मको उपचार खर्च कोषले व्यहोर्ने छ ।

यस्तै, योगदानकर्ताको श्रीमती गर्भवती हुँदा, गर्भवती अगाडिको परीक्षण र जन्मिएको शिशुको उपचार समेत कोषमार्फत हुने व्यवस्था रहेको जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स