मर्जरपछि नबिल बैंकको लाभांश क्षमता अझै बढ्ने

काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेश बैंक गाभिए पछि बैंकको लाभांश दिन सक्ने क्षमता अझै बढ्ने भएको छ । नबिल बैंकले १००ः४३ स्वाप रेसियोमा खरिद गरेको नेपाल बंगलादेश बैंकको चुक्ता पूँजीबाट बाँकी हुने रकम पूँजीकोषमा जम्मा हुनेछ । उक्त रकमलाई लाभांश वितरणका लागि प्रयोग गर्न सकिन्छ । जसको कारण आगामी वर्ष नबिल बैंकको लाभांश दिन सक्ने क्षमता बढेर जानेछ ।

बंगलादेश बैंकको कुल चुक्ता पूँजीबाट ४३ प्रतिशत रकम मात्र नबिल बैंकको स्वामित्वमा जाने छ । र बाँकी रहेको ५७ प्रतिशत पूँजी पूँजीकोषमा जम्मा हुनेछ । हाल नेपाल बंगलादेश बैंकको चुक्ता पूँजी १० अर्ब ८ करोड ५४ लाख रुपैयाँ छ । नबिलले बंगलादेश बैंकको सेयर स्वामित्व ४३ रुपैयाँमा खरिद गरेका हो । त्यसले हाल कायम एनबीबी बैंकको सम्पूर्ण चुक्ता पूँजी नबिल बैंकमा गाभिने छैन । एनबीबी बैंकको हाल रहेको चुक्ता पूँजीको ४३ प्रतिशत हुने रकम मात्र मर्जर पछि बन्ने नबिल बैंकमा गाभिने छ । एनबीबीको चुक्ता पूँजी अब बन्ने ४ अर्ब ३३ करोड ६७ लाख मात्र जोडिने छ । नबिलसँग गाभिएपछि बाँकी रहने एनबीबीको ५ अर्ब ७४ करोड ८७ लाख रुपैयाँ पूँजीकोषमा जम्मा हुनेछ ।
हाल नबिल बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड ७५ लाख रुपैयाँ रहेको छ । १००ः४३ स्वाप रेसियो अनुसार एनबीबीको चुक्ता पूँजीको ४ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ मात्र मर्जर पछि बन्ने बैंकको चुक्ता पूँजी हुनेछ । मर्जर पछि नबिलको चुक्त पूँजी २२ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ पुग्ने छ ।

पहिलो ६ महिनामा नबिल बैंकसँग १ अर्ब ४५ करोड वितरण योग्य नाफा रहेको छ । गत आवमा नबिलसँग ४ अर्ब ७ करोड वितरण योग्य नाफा रहेको थियो । नबिल बैंकले ३८ प्रतिशत लाभांश सेयर धनीलाई प्रदान गरेको छ । जसमा ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश रहेको छ ।

पहिलो ६ महिनामा नेपाल बंगलादेश बैंकसँग ४९ करोड ३२ लाख रुपैयाँ वितरण योग्य नाफा छ । गत आव एनबीबीसँग १ अर्ब ४२ करोड १४ लाख रुपैयाँ वितरण योग्य नाफ रहेको थियो । गत आवको नाफाबाट एनबीबीले १५.५ प्रतिशत लाभांश दिएको थियो । जसमा १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश रहेको छ ।

नबिल बैंकले एनबीबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक गाभ्न फागुन २९ सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । यी दुई बैंकको सम्पत्ति तथा दाहित्व (डीडीए) मूल्यांकन तयार हुने क्रममा छ ।

डीडीए प्रतिवेदन र कर्मचारी समायोजनको विषय टुंगोमा पुगेसँगै चालु आव भित्रमै यी दुई बैंकको एकीकृत कारोबार हुने सम्भावना छ ।

किन मर्जर

नबिल र नेपाल बंगलादेश बैंक राष्ट्र बैंकबाट अनुपति प्राप्त वाणिज्य बैंक हुन् । वित्तीय सेवा प्रदान गर्नका लागि यी दुई बैंकको स्थापना भएको हो । तर, यी दुई बैंकका लक्षित ग्राहक र व्यवसायको प्रकृति भने अलि भिन्न छ । नबिल बैंकको शक्ति भनेको कर्पोरेट क्षेत्र र एनबीबीको निर्माण क्षेत्रमा काम गर्नेलाई बैंक ग्यारेन्टी दिने । नबिल बैंकले आयोजनामा लगानी गरिरहेको छ भने एनबीबीले त्यसको ठेकेदारहरुमा लगानी गरिरहेको छ ।

निर्माण व्यवसायीको ग्यारेन्टीबाट एनबीबीले वार्षिक ८०/९० करोड रुपैयाँ कमिसन आम्दानी गर्ने गरेको छ । नबिल भने गैर ब्याज आम्दानीमा कमजोर छ । एनबीबीको दक्षता प्रयोग गरेर गैर ब्याज आम्दानी बढाउने नबिलको योजना छन् ।  ग्यारेन्टी व्यवसायमा पनि नबिल बैंकको अब पकड बढ्दै जाने छ । गैर व्याज आम्दानीमा नबिल बैंक अब्बल बन्ने छ ।

नबिल बैंकसँग हाल करिब ३० अर्ब रुपैयाँ बराबरको प्राथमिक पूँजी कोष छ । एउटा बैंक तथा वित्तीय संस्थाले एक क्षेत्र तथा व्यवसायीक घरानामा प्राथमिक पूँजीको २५ प्रतिशतसम्म लगानी गर्न पाउँछ । साथै, ट्रेडिङ लगायत अन्य व्यवसायमा प्राथमिक पूँजीको साढे ७ प्रतिशतसम्म लगानी गर्न पाउँछन् । एनबीबी बैंकसँग हाल करिब १५ अर्बको प्राथमिक पूँजी छ । दुवै बैंकको प्राथमिक पूँजी जोड्दा करिब ४५ अर्ब रुपैयाँ छ । एनबीबीलाई गाभे पछि नबिलको लगानी गर्ने क्षमता पनि वृद्धि हुनेछ । राष्ट्रिय गौरवका तथा निर्माणका क्रममा रहेका ठूला आयोजनामा नबिल बैंकको प्रमुख वित्तीय लगानी रहनेछ । स्वदेशी वित्त प्रयोग गरी मुलुकलाई सम्पन्न बनाउन पनि नबिल बैंकले अहम भूमिका निर्वाह गर्नेछ । यस मर्जरले नबिल बैंक बैंकिङ क्षेत्रको लिडर बैंकको रूपमा उभिने अभियानमा जुटेको छ ।

यसले राष्ट्रिय गौरव तथा निर्माणका क्रममा रहेका ठूला आयोजनाहरुमा नबिल बैंकको प्रमुख वित्तीय लगानी रहँदै आएकोमा थप व्यवसाय विस्तार गर्न मद्दत पुग्ने देखिन्छ । यसैगरी छ महिनाको अवधिमा नबिल बैंकको खुद मुनाफा २ अर्ब १८ करोड भन्दा बढी तथा एनबी बैंकको ८१ करोड भन्दा बढी रहेकोमा एक्विजिसन पश्चात् बैंकको खुद मुनाफा २ अर्ब ९९ करोड भन्दा बढी कायम हुनेछ ।

यस एक्विजिसन पश्चात् नबिल बैंकको कुल कर्जा करिब ३ खर्ब १ अर्ब र कुल निक्षेप करिब ३ खर्ब १८ अर्ब कायम हुनेछ ।

बैंकको अवस्था

नेपालकै ठूलो बैंक बन्ने योजनालाई साकार पार्नका लागि नबिलले एनबीबीलाई गाभेको हो । एनबीबीसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ पुग्नेछ । हाल नबिलको १४१ र एनबीबीको १०० वटा शाखा सञ्चालनमा रहेका छन् । एटीएम संख्या पनि २९२ वटा पुग्नेछ । नबिलको १८७ र एनबीबीको १०५ वटा एटीएम सञ्चालनमा छन् । नबिलसँग १३ सय २८ र एनबीबीसँग ९६८ कर्मचारी रहेका छन् ।

नबिल बैंकले २ खर्ब १५ अर्ब २० करोड र एनबीबीले ७४ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । एनबीबीलाई गाभेपछि नबिलको कर्जा २ खर्ब ९० अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।

नबिल बैंकसँग करिब ११ लाख ग्राहक र एनबीबीसँग ५ लाख ग्राहक छन् । नबिलको मुद्दती निक्षेप खाता ३३ हजार ९४, चल्ती निक्षेप खाता ९३ हजार ८८, बचत निक्षेप खाता ९ लाख ४८ हजार ४६६, कल निक्षेप खाता ४ हजार ५१२, मार्जिन निक्षेप खाता ८ हाजर ७४३ र अन्य निक्षेप खाता ६३५ वटा छन् ।

एनबीबी बैंकको मुद्दती निक्षेप खाता १३ हजार ४४३, चल्ती निक्षेप खाता ६८ हजार ९१, बचत निक्षेप खाता ४ लाख १९ हजार ६४२, कल निक्षेप खाता १ हजार ५०९, मार्जिन निक्षेप खाता २ हाजर ४९ र अन्य निक्षेप खाता ५ वटा छन् । नबिलले एनबीबीलाई गाभे पछि ग्राहकसंख्या करिब १६ लाख पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स