काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको ‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’ सम्बन्धी अध्ययनले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो ६ महिनाको अवधिमा मूल्यवृद्धि १० प्रतिशतसम्म पुग्ने देखिएको छ ।
आइतबार सार्वजनिक गरेको ‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’को नतिजाले आगामी माघ महिनासम्ममा औसत मुद्रास्फीति दर (मूल्य वृद्धिदर) निके माथि पुग्ने देखिएको छ ।
राष्ट्र बैंकले देशको सातै वटा प्रदेशमा उपभोक्ता सर्वेक्षण गरेको थियो । सर्वेक्षणका क्रममा राष्ट्र बैंकले सातवटै प्रदेशका प्रमुख सहरमा बसोबास गर्ने ५ सय जनामा गरेको सर्वेक्षणबाट ४८२ जना व्यक्तिहरू प्रत्यक्ष अन्तरवार्तामा समावेश भएका थिए ।
सर्वेक्षणमा सहभागीहरू अधिकांश उपभोक्ताले मूल्यवृद्धि अहिलेको तुलनामा अझै बढ्ने अनुमान गरेका छन् । ३ महिनामा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको संख्या ८६.९ प्रतिशत र आगामी १ वर्षमा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको संख्या ९४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
अध्ययनअनुसार २०७७ माघमा औसत ८.७ प्रतिशत रहेको मूल्यवृद्धि १ वर्ष अवधिमा १.३ प्रतिशत बिन्दुले बढेर १० प्रतिशत पुग्ने अनुमान सर्वेक्षणले देखाएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत वार्षिक मूल्यवृद्धि दर साढे ६ प्रतिशतभन्दा कमको सीमाभित्र राख्ने लक्ष्य राखेको छ । मूल्यवृद्धिलाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले समयानुकूल वित्तीय नीति र मौद्रिक उपकरणहरू प्रयोग गर्दै आएको छ ।