पृथ्वीराजमार्गमा सडक विस्तारका क्रममा ३८४ रुख कटान

तनहुँ । पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीदेखि बन्दिपुर–१को स्याउलीसम्म ३८४ रुख कटान गरिएको छ ।

करिब दश किलोमिटर सडक दूरीअन्तर्गत एक हजार पाँच सय रुख कटान गर्नुपर्नेमा पहिलो चरणमा उक्त सङ्ख्याका रुख कटान गरिएको हो ।

छिमेकी जिल्ला पोखराको चाइना पुलदेखि तनहुँको पूर्वी नाका मुग्लिनपुलसम्म करिब ९० किलोमिटर दूरीमा सडक विस्तार गरिने भएको छ ।

उक्त मार्गअन्तर्गत तीन वटा निर्माण कम्पनीले तीन प्याकेजमा सडक विस्तारका कार्य गर्नुपर्ने भए पनि हाल दुई प्याकेजमा मात्रै काम भइरहेको गजुरमुखी निर्माण कम्पनीका इञ्जिनीयर कमल श्रेष्ठले जानकारी दिए ।

जिल्लाको आँबुखैरेनीदेखि म्याग्दे गाउँपालिकाको जामुनेसम्म ४१ किलोमिटर र जामुनेदेखि पोखराको चाइनापुलसम्म ४९ किलोमीटर दूरीमा तीन निर्माण कम्पनीले सडक विस्तारका काम गर्नेछन् ।

हाल ४१ किलोमिटर दूरीभित्र सडक विस्तारका कार्य भइरहेपनि ४९ किमी क्षेत्रमा काम सुरु नभएको उनको भनाइ थियो । उक्त ४१ किमीमध्ये दश किमी गजुरमुखी निर्माण कम्पनी प्रालिले ठेक्का पाएपछि सडक विस्तारका कार्य गर्दै आएको छ ।

उक्त कम्पनीका अनुसार ३४ किमी ८०० मिटरदेखि २४ किमी ८०० मिटरभित्रको बाँकी रहेको दश किमी सडक विस्तारका लागि उक्त निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको हो ।

दश किमीमध्ये हालसम्म दुई किमी सडकको रुख काटिएको जानकारी दिँदै उनले भने, ‘सडक कालोपत्र बाहेक अन्य कार्य चौध महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।’

कूल ६५ करोडमा ठेक्का सम्झौता गरी पाँच वर्ष योजना सम्पन्न गर्नुपर्ने समयसिमा छ । उक्त क्षेत्रमा अहिले दैनिक ४० देखि ५० जनासम्म जनशक्ति परिचालन गरिएको निर्माण कम्पनीका निर्देशक शान्ता महर्जनले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स