चक्रपथ सडक विस्तारको साइट क्लियर अबको डेढ महिनामा सकिने, डिजाइनको विषयमा योजना नै अनविज्ञ

काठमाडौं । काठमाडौं चक्रपथ सडक विस्तारको साइट क्लियरको काम अबको ढेड देखि २ महिनामा सकिने भएको छ। काठमाडौं चक्रपथ सडक विस्तार योजनाका प्रमुख मेघराज मरासिनीले साइट क्लियरको काम अबको डेढदेखि २ महिना भित्रमा सम्पन्न हुने जानकारी दिए ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रथप विस्तारको दोस्रो खण्ड स्युचाटारपुलदेखि बसुन्धारा चोक निर्माण गर्ने तयारी छ । उक्त खण्ड विस्तारका लागि काठमाडौं चक्रपथ सडक विस्तार योजनाले साइड क्लियरिङको काम सुरु गरिरहेको छ ।

‘साइट क्लियरिङको काम करिब अन्तिम चरणमा पुगिसकेको छ । ३ स्थानमा मात्र साइट क्लियरिङको समस्या छ,’ मरासिनीले भने, ‘डेढ महिना भित्रमा उक्त समस्या समाधान हुन्छ ।’

विश्व सम्पदामा सूचीकृत स्वयम्भू र सानो भर्‍याङ्गको २ स्थानमा सडक विस्तारका लागि आवश्यक साइट क्लियरिङ हुन सकेको छैन । ६२ मिटरमै सडक विस्तार गर्ने हो भने स्वयम्भू क्षेत्रका केही पूरातात्विक संरचना हटाउनु पर्ने हुन्छ भने सानो भर्‍याङ्गमा ६६ केभीएको २ वटा विद्युत टावर छ । त्यसलाई मोनो पोल (खम्बा)बाट प्रतिस्थापन गरेर अघि बढ्ने विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ । स्वयम्भुको हकमा पूरातात्विक महत्वको संरचना भएकाले डिजाइनमा केही संशोधन गरेर अघि बढ्न सकिने मरासिनीले बताए ।

चक्रपथको स्युचाटारपुलदेखि बसुन्धारा चोकसम्मको ८.२ किलोमिटर सडक विस्तार गर्नका लागि चीन र नेपालबीच सन् २०१८ मा सम्झौता भएको थियो । सम्झौताको भएको ४ वर्ष बेतित हुँदा पनि अहिलेसम्म साइट क्लियरको काम सकिएको छैन । चीनले पूर्ण रुपमा साइट क्लियर नभएसम्म निर्माण अघि नबढाउने जनाउँदै आइरहेको छ । कलंकी–कोटेश्वर खण्डमा साइट क्लियर नभई निर्माण अघि बढाउँदा समयमै सम्पन्न हुन सकेको थिएन । उक्त खण्डमा भएको गल्ती दोस्रो चरणको विस्तारमा चीन गर्न चाँहदैन ।

चीनले सम्झौतामै शतप्रतिशत साइट क्लियर भएपछि मात्र निर्माण अघि बढाउने भन्ने उल्लेख छ । नेपालको तर्फबाट साइट क्लियर समयमै नहुँदा चक्रपथ विस्तार कहिलेबाट सुरु हुने हो भन्ने अन्यौल छ ।

साइट क्लियर नभइ निर्माण सुरु नगर्ने पक्षमा चिनियाँ रहे पनि चक्रपथ विस्तारका लागि अवश्यक पर्ने डिजाइन के भइरहेको छ भन्ने विषयमा सडक विभाग पनि अनविज्ञ रहेको छ । चक्रपथ निरीक्षणका लागि २ महिना अघि चिनियाँ टोली नेपाल पनि आएको थियो । त्यस पछि भने चिनियाँ पक्षसँग दोहोरो संबाद हुन सकेको छैन ।

कलंकी–कोटेश्वर खण्डको डिजाइन त्रुटी पूर्ण भएको भन्दै विरोध हुँदै आइरहेको छ । भित्री सहरको सडक एक्सप्रेस हाइवे जस्तो बनाइएको भन्दै सरोकारवालाहरुले आवाज उठाउँदै आएका छन् । सडकको गलत डिजाइनका कारण उक्त खण्डमा बारम्बार दुर्घटना निम्तिने गरेको छ । साथै उक्त सडक सुधारका लागि नेपाल सरकारले पनि थप लगानी गर्नु परेको छ ।

स्युचाटारपुल–बसुन्धारा चोक खण्डको सडकको डिजाइन कस्तो हुन्छ भन्ने विषयमा सडक विभागका अधिकारीदेखि सरोकारवालाहरुले चासोका साथ निहालिरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स