के हो बुल र के हो बियर बजारको चरित्र अनि यसैको आधारमा कसरी निर्णय लिने ?

कसरी सुरु भयो बुल र बियर शब्दको चलन ?

भनिन्छ अमेरिकाका पहिले पहिले घोडचढीहरुले रमाइलोको लागि साँडे र भालु जुधाउथे । ती लडाँइमा भालुले तल पछार्न खोज्ने र साँडेले माथि हुत्याउन खोज्ने हुन्थ्यो । कालान्तरमा सेयर बजारको झर्ने र माथि चढ्ने ट्रेण्डलाई पनि सो लडाँइको प्रवृतिसँगै दाँजेर झर्दै गरेको बजारलाई बियर र उक्लदै गरेकोलाई बुल भन्न थालियो ।

वास्तबमा बुल र बियर मार्केट भनेको सेयर बजारको ट्रेण्डलाई जनाउने शब्द हुन् । बढ्दो बजारलाई बुल बजार भन्ने चलन छ भने घट्दो बजारलाई बियर भनिन्छ । साथै, बजार लगानीकर्ताको मनोविज्ञानको पनि प्रतिबिम्ब भएका कारण बुल र बियरले हामी लगानीकर्ताको मानसिकताको संकेतपनि दिन्छ ।

बुलले बजारको केही हदसम्म दिगो बढोत्तरीलाई जनाउछ, जुन समयमा लगानीकर्ता बजार लामो समयसम्म बढीरहनेछ भन्नेमा ढुक्क हुन्छन् । त्यस्तै, बियर बजारले निरन्तर रुपमा घट्दो बजारलाइ इंगित गर्छ । जुनबेला लगानीकर्तापनि बजार तत्काल बढ्दैन भन्ने बुझाइमा हुन्छन् ।

बुल र बियर बजारको चरित्र

बुल र बियर बजारलाई सामान्यतः बढ्दो र घट्दो बजारका रुपमा बुझिएपनि यिनीहरुका अरुपनि चारित्रिक बिशेषता हुन्छन् । जस्तै

१.  सेयरको माग र आपुर्ति : बुल बजारमा सेयरको माग बढि हुने गर्छ भने आपुर्ति कम । यस्तो अवस्थामा लगानीकर्ता जुनसुकै मूल्य तिरेरपनि सेयर किन्न हौसिरहेका हुन्छन् । बजारमा तुलनात्मक रुपमा थोरै लगानीकर्ता मात्र बेच्नका लागि तयार हुन्छन । बियर बजारको हकमा भने यसको ठ्याक्कै उल्टो हुन्छ र बजार अझै घट्छ कि भनेर लगानीकर्ता जुनसुकै मूल्यमा पनि सेयर बेचेर बजार बाट निस्कन हतारिन्छन।

सेयरको मुल्य समेत माग र आपुर्तिले नै निर्धारण गर्ने गर्छ । अर्थात, माग बढि हुँदा मुल्य बढ्छ भने माग घट्दा मुल्यपनि घट्छ । अझ सोझो अर्थमा भन्दा घट्दो बजारमा किन्ने मान्छे कम हुन्छन्, सेयर मूल्य कम भइरहेको हुन्छ । बढ्दो बजारमा सेयर किन्ने मान्छे धेरै हुन्छन् र मूल्यपनि बढ्दो क्रममा हुन्छ । त्यसैले घटेको बजारमा सेयर किनेमा नाफा कमाउने मौका समेत ज्यादा रहन्छ।

२.   लगानीकर्ताको मनोबिज्ञान : लगानीकर्ताको मनोबिज्ञान बजार बढ्ने र घट्ने प्रमुख कारक तत्व मध्ये एक हो । लगानीकर्ताको मनोबिज्ञान र बजारको प्रदर्शन एक आपसमा सम्बन्धित हुन्छ । बुल बजारमा लगानीकर्ताको मनोबिज्ञान आत्मबिश्वासी हुन्छ भने बियर बजारमा आत्मबिश्वास कमजोर हुन्छ ।

३.   राजनैतिक तथा आर्थिक क्रियाकलापमा परिवर्तन :  समग्र देशलाई राजनीति ले प्रभावित गर्दछ भने कुनै पनि राजनैतिक उथुलपुथुल या द्वन्द ले यो बजारलाई पनि असर पुर्याउनु स्वाभाविक नै हो । राजनीति  सकरात्मक दिशातर्फ अघि बढ्दा नेप्से बढ्ने र नकरात्मक दिशातर्फ जाँदा नेप्से घट्दै आएको देख्न सकिन्छ ।

बजारमा खरिद बिक्री हुने सेयर बृहत्तर अर्थतन्त्रको एक हिस्सा भएका कारण सेयर बजार र अर्थतन्त्रको गहिरो सम्बन्ध हुन्छ । सेयर बजार एकदमै संवेदनशील र चञ्चल बजार हो । सामान्यतया यसको महंगी र नगद प्रवाहसँग सकारात्मक सम्बन्ध हुन्छ भने ब्याजदर सगँ नकारात्मक । सेयर बजारलाई सामान्यतया लगानीकर्ताले मुद्रास्फिति (मुल्य वृद्धिका कारण पैसाको क्रय शक्ति घट्नु) विरुद्ध लड्ने ढालका रुपमा प्रयोग गर्ने गरेको पाइन्छ । मुद्रास्फिति बढ्दा र कम ब्याजदरमा पैसा उपलब्ध हुँदा नेप्से बढेको पाइन्छ भने उल्टो अवस्थामा घटेको ।  बुल बजारमा लागानीकर्तासँग खर्च गर्ने पैसा, चाहना र तत्परतासमेत बढि हुने हुँदा अर्थतन्त्र चलायमान हुन्छ । यस्तै बियर बजारमा ठिक उल्टो कारणले गर्दा अर्थतन्त्र संकुचित हुन्छ ।

कसरी थाहा पाउने बजारको ट्रेण्ड ?

बजार ट्रेण्डको आंकलन गर्न लामो अबधिको मुल्यांकन गर्नु पर्ने हुन्छ । कुनै घटना बिशेषका कारण बजारमा आउने उतारचढावका आधारमा मात्र बजार ट्रेण्डको आंकलन गर्न सकिंदैन । सानो उतारचढाव छोटो ट्रेण्ड वा मार्केट करेक्सन हुन सक्छ । उदाहरणको लागि दुई तीन हप्ता बियरिस (घट्दो) ट्रेण्डमा रहेको बजार बिगत दुई बर्षदेखि बुलिस (बढ्दो) ट्रेण्डमा उक्लिरहेको हुनसक्छ । सामान्यतः सबै जसो सुचकहरु १५ देखि २० प्रतिशत भन्दा बढि घटबढ भएको छ भने बजारले ट्रेण्ड परिवर्तन गरेको भन्न सकिन्छ र परिवर्तित ट्रेण्ड जारी रहेमा बदलिंदो बजारको परिस्थितिमा लगानीकर्ताले सोही अनुसार आफ्ना निर्णय गर्न थाले भन्ने मान्नुपर्ने हुन्छ ।  कुनै कुनै अवस्थामा बजार कुनैपनि दिशामा नगइ स्थीरपनि रहन सक्छ । यस्तोमा सानो घटबढ साफानाफा मै रहन्छ ।

बुल र बियर बजारमा कस्तो निर्णय गर्ने ?

पक्कैपनि बजार बढ्न वा घट्न थाल्ने बित्तिकै ठ्याक्कै ट्रेण्ड पक्रनु र निम्नतम या उच्चतम बिन्दु पत्ता लगाउनु सहज बिषय होइन तर पनि बढ्दो बजारबाट नाफा कमाउन र घट्दो बजारमा नोक्सान कम गर्दै राम्रा कम्पनीको सेयर किन्दै अर्को बुलको लागि तयार बस्न केही रणनीति भने अवश्य नै लगाउन सकिन्छ ।

सामान्यतः छोटो समयको लागि सेयर किनेको हो भने आफुले किनेको सेयरमा १० प्रतिशत भन्दा बढी नाफा हुन थाल्यो भने बिस्तारै बेच्न शुरु गर्दा हुन्छ  तर बेच्दा एकैचोटी नबेची चरणबद्ध रुपमा बेच्नु पर्छ । एकैपटक बेच्दा बढ्दो वा बुल बजारबाट नाफा लिन सकिदैंन ।

त्यस्तै, बियरिस बजारमा आफ्नो अवस्था हेरेर राम्रा कम्पनीको सेयर किन्नु पर्छ । धेरैको भनाई घट्दो बजारमा सेयर बेच्न हुँदैन भन्ने रहेको  पाइन्छ, किनभने बेचियो भने घाटा हुन सक्छ तर बेचिएन भने कागजी घाटा मात्र हुने हो भनिन्छ तर  हरेक सेयरको मूल्य अर्को बुलमा पहिलेकै तुलनामा पुग्छ भन्ने हुँदैन।  त्यसैले नाफा बुक गरेर, कुन बेला बजारबाट निस्कने भन्नेपनि ज्ञान हुन जरुरि छ ।  बियर बजारमा पनि सेयर किन्दा एकैपटक किन्न हुँदैन । माथि उल्लेख गरिएझैं बुल र बियर दुवै ट्रेण्ड लामो समयको लागि हो । त्यसैले आफुले किन्ने सेयर घट्दो बजारसँगै चरणबद्ध रुपमा किन्दै जानुपर्छ  र ठूलो संख्यामा भने बजार धेरै तल आइसकेपछि किन्नु पर्छ । एकैपटक किनियो भने घट्दो बजारको फाइदा लिन सकिंदैन । यसरी किन्दा घट्दो बजारबाट समेत फाइदा लिन सकिन्छ । साथै, जोखिमपनि न्यून ।

अन्तमा, बजार ट्रेण्ड सहजै आंकलन गर्न सकिने कुरा नभएको हुँदा लगानीकर्ता आफुले लगानी गर्ने कम्पनीको गुणमा नै ज्यादा भर पर्नु पर्छ ।

(लेखक राजेश  विगत १० वर्षदेखि पुँजी बजारमा सक्रिय छन्)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स