काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सेयर आफूले नकिनेको स्पष्ट पारेका छन् । आज आइतबार अर्थ समितिको बैठकमा अध्यक्ष ढुंगानाले सेयर मैले किनेको होइन, छोरीले किनेको र विवाहित छोरी कुनै पनि कारोबार गर्न स्वतन्त्र हुने बताएका हु्न् ।
‘सर्वोत्तम सिमेन्टको सेयर खरिदमा आफ्नो कुनै पनि भूमिका छैन,’ उनले भने ‘ विवाह भइसकेको छोरीले गर्ने कारोबारमा आफ्नो कुनै पनि संलग्नता छैन ।’
बुक बिल्डिङको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर बोर्ड अध्यक्ष ढुंगानाको छोरी र नेप्सेका सीइओ चन्द्रसिंह साउँदको श्रीमतीको नाममा खरिद गरेको विषयलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले स्पष्टिकरण सोधेको थियो ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङबाट आईपीओ जारी गर्ने भने पनि हालसम्म धितोपत्र बोर्डमा कुनै आधिकारिक सूचना नआएको उनले स्पष्ट पारे । बोर्डमा नआएकोले हालसम्म नियमनको दायरामा नपर्ने पनि उनले बताए ।
‘मेरो छोरीले सर्वोत्तमको सेयर किनेको विषय इन्साइडर कारोबारमा पर्दैन,’ उनले भने ‘यो विषय धितोपत्र बोर्डको आचारसंहिता भित्र पनि पर्दैन ।’ सर्वोत्तम सिमेनट सूचिकृत संस्था पनि होइन । त्यसको सेयर कारोबार बोर्डको दायराभित्र नपर्ने हुँदा उनले प्रष्टाए ।
बजारमा यस्ता डेढ सय वटा कम्पनी छन् । कहाँ कहाँ के के भैरहेका छन्, त्यो सबै बोर्डलाई थाहा हुँदैन । म यति मात्रै भन्न चाहान्छु कि मेरी छोरी विगत ५–६ वर्षदेखि अमेरिकामा छिन् । मेरो ज्वाइँ पनि उतै बस्नुहुन्छ ।
मेरो छोरी र उनको परिवारको सल्लाहमा कुनै पनि काम हुन्छ भने त्यो मलाई थाहा हुने कुरा भएन । उनीहरुको परिवारमा के के किन्ने र, के के बेच्ने ? त्यो मलाई थाहा हुँदैन र उनीहरुले मलाई सबै कुरा भन्नुपर्छ भन्ने पनि छैन ।