काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ ।
शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुमपान निषेधित क्षेत्र घोषणा गरेको हो ।
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहेपनि कोरोनाको कारण सफल हुन नसकेको बताए ।
उनले आजबाट लागू हुनेगरी शुरु भएको धुम्रपान निषेधित क्षेत्रमा सुरुवाती सात दिन धुम्रपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिबाना तिराउने बताए । जरिवानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।
मेयर महर्जनले भने, ‘यो आउटस्ट्याण्डिङ कार्यक्रम हो । नेपाल सरकारले घोषणा गर्छ तर कार्यान्वयन गर्दैन । तसर्थ आज हामीले यो कार्यक्रम शुभारम्भ गरेका छौं ।
दुई वर्ष अघि नै लञ्च गर्ने कार्यक्रम थियो तर कोरोना भाइरसका कारण सफल हुन सकेनौं । स्मोकिङ किल्स भन्ने जुन भनाइ छ यो शतप्रतिशत करेक्ट छ ।
अहिले हामीले जावलाखेल, पुलचोक र पाटन दरबार स्क्वाएर क्षेत्रमा यो कार्यक्रम लागू गर्न गइरहेका छौँ । हामी यसलाई सफल पारेरै छोड्छौं ।
सुरुवाती ७ दिन हामी चुरोट नखानुस् भन्छौं त्यसपछि जरिबाना तिराउँछौं । त्यो जरिबाना क्यान्सर रोगीलाई नै सहयोग गर्नेछौं ।’
मेयर महर्जनले सरकारले विभिन्न कानून तर्जुमा गरेपनि कार्यान्वयन नगरेको दावी गर्दै महानगरपालिकाले भने लापरबाही नगरी कार्यक्रम सफल बनाउने प्रतिवद्धता जनाए ।