एमसीसी संसदबाट बहुमतले पारित, तुरुन्तै कार्यान्वयनमा जाने

काठमाडौं । आइतबार साँझ बसेको प्रतिनिधिसभा बैठकले बहुचर्चित परियोजना एमसीसी पारित गरेको छ । आज साँझ ६.३० बजे प्रतिनिधि सभाको बैठकले एमसीसी अनुमोदन गरेको हो । संसदबाट एमसीसी पारितपछि उक्त परियोजना तुरुन्तै कार्यान्वयनमा जानेछ ।

संसदमा भएको छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गरेका थिए । त्यसक्रममा हुन्छ भन्ने पक्षमा बहुमत सांसद उभिएका थिए ।

यसअघि आज बसेकाे प्रतिनिधिसभाकाे पहिलाे बैठकले एमसीसी प्रस्तावमाथिको सामान्य छलफल प्रस्ताव पारित गरेकाे थियाे । सत्तारुढ सांसदमध्ये धेरैले प्रस्तावको पक्षमा बोलेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांसदले भने नाराबाजी गरेपनि एमसीसी बहुमतले पारित भएकाे हाे ।

कहिले र कसरी भयो एमसीसी सम्झौता ?

नेपाल तथा एमसीसीबीच विसं २०७४ भदौ २९ गते नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौतामा संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीस्थित अमेरिकी विदेश मन्त्रालयमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की तथा एमसीसीका कामु प्रमुख कार्यकारी अधिकृत जोनाथन नाशले हस्ताक्षर भएको हो ।

एमसीसी कम्प्याक्टले बिजुलीको उपलब्धता तथा गुणस्तरमा वृद्धि तथा यातायात लागतमा न्यूनीकरणमार्फत लगानी आकर्षित गर्ने, आर्थिक वृद्धिलाई तीव्रता दिने तथा गरिबी न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । सञ्चालन गर्न लागिएका विद्युत् प्रसारण लाइन तथा सडक मर्मतसम्भारसम्बन्धी दुई वटा आयोजना नेपाली नागरिक समाज, निजी क्षेत्र तथा अन्य कैयौँ सरोकारवालासँगको विस्तृत परामर्शका माध्यमबाट पहिचान गरिएका प्राथमिकता हुन् ।

एमसीसी कम्प्याक्ट नेपाललाई प्राप्त भएको मात्र एउटा अर्को अनुदान होइन – यस अनुदान प्राप्त गर्नका लागि नेपालले अन्य राष्ट्रहरूसँग प्रतिस्पर्द्धा गरी आफूलाई योग्य प्रमाणित गर्नुपरेको थियो र त्यसपछि सुशासन, आर्थिक स्वतन्त्रता, नागरिकका लागि लगानी तथा सम्बन्धित अन्य सूचकहरूसम्बन्धी एमसीसीका शर्तहरू सफलतापूर्वक पूरा गरी एमसीसी कम्प्याक्टका लागि चयन भएको थियो ।

एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका आयोजनाहरूको नेतृत्व तथा कार्यान्वयन मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) का करिब ६० कर्मचारीहरूसहित नेपालीहरूबाटै हुन लागेको छ ।

एमसीसी पास भएपछि के के हुन्छ नेपालमा काम

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स