निरन्तर ओरालो लाग्दै नेपाल लाइफको सेयर मूल्य, यस्तो छ कारण

काठमाडौं । नेपालकै ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा निरन्तर गिरावट आइरहेको छ । लाभांश घोषणा हुनु अघिदेखि नै नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा गिरावट आउन सुरु भइसकेको थियो । (आज) आइतबार नेपाल लाइफ इन्स्योरेन्सको सेयर ५२ हप्ताकै न्यून मूल्य कायम भएको छ । आज नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य १२६२ रुपैयाँसम्म झरेर कारोबार भएको थियो । कारोबार बन्द हुँदा भने १२६७ रुपैयाँमा पुगेको छ ।

साताको पहिलो दिन नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य २५ रुपैयाँले घटेको हो ।

५२ हप्ताअघि कम्पनीको सेयर मूल्य २३ सय ३१ रुपैयाँमा कारोबार भएको थियो । एक वर्षको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा लगानी गर्नेले ५० प्रतिशत सम्पत्ती गुमाएका छन् । गत वर्षको माघमा कम्पनीको सेयर मूल्य ३ हजार रुपैयाँसम्म पुगेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्स सेयर लगानीकर्ताका माझ ब्ल्यू चिप कम्पनीको कहलिएको थियो । विगतका दिनमा उच्चतम लाभांश दिने गरेकाले नेप्सेमा सूचीकृत बीमा कम्पनीमध्येमा सर्वाधिक रुचाइएको कम्पनीको रुपमा नेपाल लाइफ इन्स्योरेन्स रहेको थियो ।

तर आर्थिक वर्ष २०७६/७७ का लागि नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गरेको लाभांश औसत कम्पनीको जस्तो रह्यो । नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आवको नाफाबाट १४.७३ प्रतिशत लाभांश घोषणा गरेको थियो । आव २०७५÷७६ मा ५१ प्रतिशत लाभांश दिएको थियो । एक वर्षको अन्तरमै लाभांशमा ठूलो गिरावट आउँदा त्यसको असर सेयर मूल्यमा परेको देखिन्छ । नेपाल लाइफ इन्स्योरेन्सले राम्रो लाभांश दिने आशमा सेयर होल्ड गरेर बसेका लगानीकर्ताहरुमा मनोवैज्ञानिक असर पर्दा त्यसको प्रभाव सेयर मूल्यमा देखिएको हो ।

इनसाइडर ट्रेडिङ

नेपाल लाइफ इन्स्योरेन्सको माघ २१ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट १४.७३ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । तर उक्त निर्णय हुनु पूर्व माघ ३ गतेदेखि नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा निरन्तर गिरावट देखिएको छ । उक्त दिन १,८०० रुपैयाँमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार खुल्ला भएको थियो । सोही दिन अधिकतम १,८१० रुपैयाँ र न्युनतम १,७४५ रुपैयाँ र अन्यमा १,७८० रुपैयाँ पुगेर कारोबार बन्द भएको थियो ।

लाभांश घोषणा हुन अघिदेखि नै सेयर मूल्यमा गिरावट देखिनुले इनसाइडर ट्रेडिङ भएको भन्ने आशंकामा धितोपत्र बोर्डले अनुसन्धान अघि बढाउन खोजिरहेको छ ।

लाभांश बाढ्न नपाउँने सम्भावना

नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आवको नाफाबाट घोषणा गरेको लाभांश बाढ्न नपाउँने सम्भावना पनि उच्च रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको आन्तरिक व्यवस्थापन र वास्तविक वित्तीय सूचांकमा तालमेल नहुँदा सेबोनले लाभांश स्वीकृत गरिरहेको छैन ।

नेपाल लाइफ इन्स्योरेन्सको अन्तरिक व्यवस्थापन तथा सार्वजनिक वित्तीय विवरण र वास्तविकतामा मेल नभएकाले लाभांश स्वीकार गर्न सेबोनले मानिरहेको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स