काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म ४७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । इन्स्योरेन्स कम्पनीले गरेको नाफा यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.६८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ९.४६ प्रतिशत बढेर १ अर्ब २९ करोड ७६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्स कम्पनीले १ अर्ब १८ करोड बीमा शुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पँुजी ६६.३२ प्रतिशतले बढेर १ अर्ब ७५ करोड पुगेको छ भने जगेडा तथा कोष २०.३५ प्रतिशत घटेर ७५ करोडमा सीमिति भएकोे छ । इन्स्योरेन्सको बीमा कोष २२.५० प्रतिशत बढेर १ अर्ब २९ करोड पुगेको छ भने महाविपत्ती कोष स्थिर रहेको छ ।
चुक्ता पुँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी घट्न पुगेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५३ पैसा घटेर २७ रुपैयाँ ५ पैसामा झरेको छ । असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ७२.१५ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ १५ पैसा रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले १९ हजार १८१ दाबीबापत १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेको छ । अझै १२ हजार ९६५ दाबी बापत २ अर्ब १ करोड २ लाख रुपैयाँ दावी भुक्तानी गर्न बाँकी रहेको छ ।