नेपालको टी–२० विश्वकप छनोटको यात्रा समाप्त

काठमाडौं । नेपालको टी-२० विश्वकपमा छनोटको यात्रा समाप्त भएको छ । नेपाल युएईसँग ६८ रनले पराजित भएसँगै टी-२० विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको हो ।

यूएईले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १ सय ७ रनमा अलआउट हुन पुग्यो ।

ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड-१ मा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो । युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ खेले । उनले ४८ बल खेल्दै चार चौका र चार छक्काको मद्दतमा ७० रनको योगदान दिएका थिए।

त्यस्तै भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७, जवार फारिदले ११, रोहन मुस्तफा ९ रन तथा अहमेद राजा ६ रनमा अविजित रहे । नेपालका जीतेन्द्र मुखिया र अविनाश बोहराले ३÷३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले १ विकेट लिएका थिए ।

त्यस्तै जवाफी ब्याटिङमा उत्रेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ तथा ज्ञानेन्द्र मल्लले २० रन बनाए । आरिफ शेखले ११ रन बनाउँदा अरू कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् । यूएईका लागि अहमद राजाले ५ विकेट तथा जुनैद सिद्धिकीले ३ विकेट लिए ।

यसैगरि यूएईसँगै आयरल्याण्डले विश्वकपमा स्थान बनाउन सफल भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स