ब्लू चिपको ट्याग गुमाउँदै नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं । नेपालकै ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्यारेन्सले आफ्नो अग्रणी छवि धमिल्याउँदै लगेको छ । विगतमा राम्रो प्रतिफल दिँदै आएको नेपाल लाइफ इन्स्योरेन्स लगानीकर्ताहरूका माझ ब्लू चिप कम्पनीको रुपमा कहलिएको थियो ।

तर, अहिले नेपाल लाइफ इन्स्यारेन्सको लाभांश दिने क्षमतामा ह्रास आएको छ । एकाएक कम्पनीको लाभांश दिन सक्ने क्षमता घट्दा लगानीकर्तामा चरम निरासा देखिन्छ ।

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीहरूलाई जम्मा १४.७३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद दिने घोषणा गरेको छ । उक्त प्रस्ताव बीमा समितिबाट अनुमोदन भएपछि नेपाल लाइफ इन्स्योरेन्सको आगामी साधारणबाट पारित भए पछि सेयरधनीमा उक्त लाभांश वितरण गरिनेछ ।

कम्पनीको विगत एक दशकको लाभांश इतिहासमा गत आवको लाभांश हालसम्मको न्यून हो । कम्पनीको बढ्दो पुँजी अनुसार आफ्नो व्यवसायलाई व्यापक बनाउन नसक्दा कम्पनीको नाफामा उल्लेखनीय रुपमा बढ्न सकेको छैन । साथै कम्पनीले आफ्नो व्यवस्थापन खर्च पनि विगतका वर्षका तुलनामा बढाउँदै गइरहेको छ । कम्पनीको फजुल खर्च बढ्दा त्यसबाट लगानीकर्ताले प्राप्त गर्नु पर्ने लाभ हासिल गर्न नसकेका हुन् ।

विगतमा राम्रो लाभांश दिने गरेकाले कम्पनीको सेयरमा पनि लगानीकर्ताहरूको राम्रो लगाव रहेको पाइन्थ्यो । अघिल्लो आवको लागि थोरै लाभांश घोषणा गर्दा त्यसको प्रभाव कम्पनीको सेयर मूल्यमा झल्किएको छ ।

एक वर्षको अवधिमा २३ सय रुपैयाँसम्म खरिद बिक्री भइरहेको नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य आइतबार १३३८ रुपैयाँ कायम भएको छ । कम्पनीको वित्तीय अवस्था खस्किदै गइरहेको छ र व्यवस्थापनमा पनि समस्या देखिँदै आएको छ ।
विगत ४ महिनादेखि कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिहिन छ । व्यवस्थापनसँगको खट्पटका कारण तत्कालिन सीईओ सन्तोष प्रसाईले मंसिरमा राजीनामा दिए । अहिले कम्पनीमा डेपुटी सीईओ प्रविणरमण पराजुलीले नेतृत्व गरिराखेका छन् ।

यस्तो छ कम्पनीको विगतको लाभांश

कम्पनीले आव २०७५\७६ मा ५१ प्रतिशत लाभांश दिएको थियो । जसमा ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश रहेको थियो ।

कम्पनीले आव २०७४÷७५ मा ४८.५ प्रतिशत लाभांश दिएको थियो । जसमा २५ प्रतिशत बोनस सेयर र २३.५ प्रतिशत नगद लाभांश रहेको थियो ।

कम्पनीले आव २०७३÷७४ मा ७०.५ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ४२ प्रतिशत र नगद २८.५ प्रतिशत रहेको थियो ।

कम्पनीले आव २०७२÷७३ मा २६.३१ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस २५ र १.३१ नगद लाभांश रहेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स