कुनै पनि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन अर्थात आईपीओ जारी गरे पश्चात सूचीकरण भैसकेको संगठित संस्थाले आफ्नो पुँजी वृद्धि गर्नु परेमा धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न सक्छ र यसलाईनै एफपीओ भनिन्छ । यो निष्काशन गर्नका मुख्य कारण संगठित संस्थाले आफ्नो व्यवसाय वृद्धि वा विस्तार गर्न नै हो ।
हाम्रो सन्र्दभमा सूचीकृत संगठित संस्थाको कूल चुक्ता पुँजीको ७० प्रतिशत संस्थापक सेयरधनीको र ३० प्रतिशत सर्वसाधारण सेयरधनीको हुने प्रावधान रहेको हुनाले पनि उक्त अनुपात कायम नभएमा सो पुँजी कायम गर्न सूचीकृत संगठित संस्थाहरूले एफपीओ निष्काशन गर्छन् ।
त्यसो भन्दैमा सबै सूचीकृत कम्पनीहरूले एफपीओ निष्काशन गर्न पाउँदैनन्, यो निष्काशन गर्न पनि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ बमोजिमका शर्तहरू पुरा गरेको हुनु पर्छ ।
विगत ५ वर्षमा कम्तीमा पछिल्लो ३ वर्ष खुद मुनाफामा सञ्चालन भई प्रतिसेयर नेटवर्थ प्रतिसेयर चुक्ता पुँजी भन्दा बढी भएको हुनु पर्यो, त्यस्तो संगठित संस्थाको आईपीओ निष्काशन भएको ३ वर्ष पूरा भएको, एफपीओ निष्काशन गर्ने सम्बन्धमा वार्षिक साधारण सभाबाट प्रस्ताव पारित भएको र अंकित मूल्य भन्दा बढी मूल्य तोकी निष्काशन गर्ने भएमा मूल्य निर्धारण गरिएको विधि र सोको औचित्य पुष्टि गर्ने आधार समेत उल्लेख भएको हनु पर्यो ।
नियमावलीमा भएको पछिल्लो संशोधनले सूचीकृत संगठित संस्थाले प्रिमियममा एफपीओ निष्काशन गर्न आवश्यक परेमा त्यस्तो संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति सेयर नेटवर्थ भन्दा बढी नहुने गरी प्रिमियम सहितको निष्काशन मूल्य निर्धारण गर्नु पर्ने प्रवधान समेत थप गरिएको छ ।
एफपीओका फाइदाहरू भन्नु पर्दा मुख्य रुपमा सूचीकृत संगठित संस्थाहरूले आफ्नो व्यवसाय वृद्धि गर्न आवश्यक पुँजी प्राप्त गर्न सक्छन् । प्रिमियम सहितको मूल्यमा निष्काशन गर्दा प्रिमियम बापत प्राप्त रकम जगेडा कोषमा जाने र सोबाट भविस्यमा बोनश सेयर समेत जारी गर्न सकिन्छ । एफपीओ मार्फत नयाँ सेयरधनीहरूको प्रवेश हुने र सूचीकृत संगठित संस्थाको साखमा समेत अभिवृद्धि हुने अवस्था रहन्छ ।