सेनाले ‘लिस्तीकोट-दुगुनागढी माउण्टेन ट्रेल रेस’ गर्दै

काठमाडौं । नेपाली सेनाले यही फागुन २१ गते ‘दोस्रो लिस्तिकोट-दुगुनागढी माउण्टेन ट्रेल रेस’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपाल-तिब्बत लडाइँका क्रममा प्रयोग भएको सिन्धुपाल्चोकस्थित धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवसका उपलक्ष्यमा उक्त दौड प्रतियोगिता गर्न लागिएको हो ।

दुगुनागढीको ऐतिहासिक र लिस्तीकोटको धार्मिक महत्वलाई उजागर गर्दै त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न तथा सैनिक-नागरिक सम्बन्ध विस्तारको उद्देश्यले प्रतियोगिता गर्न लागिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भोटेकोसी किनारस्थित सुक्खा बन्दरगाहबाट सुरु हुने सो प्रतियोगिता नयाँ पुल हुँदै दुगुनागढीसम्म २४.५ किमी दूरीको हुनेछ ।

सेनाको पहलमा जिल्ला प्रशासन कार्यालयसहितका सरकारी निकाय, बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका, व्यापार-व्यवसायी तथा संघसंस्थासँगको समन्वयमा प्रतियोगिता सञ्चालन हुनेछ ।

खुला, महिला र जिल्लावासी गरी तीन विधामा सञ्चालन हुने उक्त प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीले भाग लिन पाउनेछन् । प्रतियोगितामा खुलातर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः एक लाख १० हजार, ७५ हजार र ५५ हजार, महिलातर्फ पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः ६०, ३५ र २० हजार तथा जिल्लावासीतर्फको विधामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३०, २० र १५ हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स