काँकरभित्ता-लौकी सडक फराकिलो बन्दै, सहरी क्षेत्रमा फ्लाइओभर र अन्डरपास

पूर्व–पश्चिम राजमार्ग विस्तार

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग विस्तारको तेस्रो चरण काँकरभित्ता-लौकीबाट हुने भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको काँकरभित्ता-लौकी सडक विस्तारका लागि एसियाली विकास बैंक (एडीबी) इच्छुक देखिएको छ ।

एडीबीले काँकरभित्ता–लौकी सडक खण्ड विस्तारका लागि ऋण उपलब्ध गराउने संकेत गरेको सडक विभाग आयोजना निर्देशनालय (एडीबी)का उपनिर्देशक राशेक महर्जनले बताए ।

‘काकाँडभित्ता–लौकी सडक खण्डको वस्तु स्थिति बुझ्न एडीबीको मिसनले नेपाल भ्रमण सकाएको छ,’ महर्जनले भने, ‘उक्त खण्ड विस्तारका लागि ऋण उपलब्ध गराउन मिसन सकारात्मक देखिएको छ ।’

सबै कुरा सकारात्मक भए चालु आवको अन्यसम्म सडक विस्तारका लागि एडीबीले ऋण उपलब्ध गराउने महर्जनले विश्वास व्यक्त गरे ।

आयोजनाले सडक विस्तारका लागि काँकरभित्ता–लौकी, पथलैया–नारायणघाट, बुटवल–गोरुसिंहे खण्डको डीपीआर तयार गरिरहेको छ । काँकरभित्ता–लौकी खण्डको डीपीआर भने ९० प्रतिशत सकिएको उनले जानकारी दिए ।

ऋण सम्झौता अघि नै डीपीआर सम्पन्न हुनेछ । सडक विभागले उक्त डीपीआरलाई स्वीकार गरेसँगै एडीबीसँगको ऋण प्रक्रिया र ठेक्का दस्तावेज बनाउने तर्फको काम अघि बढाइने छ ।

पूर्व पश्चिम राजमार्ग विस्तार सरकारको उच्च प्राथमिकतामा पर्दै आइरहेको छ । दुई लेनको पूर्व पश्चिम राजमार्गका विभिन्न खण्ड ४ लेनमा विस्तार हुन थालिसकेको छ । पूर्व पश्चिम राजमार्ग एडीबी र विश्व बैंकको सहयोगमा निर्माण गरिदै छ ।

विश्व बैंकको सहयोगमा पथलैया–ढल्केबहर–कमला खण्ड निर्माण गर्न खोजिदै छ । एडीबीको सहयोगमा नारायणघाट–बुटबल र कमला–कञ्चनपुर खण्ड निर्माणको लागि ठेक्का लागि सकेको छ । भने, काँकरभित्ता-लौकी, पथलैया-नारायणघाट र बुटबल–गोरुसिंहे खण्ड निर्माणका लागि एडीबीको सहयोगमा निर्माण गर्ने भनेर सडक विभागले आवश्यक प्रक्रिया अघि बढाइरहेको छ ।

सहरी क्षेत्रमा ६ लेनको सडक

पूर्व-पश्चिम राजमार्ग २ लेनको छ । यसलाई विस्तारगरी ४ लेनको बनाउन लागिएको हो । उपनिर्देशक महर्जनका अनुसार बस्ती क्षेत्रमा सर्भिसलेन सहित ६ लेनको सडक विस्तार गरिनेछ । जंगल तथा बस्ती नभएको क्षेत्रको सडक भने ४ लेनको हुनेछ ।

स्थानीय सवरीको चाप धेरै हुने स्थानमा आवश्यकताका आधारमा फ्लाईओभर र अण्डरपास पनि निर्माण गरिनेछ । फ्लाई ओभर र अन्डरपासले राजमार्गमा गुड्ने सवारीको आवगमनमा स्थानीय सवारीको अवरोध हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स