बन्ने भयो मर्स्याङ्दी नदीको दुवै किनारामा सडक

मुग्लिङ-पोखरा सडक विस्तार

काठमाडौं । मुग्लिङ पोखरा सडक खण्डमा पर्ने मर्स्याङ्दी नदीको दुवै किनारामा सडक बन्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले वातावरण प्रभाव मूल्यांकनको कार्यादेश (टीओआर) स्वीकृत गरेसँग मर्स्याङ्दी नदीको दुवै किनारानमा सडक बनाउने बाटो खुलेको हो ।

सडक विभाग आयोजना निर्देशनालय (एडीबी)का उपआयोजना निर्देशक राकेश महर्जनले माघको अन्तिम साता वन तथा वातावरण मन्त्रालयले वातावरण प्रभाव मूल्यांकनको टीओआर स्वीकृत गरेसँगै मर्स्याङ्दी नदीको दुवै किनारानमा सडक बनाउने प्रक्रिया अघि बढेको जानकारी दिए ।

‘टीओआर स्वीकृत भएसँगै वातावरणीय प्रभावको मूल्यांकन प्रक्रिया सुरु भइसकेको छ,’ महर्जनले भने, ‘परामर्शदाताले वातावरणीय प्रभावको मूल्यांकन प्रतिवेदन तयार पारेर निर्देशनालयलाई हस्तान्तरण गर्नेछ ।’ उक्त प्रतिवेदन एडीबी र नेपाल सरकारबाट स्वीकृत गरेसँगै निर्माण प्रक्रिया अघि बढ्ने महर्जनले बताए ।

मुग्लिङ-पोखरा सडक खण्ड एसियाली विकास बैंक एडीबीको सहुलियत पूर्ण ऋण सहयोगमा निर्माण सुरु भइरहेको छ । आँबुखैरेनीदेखि पश्चिम खण्ड निर्माण गर्न ठेक्का लगाइ सकिएको छ । तर आँबुखैरेनीदेखि पूर्व (आँबुखैरेन–मुग्लिङ) खण्डमा ६७ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् गृह छ । हाल कायम भएको रेखांकनअनुसार सडक विस्तार गर्दा जलविद्युत् गृहमा क्षति पुग्ने थियो । जलविद्युत् गृहलाई बिना हानि सडक विस्तार गर्न आयोजनाले मर्स्याङ्दी नदीको दुवै किनाराबाट सडक निर्माण गर्ने गरी डिजाइन तयार गरिएको छ ।

सडकको रेखांकन परिवर्तन गर्न मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । मन्त्रिपरिषद्ले २०७५ चैतमा रेखांकन परिवर्तन गर्न स्वीकृति प्रदान गरेसँग डीपीआर प्रक्रिया अघि बढेको हो । परामर्शदाताले डिजाइन तयारगरी आयोजनालाई हस्तान्तरण गरिसकेको छ ।

अब वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया सकिए पछि एडीबीले थप ऋणका लागि स्वीकृती प्रदान गरेसँगै मस्र्याङदी नदीको दुवै किनाराबाट सडक निर्माण प्रक्रिया अघि बढाइने छ ।

नदीको दुवै किनारामा २ लेनको एसियाली हाइवे स्ट्यान्डर्ड अनुरुपको सडक बन्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स