ब्याजदरको विषयमा लगानीकर्ता भावूक बन्दा बजार घट्योः सेयर लगानीकर्ता दवाव समूहका महासचिव बास्तोला

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार सेयर बजारमा सतकीय गिरावट देखिएको छ । आज नेप्से १००.६७ अंकले घटेर २७००.८९ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि १५.६२ अंकले घटेर ५११.६६ विन्दुमा पुगेको छ ।
आज २२७ कम्पनीको सेयर ८१ हजार ८३७ पटक कारोबार भएको छ । १ करोड १६ लाख ६१ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९७ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।

१३ वटै उपसमूहहरु घटेर राता भएका छन् ।

सेयर लगानीकर्ता दवाव समूहका महासचिव नयन बास्तोला गत सातादेखि नै सेयर बजारले लय गुमाउँदै गएको अवस्थामा आजको घटाई स्वभाविक भएको बताउँछन् । बैंकहरुले ब्याजदर बढाउँदा बजारलाई थप घट्न प्रेरित गरेको उनको बुझाइ छ ।

‘बैंकको ब्याजदर बढ्दा धेरै लगानीकर्ता अतालिएको अवस्था छ,’ बास्तोलाले भने, ‘ब्याजदरले छोटो अवधिमा लगानीकर्ताको भावनालाई कैद गर्न सफल भएको छ ।’ एकै दिनमा सय अंकले बजार तल ओर्लिएकाले बजार छिट्टै बाउन्स ब्याक हुने उनको अनुमान छ ।

साथै, अहिले बढेको ब्याजदरले बजारलाई धेरै नकारात्मक असर नगर्नेमा उनी आशावादी देखिन्छन् । अहिलेको ब्याजदर पनि १ प्रतिशत विन्दुले मात्र बढेको हो । अर्को महिनादेखि ब्याजर रिभाई हुने उनी दावी गर्छन । राष्ट्र बैंक मौद्रीक नीतिको अर्धवर्षिक समीक्षाको तयारीमा छ । मौद्रिक नीती मार्फत् ब्याजदरमा हस्तक्षेप हुने सम्भावना पनि छ । यदि राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गरेन भने अर्थमन्त्रालयबाट हस्तक्षेप हुन सक्ने उनले आशंका व्यक्त गरे ।

‘ब्याज बढाएर मात्र तरलाताको समस्या हल हुने हैन । विगतमा पनि ब्याजदर बढाउँदा एउटा बैंकको निक्षेप अर्कोले तान्ने स्थिति सिर्जना भएको थियो,’ महासचिव बास्तोलाले भने, ‘अहिले सबै बैंकको ब्याजदर एउटै छ । यस्तोमा निक्षेप सर्ने सम्भावना पनि कम रहन्छ ।’

बैंकहरुले जथाभावी ब्याजदर बढाउन थालेको भन्दै नेपाल राष्ट्र बैंकले कात्तिक २ गते २ बुँदे निर्देशन जारी गर्दै अघिल्लो महिनाको तुलनामा १० प्रतिशतका दरले मात्र ब्याजदर परिवर्तन गर्न सक्ने व्यवस्था गरेको थियो । तर माघ महिनामा बैंकहरुले ब्याजदर बढाएन ।

फागुन महिना लागेपछि बैंकहरुले एक्कासि ब्याजदर बढाउँदा शंका पैदा भएको उनी बताउँछन् । बजारको हल्ला अनुसार गभर्नरकै निर्देशनमा बैंकहरुले ब्याजदर बढाएका हुन् ।

मुलुकमा भइरहेको राजनीतिक महोलले पनि ब्याजदरलाई तताएको जस्तो देखिन्छ । अहिले निर्वाचन, सदन खुल्न नसकेको अवस्था, सरकार परिवर्तन, एमसीसी लगायतका मुद्दाहरुका कारण राजनीतिक माहोल चर्की रहेको छ । यस्तो अवस्थामा प्रमुख प्रतिपक्षको पालमा नियुक्त भएका गभर्नरले राजनीतिक बहकाउँमा लागेर ब्याजदर बढाउन बैंकहरुलाई उक्साएको हो कि भन्ने आशंका गर्ने ठाउँ रहेको उनी बताउँछन् ।

गत महिना ब्याजदर बढाउने छुट हुँदा पनि नबढाएका बैंकहरुले राष्ट्र बैंकको ग्रिन सिग्नलका कारण ब्याजदर बढाएको उनको दावी छ ।

सेयर लगानीकर्ताहरु छिट्टै भावनामा बग्ने भएकाले पनि आज बजारले ठूलो गिरावटको सामना गरेको हो । ब्याजदरको प्रभाव दीर्घकालीन रहदैन । आजको कारोबार हेर्दा अन्तिम आधा घण्टामा १ अर्ब ३० करोडको भोलुम आएको देखिन्छ । यसले पनि बजार छिट्टै फर्किन्छ भन्नेमा उनी आशावादी देखिन्छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स