काठमाडौं । ईमर्जिङ नेपाल लिमिटेडले निष्काशन गरेको आइपीओमा माग भन्दा ५३.८७ गुणा बढीको आवेदन परेको छ ।
आइतबार साँझ ५ बजेसम्ममा २४ लाख १५ हजार ९ सय १९ जना आवेदकबाट २ करोड ७८ लाख ३५ हजार ४ सय २० कित्ताको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिंगले जनाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)को बिक्री खुला गरेको हो ।
कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता साधारण सेयर कर्मचारीको लागि सुरक्षित गरी बाँकी रहने पाँच लाख १६ हजार ७०८ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।
निष्काशित सेयरमा सर्वसाधारणले आगामी फागुन १ गतेसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
तोकिएको अवधिसम्म मागबमोजिम आवेदन नआए फागुन ११ गतेसम्म सेयर निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।