नागढुंगा–मुग्लिन सडक विस्तारः नागढुंगा–मलेखु खण्डको ठेक्का चैतमा लाग्ने

काठमाडौं । उपत्यका भित्रिने र बाहिरिने मूख्य सडक नागढुंगा–मुग्लिन सडक खण्ड स्तरोन्नित गर्न चैतमा ठेक्का लाग्ने भएको छ । नागढुंगा–मुग्लिङ सडक योजना प्रमुख किरण कार्कीले सडक विस्तारका लागि चैतमा ठेक्का लगाउने तयारी भइरहेको जानकारी दिए ।

सडक विभागले विश्व बैंकको ऋण सहयोगमा नागढुंगा–मुग्लिङ सडक विस्तार गर्न लागेको हो । करिब ९६ किलोमटिर लामो सडक खण्डलाई ३ वटा प्याकेजमा विभाजन गरेर स्तरोन्नित गर्न खोजिएको छ । जसमा नौबिसे–मलेखु ४३.५२ किलोमिटर र नागढुंगा–नौबिसे १२.६२ किलोमिटर रहेको छ । भने यस्तै मलेखु–मुग्लिङ ४० किलोमिटर रहेको छ ।

नागढुंगा–नौबिसे सडक खण्ड ३ लेनको हुनेछ । मालबहाक सवारीसाधनलाई ठाडो उकालोमा सहजता होस् भनेर एउटा थप डेडिकेटेड लेन बिस्तार गरिने कार्कीले बताए ।

‘बस्ती तथा बजार भएका स्थानमा सडक ४ लेनको हुनेछ । साथै सर्भिस लेन निर्माण गरिनेछ, ताकि सर्वसाधरणलाई आफ्नो साधानहरु आवतजावत गर्न सजिलो होस्,’ कार्कीले भने ।

पहिलो चरणमा नागढुंगा–नौबिसे र नौबिसे–मलेखु खण्ड विस्तारका लागि ठेक्का लगाइने छ ।

सडक विभागले सडक स्तरोन्नित गर्नका लागि निर्माण कम्पनीहरुको प्राविधिक मूल्यांकनबाट प्रारम्भिक सूची तयार गरिसकेको छ । नौबिसे–मलेखु खण्डमा ३२ र नागढुंगा–नौबिसे खण्डमा १४ वटा निर्माण व्यवसायी प्रारम्भिक रुपमा छनोट भएका छन् । प्राविधिक मूल्यांकन र आर्थिक मूल्यांकनका आधारमा उच्च अंक हासिल गर्ने निर्माण व्यवसायीले सडक विस्तारको जिम्मा पाउने छ ।

२०७८ चैत महिनाभित्रमा सडक विस्तार गर्ने कम्पनी छनोट गरेर निर्माण कार्य अघि बढाउने योजनाको लक्ष्य रहेको कार्कीले बताए । योजनाको दोस्रो चरणमा निर्माण हुने मलेखु–मुग्लिङको पनि सडक विस्तार निर्माणका लागि आवेदन दिएकाहरुको प्रारम्भिक मूल्यांकन भइरहेको कार्कीले जानकारी दिए ।

२१ वटा पुल बन्ने

विभागले गर्न लागेको मुग्लिङ–नागढुङ्गा सडक खण्डमा २१ ओटा पुल बन्ने योजना प्रमुख रिमालले बताए ।

‘पुल सबै चार लेनको हुनेछन् । हाल सञ्चालनमा रहेका पुल नभत्काई सडकको चौडाई अनुसार नै छेउमा पुल निर्माण गरिनेछ । बजार क्षेत्रमा स्थानीयलाई सडक पार गर्न सहजता प्रदान गर्न १० वटा आकाशेपुल पनि निर्माण गरिनेछ,’ कार्कीले भने ।

१९ अर्ब अनुमानित लागत

यो सडक स्तरोन्नति गर्न करिब १९ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । अब हुने मुग्लिङ–नागढुंगा सडक बिस्तारको काम पनि विश्व बैंकको ऋण सहयोगमा गर्न लागिएको नेपालले जानकारी दिए । सडक विस्तार गर्न विश्व बैंकले ऋण दिने सहमति भइसकेको पनि कार्कीले बताए ।

‘यसका लागि नपुग रकम नेपाल सरकारले खर्च गर्नुपर्नेछ । सडक स्तरोन्नति गर्न डिजाइन तयार पारिसकेको छ । परामर्शदाता आईसीटीले सडकको डिजाइन २०१८ मा नै तयार गरेको हो’ कार्कीले भने ।

‘मुग्लिङ–नागढुंगा सडकको चौडा एक नासको छैन, कतै दुई लेन र केही साढे एक लेनको छ,’ कार्कीले भने, ‘विपरीत दिशाबाट गुडेका सवारीसाधन सहज रुपमा पास हुनेगरी सडक विस्तार गर्न खोजिएको हो ।’

यस सडक विस्तारको काम कहिलेसम्म सकिन्छ भन्ने टुङ्गो भने ठेक्कोको व्यवस्था भएपछि मात्रै थाहा हुने कार्कीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स