काठमाडौं । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.५० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म १७ अर्ब ७२ करोड रुपैयाँ बिक्री आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १९ अर्ब २० करोड रुपैयाँ यस्तो आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ६.८७ प्रतिशत बढेको छ । कम्पनीको जगेडा कोष ५.२२ प्रतिशत बढेको छ ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४३ रुपैयाँ ८६ पैसाबाट ८ रुपैयाँ ११ पैसा बढेर ५१ रुपैयाँ ९७ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २६.७६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ६२३ रुपैयाँ ८९ पैसा रहेको छ ।