तातोपानी कुण्ड आजदेखि खुल्ला

गलेश्वर । गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड आजदेखि खुला गरिएको छ ।

कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आजदेखि नियमित खुला गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले जनाएको छ ।

बेनी नगरपालिका–४ मा रहेको सो कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकाले कुण्डमा स्नान गर्ने पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

कुण्डमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत नियमित आउने भएकाले जनस्वास्थ्यको पालनालाई अनिवार्य गरिएको समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए ।

अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएका ३० हजारभन्दा बढी बिरामी वार्षिकरूपमा तातोपानीमा स्नान गर्न आउँछन् ।

मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सियसको तापक्रममा निस्कने बिरेनुन स्वादको तातोपानी आउने गरेको छ । जमिनभित्रबाट बिरेनुनको गन्धसहित निस्कने तातातोपानीमा नियमित नुहाउँदा छालासम्बन्धी रोग, ग्यास्ट्रिक तथा अन्य बाह्य रोग निको हुने भएकाले वर्षेनी नुहाउनका लागि बिरामी आउने गर्दछन् ।

कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुनेलगायतका स्वास्थ्य समस्या भएका बिरामीको चाप धेरै हुने गर्दछ ।

डिसिएमसी बैठकले कोरोनाको जोखिम कायमै रहे पनि लामो समयसम्म बन्दलाई निरन्तरताभन्दा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालनासहित खुला गर्ने निर्णय भएको संयोजक एवं प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए ।

जिल्लाभित्र खोपको पहुँचमै नपुगेका तथा दोस्रो र बुस्टर डोज नलगाएकालाई अनिवार्य खोप अभियानमा सहभागी हुनसमेत अपिल गरिएको छ ।

त्यस्तै समूहमा खेलिने खेलमा भने क्षमताको २५ प्रतिशतमात्रै उपस्थितिमा सञ्चालन गर्न पाइने भएको छ । जिल्लाभित्र फुटबल, भलिबलजस्ता खेलकुदजन्य गतिविधिमा दर्शकको क्षमताअनुसार उपस्थितिको अवस्था

अहिले नभएकाले कडाइ गरिएको डिसिसिएसीले जनाएको छ । खुला गरिएको क्षेत्रका साथै सरकारी, वित्तीय तथा भीडभाड हुने होटल, रेष्टुरेन्ट तथा सार्वजनिक क्षेत्रमा सेवा लिन भने सेवाग्राहीले अनिवार्य खोपकार्ड देखाउनुपर्ने जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स