डीडीसी दूधको मूल्य प्रतिलिटर ९ देखि १४ रूपैयाँले बढ्यो, कुन प्याकेट को कति ?

काठमाडौं । सरकारले देशभर लागू हुने गरी दूधको मूल्य बढाएको छ । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य बढाएको छ । आज पत्रकार सम्मेलन गर्दै डीडीसीले प्रतिलिटर दूधको मूल्य ९ देखि १४ रूपैयाँ सम्म बढाइएको जनाएको हो ।

यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रूपैयाँ रहेकोमा शुक्रबार (भोलिदेखि) बढेको मूल्य लागू भएर प्रतिलिटर ८५ रूपैयाँ हुने भएको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर ८५ रूपैयाँ निर्धारण गर्ने निर्णय गरेको थियो ।

बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ । काठमाडौं उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५, बुटवल भैरहवामा प्रतिलिटर ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ मूल्य कायम हुनेछ । यसअघि काठमाडौंमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा ७० तोकिएको थियो ।

पाँच प्रतिशत फ्याट हुने फुलक्रिम (हरियो प्याकेट) को दूधको मूल्य लिटरमा १४ रुपैयाँसम्म बढेको छ । काठमाडौंमा यस्तो दूधको मूल्य प्रतिलिटर ११४ रुपैयाँ कायम भएको छ । विराटनगरमा १०४, हेटौंडा र जनकपुर क्षेत्रमा १०२ र लुम्बिनी, नेपालगञ्ज र धनगढी क्षेत्रमा १०० रुपैयाँ कायम भएको छ ।

डीडीसीले बिक्री गर्ने गाईको दूध (पहेँलो प्याकेट) को मूल्य लिटरमा १० देखि १२ रुपैयाँसम्मले बढेको छ । अब यस्तो दूधको मूल्य काठमाडौंमा प्रतिलिटर १०२ रुपैयाँ, विराटनगरमा एक सय रुपैयाँ र हेटौंडा–जनकपुर क्षेत्रमा ९६ रुपैयाँ कायम भएको छ ।

लुम्बिनी, नेपालगञ्ज र धनगढीमा यस्तो दूधको मूल्य ९० रुपैयाँबाट बढेर एक सय रुपैयाँ पुगेको छ ।

डीडीसीले चिया दूध भनेर बिक्री गर्दै आएको दूधको मूल्य लिटरमा १० रुपैयाँले बढेको प्रतिलिटर ८० पुगेको छ । विराटनगर, हेटौंडा र जनकपुरमा प्रतिलिटर ७४ रुपैयाँ कायम भएको छ । लुम्बिनी, नेपालगञ्ज र धनगढीमा ७० रुपैयाँ बनाइएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स