चालु आवमा आयल निगम ३५ अर्ब घाटामा जाने, कर्मचारी आवास र बोनसको रकम पनि सकियो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि त्यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थमा देखिएको छ । इण्डियन आयल कर्पोरेशले पठाएको नयाँ मूल्य अनुसार फेब्रुअरी १ देखि १५ दिन मै २ अर्ब २३ करोड रुपैयाँ घाटामा गएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए । ‘पछिल्लो मूल्य समायोजनअनुसार १५ दिनमा सो रकम घाटामा जाने देखिएको छ,’ उनले भने ‘यस्तै अवस्था रह्ने हो भने चालु आर्थिक वर्षभरिमा आयल निगम करिब ३५ अर्ब रुपैयाँ घाटामा जाने देखिएको छ ।’ सो घाटा मध्ये अहिलेसम्म करिब २२ अर्ब घाटा अहिले नै भइसकेको छ ।’

आयाल निगमले नाफा कमाएको साल कर्मचारीको बोनस र आवास निर्माणको लागि रकम छुट्याएको थियो । निगमले कर्मचारीको आवास निर्माण र बोनस प्रयोजनका लागि रकम छुट्याएपनि जुन प्रयोजनले रकम छुट्याएको हो सो प्रयोजनमा खर्च हुन नपाएको प्रवक्ता उपाध्यायले बताए । अघिल्लो आर्थिक २०७६\७७ मा आयल निगमले कर्मचारी बोनसको लागि ३ अर्ब १४ करोड र कर्मचारी आवास निर्माण लागि ३ अर्ब रुपैयाँ छुुट्याएको थियो भने ‘पेट्रोलिमय पदार्थ मूल्य स्थिरीकरण कोष समेत रित्तिएको प्रवक्ता उपाध्यायले बताए ।

जनवरीसम्म निगमले सञ्चिति मुनाफाबाट घाटा बेहोर्दै आएको थियो । हाल निगमले कुल व्यापारमा २० प्रतिशत नोक्सानी बेहोर्दै आएको छ । सञ्चिति मुनाफा कोष पनि रित्तिएपछि निगमले कर्मचारी बोनस र आवास निर्माणमा छुट्याएको रकम समेत चलाएपनि मूल्य स्थिरीकरण कोषबाट घाटा व्यहोरेको थियो ।

अब उक्त कोष पनि रित्तिएको छ । सो कारण अब यस्तै अवस्था रह्ने हो भने चालु आवमै निगमले अझ ठूलो व्ययभार थेग्नुपर्ने देखिएको छ । यो कोष पनि रित्तिएपछि तेलको मूल्य लागत अनुसार समायोजन गर्नु वा सरकारले ढुकुटीबाट पैसा झिकेर उपलब्ध गराउनु वा इन्धनमा लगाइएको कर छुट दिनुको विकल्प हुँदैन ।

पेट्रोलियम पदार्थको मूल्य बढेको भए पनि अझै मासिक साढे चार अर्ब घाटा रहेको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब दुई अर्ब २३ करोड घाटा रहेको प्रवक्ता उपाध्यायको भनाइ छ । निगमका अनुसार मूल्य वृद्धिपछि पनि आगामी १५ दिनमा पेट्रोलमा ४३ करोड, डिजेलमा एक अर्ब एक करोड र एलपी ग्यासमा करिब एक अर्ब घाटा हुने निगमको प्रक्षेपण छ ।

निगमले पछिल्लो पटक माघ १९ गते नयाँ मूल्य समायोजन गरेको हो । नयाँ मूल्यअनुसार डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ । यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ ।

मूल्य बढेसँगै डिजेल र मट्टितेल प्रलिलिटर १२५ रुपैयाँ तथा पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य अहिलेसम्मकै बढी हो । यसअघि २०७० सालमा नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँ पुगेको थियो ।

एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी प्रतिलिटर ११६ रुपैयाँ पुर्याएको छ ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ९२ पैसा, डिजेलमा प्रतिलिटर सात रुपैयाँ २४ पैसा, मट्टितेलमा प्रतिलिटर आठ रुपैयाँ ८० पैसा तथा हवाई इन्धनमा प्रतिलिटर सात रुपैयाँ ४८ पैसा बढेको छ । एलपी ग्यासमा प्रतिसिलिण्डर ८१ रुपैयाँ ६२ पैसा घटेको छ ।

पछिल्लो पटकको मूल्य समायोजन पछि अहिले पनि निगमलाई प्रतिलिटर पेट्रोलमा १३ रुपैयाँ २३ पैसा, डिजेलमा ११ रुपैयाँ १३ पैसा, मट्टितेलमा १८ रुपैयाँ १२ पैसा र खाना पकाउने एलपी ग्यास प्रति सिलिण्डरमा ५सय ६० रुपैयाँ घाटामा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स