६ महिनामै सेयर ब्रोकरको कमिशन ८ अर्ब, साउनदेखि निरन्तर ओरालो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा धितोपत्र दलाल (सेयर ब्रोकर)ले सेयर खरिद बिक्रीको कमिशनबापत ८ अर्ब रुपैयाँभन्दा धेरै आम्दानी गरेका छन् । पुस मसान्तसम्म ब्रोकरहरुले ८ अर्ब ६ करोड ८५ लाख रुपैयाँ कमिशन आम्दानी गरेका हुन् ।

गत आवको पहिलो ६ महिनामा ब्रोकरहरुले ३ अर्ब ६४ करोड ६५ लाख रुपैयाँ कमिशन प्राप्त गरेका थिए । गत वर्षको सोही अवधिको तुलनामा ब्रोकहरुको कमिशन ४ अर्ब ४२ करोड २० लाख रुपैयाँ आर्थत १२७ प्रतिशतले बढेको देखिन्छ ।

सेयर बजारमा कारोबार रकम बढ्दा ब्रोकरहरुको कमिशन बढेको हो । ब्रोकरहरुले सेयर खरिद र बिक्री गर्दा नै लगानीकर्ताबाट कमिशन प्राप्त गर्ने गर्छन् । दोस्रो बजारमा हुने कारोबार बढेसँगै ब्रोकरहरुको आम्दानीमा वृद्धि भएको हो । चालु आवमा दैनिक २२ अर्ब रुपैयाँसम्म कारोबार भएको थियो । उक्त कारोबार रकम नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को इतिहासकै सर्वाधिक हो ।

गत आवको पहिलो ६ महिनाको तुलनामा चालु आवमा ब्रोकरहरुको कमिसन रकम १२७ प्रतिशतले वृद्धि भएको छ । चालु आवको सुरुवातदेखि कमिशन रकमको वृद्धि दर भने निरन्तर घट्दो क्रममा देखिएको छ ।

गत आवको साउनदेखि ब्रोकरहरुको कमिशन रकम बढ्दो क्रममा देखिएको थियो भने यस पटक भने साउनदेखि कमिशनरकम घट्दो क्रममा छ । २०७७÷७८ को साउनमा ब्रोकरहरुले २६ करोड ४४ लाख रुपैयाँ कमिशनप्राप्त गरेका थिए । गत आवको पुससम्म आइपुग्दा कमिशनरकम बढेर १ अर्ब २० करोड ६६ लाख रुपैयाँ पुगेको थियो ।
चालु आवको साउनमा ब्रोकरहरुले ३ अर्ब २४ करोड ६९ लाख रुपैयाँ कमिशनप्राप्त गरेका थिए । चालु आवको पुस महिना भने ब्रोकर कमिशनघटेर ५३ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

गत आवमा पुँजी बजारमा नयाँ लगानीकर्ता भित्रिने क्रमसँगै सेयर बजार उच्च विन्दुको यात्रामा थियो । त्यसले गर्दा गत आवको प्रत्येक महिना ब्रोकरहरुले प्राप्त गर्ने रकम वृद्धि भइरहेको थियो ।

चालु आवमा मौद्रीक नीतिले सेयर धितो कर्जा कडाई गर्दै ४/१२ को व्यवस्था गर्यो । साथै बजारमा लगानी योग्य पुँजीको अभावसँगै ब्याजदर महँगो हुँदै गयो । जसले गर्दा सेयर खरिद दरमा संकुचन देखियो । यसको प्रभाव स्वरुप चालु आवको सुरुवातदेखि ब्रोकर कमिशनरकम घट्दो ट्रेन्डमा गएको देखिन्छ ।

लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत ब्रोकर कमिशन बुझाउनु पर्छ । त्यस्तै ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत शुल्क लाग्छ ।

५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबार ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्म ०.३० प्रतिशत र १ करोड माथिको कारोबारमा लगानीकर्ताले ब्रोकरलाई ०.२७ प्रतिशत कमिशन बुझाउनु पर्छ ।

कमिसनबाट प्राप्त हुने रकम मध्ये ८० प्रतिशत ब्रोकरले राख्छन् भने बाँकी २० प्रतिशत नेप्से र सिडिएस एण्ड क्लियरिङलाई बुझाउँछन् ।

ब्रोकर कमिशन

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स