आफ्नै व्यवस्थापनबाट बैंकको सीईओ बनाउँदै बैंकहरू, कुन कुन बैंकमा भएको छ यस्तो अभ्यास ? (विवरणसहित)

आफ्नै व्यवस्थापनबाट बैंकको सीईओ बनाउँदै बैंकहरू, कुन कुन बैंकमा भएको छ यस्तो अभ्यास ? (विवरणसहित)
काठमाडौं । पछिल्लो समय बैंकहरूमा संस्था भित्रैबाट नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) खोज्न थालिएको छ ।

नेपाल राष्ट्र बैंकले सीईओहरूले लगातार दुई कार्यकाल कार्य सम्पादन गरेपछि तेस्रो कार्यकाल सोही पदमा रहेर काम गर्न नपाउने व्यवस्था गरेपछि विशेष गरेर वाणिज्य बैंकहरूले बैंकभित्रै बाटै सीईओको तयारी थालेका हुन् । अहिले भने बैंकहरुले सोही बैंकमा कार्यरत दोस्रो तथा तेस्रो वरियताका कर्मचारीलाई नै ग्रुमिङ गरेर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने प्रचलन बढेको छ ।

बैंकहरूले संस्था भित्रैको व्यवस्थापनमा दोस्रो एवम् तेस्रो वरियतामा रहेका कर्मचारीलाई सीईओको रुपमा नियुक्ति दिने परिपाटीको अभ्यास शुरु भएको हो । बैंकहरूले गरेको यो अभ्यासले प्रत्यक्ष रुपमा दुईवटा फाइदा पुगेको छ ।

पहिलो फाइदा बैंकलाई बुझेको कर्मचारीले नै संस्थाको नेतृत्व गर्नेछ र बर्षौदेखि काम गर्दै आएको कर्मचारीले पनि अवसर पनि पाउने छ र उसले सो कम्पनीमा इमान्दार भएर ‘गुड फर्फरमेन्स’ दिने हिसाव समग्र हितका साथ काम गर्नेछ ।

दोस्रो फाइदा बाहिरबाट सीईओ ल्याउनभन्दा भित्रैको कर्मचारीलाई अपग्रेट गर्दा सीईओहरूलाई दिने तलब सुविधामा समेत केही सहज हुनेछ । संस्था भित्रैको कर्मचारीको प्रमुख कार्यकारीको जिम्मेवारी दिँदा तुलनात्मक रुपमा पारिश्रमिकमा कम खर्च हुनुका साथै कार्य प्रभावकारिता अत्यधिक देखिएको सम्बन्धित बैंकका सञ्चालकहरू बताउँछन् । बाहिरबाट सीईओ ल्याउदाभन्दा व्यवस्थापनबाटै छनोट गर्दा सेवा सुविधाको हिसावले पनि सहज हुने बैंकर्सहरूको भनाइ छ ।

यहि माघ ११ गते सानिमा बैंकका सीईओ भुवन दाहालले अवकास लिए । उनको स्थानका सानिमा बैंक सञ्चालक समितिले बैंककै डेपुटी सीईओ निश्चलराज पाण्डेलाई सीईओ बनायो । उनी उक्त बैंकमा वरियतामा तेस्रो स्थानमा थिए । पाण्डेले लामो समयदेखि सानिमा बैंकमा काम गर्दै आएका छन् ।

‘हलोदेखि हाइड्रोसम्म’ नाराका साथ मेगा बैंक चलाएका अनिल शाहले उक्त बैंकले छोडेपछि सोही बैंकमा स्थापनाकालदेखि काम गर्दै आएकी अनुपमा खुञ्जेलीलाई सो बैंकको जिम्मा लगाइएको छ । खुञ्जेलीले अहिले नेपालको वाणिज्य बैंकको पहिलो महिला सीईओ भएर राम्रो पर्फरमेन्सका साथ काम गरिरहेकी छिन् ।

सिद्धार्थ बैंकले पनि सुन्दरप्रसाद कँडेललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दियो । शम्भुनाथ गौतमको कार्यकाल सकिएसँगै कँडेललाई केही समय कायम मुकायम सीईओको जिम्मेवारी दिइयो । पछि उनलाई सञ्चालक समिति बैठकले सीईओको जिम्मेवारी दिएको हो । उनले १६ वर्षदेखि सिद्धार्थ बैंकमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् ।

सिटिजन्स बैंक स्थापना गर्न नै महत्वपूर्ण भुमिका खेलेका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी अहिले बैंकको सञ्चालक समिति अध्यक्ष छन् । हाल सिटिजन्स बैंकमा सीईओमा गणेश राज पोखरेल रहेका छन् । भण्डारी सीईओ हुँदा उनको अधिनमा रहेर पोखरेलले काम गरेका थिए ।

राष्ट्र बैंकको सर्कुलर पछिको कार्यकाल बैंक व्यवस्थापनबाट टाढा रहे पनि संचालक समितिको अध्यक्ष पदमा रहेर उनले काम गरिरहेका छन् ।

नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई वाणिज्य बैंकको दर्जामा पुर्याउन ठूलो भूमिका खेलेका तथा राष्ट्र बैंकसँग जुधेर एनएमबि बैंक बनाएका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालको कार्यकाल सकिएपछि बैंककै सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई एनएमबि बैंकले सीईओको जिम्मेवारी दिए । पौड्याल हाल नबिल बैंक सञ्चालक समिति अध्यक्ष छन् । हाल उनी एनएमबि बैंकमा छैनन् र पनि उनले नै यो अभ्यासलाई आत्मसाथ गर्दै आफै बैंकबाट बैंक हाक्न सक्ने सक्षम नेतृत्व चयन गरेका हुन् ।

अहिले एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत एवम् लक्ष्मी बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ लामो समय सोही बैंकमा जुनियर पदमा रहेर काम गरेका कर्मचारी हुन् ।

केही समय अगाडि बैंक अफ काठमाण्डूको सञ्चालक समितिले श्रवणकुमार मास्केलाई सीईओको जिम्मेवारी दियो । उनी शोभनदेव पन्तको मुनि बसेर काम गरेका दोस्रो वरियताका कर्मचारी हुन । तत्कालीन लुम्बिनी बैंकमा काम गरेका मास्के बीओकेसँग मर्ज भएसँगै डेपुटी सीईओ भएका थिए ।

नेपाल बैंकमा २०६१ सालमा सहायक प्रबन्धकबाट प्रवेश गरेका कृष्णबहादुर अधिकारी प्रतिस्पर्धाबाट नेपाल बैंकको सीईओ बनेका बनेका छन् ।

नेपाल क्रेडिट एन्ड कमर्स बैंकका सीईओ रमेशराज अर्याल पनि आन्तरिक रुपमा स्तरोन्नति हुँदै प्रमुख कार्यकारी अधिकृत भएका व्यक्ति हुन । प्रभु बैंकका अशोक शेरचन भने प्रभु फाइनान्स हुँदै उक्त कम्पनीको सीईओ थिए ।

संस्था स्तरोन्नतिसँगै उनको पनि स्तरोन्नति हुँदै गयो र वाणिज्य बैंकको समेत सीईओ बने । यसको श्रय संस्थाका प्रमुख कार्यकारी अधिकृतले मज्जाले लिन पाउने अवस्थामा बैंक पुगेको छ ।

सुमन जोशीले लक्ष्मी बैंक छोडेपछि अजयबिक्रम शाहलाई बैंकले सीईओको जिम्मेवारी दिइयो । उनी पनि सोही बैंकमा लामो समय काम गरेका व्यक्ति हुन् ।

इच्छाराज तामाङको आर्थिक दलदलमा फसेको सिभिल बैंकको सीईओमा अहिले सुनिल पोखरेल छन् । सञ्चालक समितिमा नयाँ अनुहार आएसँगै पोखरेलले सीईओको जिम्मेवारी पाएका हुन । विदेशी बैंकमा समेत काम गरेको अनुभव भएका पोखरेलले बैंक राम्रोसँग हाँक्ने विश्वास सञ्चालक समितिले लिएको छ ।

पछिल्लो व्यवस्थाअनुसार बैंकमा प्रमुख कार्यकारी अधिकृतको पदावधि ४ वर्षको रहने गर्छ । सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको काम राम्रो लागेमा एक कार्यकाल थप गर्न पाउने व्यवस्था छ । कुनै समय बहालवाला कार्यकारी अधिकृतको अवधि सकिने समयमा बैंक सञ्चालकलाई नयाँ सीईओ खोज्न भौतारिनु पर्ने थियो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स