८ करोडको लागतमा नेपालको दोस्रो लामो झोलुंगे पुल निर्माण सम्पन्न

मंगलबारे । इलामको दक्षिणी क्षेत्र माई नगरपालिका– ६ को बिहीबारे र वडा १ को घण्टे जोड्ने झोलुंगे पुलको निर्माण सम्पन्न भएको छ । आठ सय २० मिटर लामो झोलुंगे पुलको निर्माण सम्पन्न भएको हो । नेपालमा निर्माण भएकामध्ये दोस्रो लामो झोलुंगे पुल रहेको बताइएको छ ।

पुल निर्माणपछि केही दिनमा नगरपालिकालाई हस्तान्तरण गरिने जनाइएको छ । झोलुंगे पुल निर्माणपछि माइखोला वारपार गर्न सहज भएको छ । यसअघि महाकालीको दोधारा–चाँदनी जोड्ने एक हजार ४५२ मिटर लामो पुल बनेको थियो ।

स्थानीय पूर्वाधार विभाग सस्टेन्सन ब्रीज डिभिजनका इञ्जिनीयर उपेन्द्र देवकोटाले त्रिवेणी सुस्तामा एक हजार ५७२ मिटर लामो झोलुंगे पुल निर्माण हुने जानकारी दिए । यस्तै सिन्धुलीमा कमलामाईमा समेत यस्तै पुलको डिजाइन गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभागबाट आठ करोड २० लाखमा पुलको निर्माण सम्पन्न भएको हो ।

निर्माण कम्पनी थानी हिमशिखर जेभीले निर्माण अवधिको छ महिना अगाडि नै पुल निर्माण सम्पन्न गरिएको देवकोटाले जानकारी दिए । सात पिलरसहित निर्माण गरिएको यो झोलुंगे पुलमा चार टावर रहेका छन् । माई खोलामा पुल निर्माण भएपछि माई– १ को घण्टेदेखि लिएर देउमाई नगरपालिका जितपुरसम्मका बासिन्दालाई आवतजावत् गर्न सहज भएको छ ।

बिरामीलाई अस्पताल लैजान र विद्यार्थीलाई विद्यालय जान मद्दत पुगेको स्थानीयवासी प्रेमबहादुर कार्कीले बताए । उनका अनुसार यो पुलले स्थानीयवासीलाई इलाम सदरमुकाम जानसमेत सहज भएको छ । यो क्षेत्रमा पुल नहुँदा गत वर्ष मात्र तीन विद्यार्थीलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स