सेयर बजारबाट पैसा कमाउने कि गुमाउने अस्त्रः ट्रेडिंग मनोविज्ञान

सेयर बजार २०% ट्रेडिंग रणनीति, ३०% मनि म्यानेजमेन्ट, रिस्क रिवार्ड तथा ५०% मनोविज्ञानमा आधारित छ । सेयर बजारमा सफलतापूर्वक लगानी गर्न धेरै ज्ञान र सीपहरु आवश्यक हुन्छन् । यसमा कम्पनीको आधारभूत विश्लेषण गर्ने क्षमता र सेयर बजारको ट्रेन्ड पत्ता लगाउने क्षमता निकै महत्वपूर्ण मानिन्छ । तर, यी दुई सीपहरू भन्दा पनि अझै महत्वपूर्ण पक्ष भनेको लगानीकर्ताको मनोविज्ञानलाई मानिन्छ ।

सेयर बजारबाट पैसा कमाउने कि गुमाउने भनेर निर्धारण गर्ने सबैभन्दा ठूलो तत्व नै लगानीकर्ताको मनोविज्ञान हो । ट्रेडिंग गर्दा स्टक चयन, त्यसको क्यालकुलेसन तथा इन्ट्री र एग्जिस्ट गर्ने गर्ने तरिका मात्र कठिन कार्य हैन, यसले हाम्रो भावनाका साथ कार्य गर्ने भएकोले पटक पटक हाम्रो लोभ, डर र अहंकारलाई चुनौती दिने हुँदा ट्रेडिंगका साथ साथै यसको मनोविज्ञान पनि बुझ्न सबै भन्दा जरूरी हुन्छ ।

के हो त ट्रेडिंग मनोविज्ञान

एक ट्रेडरको व्यवहार र विशेषताका कारण ट्रेडिंगमा पर्न सक्ने असरबाट उक्त ट्रेडरको मनमा पैदा हुने भावना हो। हामीले जस्तो सुकै नाफामूलक ट्रेडिंग सिस्टम निर्माण गरेता पनि एक ट्रेडमा एंट्री गरे पछि त्यसबाट हुन सक्ने उक्त नाफालाई समय मै भजाउन नसक्ने पो हो कि भन्ने डर जहिले भईरहन्छ । त्यो समय हामीले आफ्नो भावनालाई कसरी नियन्त्रण गर्दछौं, यसैले उक्त ट्रेडिंगको सफलताको निर्धारण गर्दछ ।

हाम्रो जोखिम उठाउन सक्ने क्षमतादेखि सेयर बजार प्रतिको अनुराग र धैर्यताले समेत बजारलाई तलमाथि परिरहेको हुन्छ । खरीद र बिक्री दुबै मूल्यको आधार नै लगानीकर्ताको मनोविज्ञानमा टिकेको हुन्छ ।

अन्तराष्ट्रिय अध्ययन अनुसार सरकारी नीति, ठूला खेलाडीको चलखेल, बजार सम्बन्धी लेख, समाचार तथा सामाजिक सञ्जालहरुको सूचनाले सेयर बजारलाई प्रभावित पारिरहेको हुन्छ । यस्ता चलखेल अनि विभिन्न खालका समाचार र सूचनाहरूले सेयरको मूल्य, त्यसको कारोबार रकममा प्रत्यक्ष प्रभाव पर्दछ ।

सामान्यतया सेयर बजारमा सकारात्मक सूचना वा समाचारले तत्कालै एक छोटो समयको लागि मात्र सकारात्मक प्रभाव पारेको देखिन्छ ।

तर, नकारात्मक समाचारले भने तत्कालै मूल्य त घटाउँदछ नै, त्यसको प्रभाव लामो समयसम्म पनि बजारमा देखिन सक्दछ । सकारात्मक भन्दा नकारात्मक कुराहरूले बजारलाई धेरै नै चाँडै प्रभाव पार्दछ । जसको प्रत्यक्ष उदाहरण विश्व सेयर बजारमा समेत देख्न सकिन्छ ।

भर्खरै सम्पन्न युरो कपको प्रि–म्याच कन्फ्रेन्सका बेला पोर्चुगलका क्याप्टेन रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाएर पानी पिएको घटनापछि कोकाकोलाको शेयर मूल्य ४ अर्ब डलरले घट्यो । यसले के देखाउछ भने प्रत्येक नकारात्मक समाचार प्रति बजारले चाँडै नै प्रतिक्रिया देखाउँदछ । लगानीकर्ताको मनोविज्ञानको हिसाबले हेर्ने हो भने बाहिरको बजार र नेपालको बजारमा खासै धेरै फरक छैन ।

त्यहाँ पनि ट्रेडरहरू इमोशनल भई ओभर रियाक्सन तथा अन्डर रियाक्सन हुन्छ । मनोभावलाई नियन्त्रणमा राख्ने र अनुशासनमा बस्ने लगायतका अभ्यासहरू ट्रेडिङ मनोविज्ञान कै एक पाटो हो। हो सेयर कारोबारीहरूले तत्काल नै सोचेर निर्णय लिनु पर्ने हुन्छ त्यसैले छोटो समयमै सेयर खरिद बिक्री गर्नका लागि स्वयम् लाई एक निश्चित तरिका ले प्रशिक्षित गर्न पनि उत्तिकै जरुरि छ ।

सबैले प्रफिट कै लागि कार्य गर्ने भएकाले आफ्नो कारोबार योजनामा अनुशासित भएर अडिग रही प्रोफिट बुक गर्नु सबै भन्दा महत्वपूर्ण कुरा हो। तसर्थ, कारोबारको समयमा मनोभावनालाई बीचमा प्रवेश गराउनु निकै हानिकारक हुन सक्छ । सेयर बजारमा सफलताका लागि आफ्नो तथा बजारको मनोविज्ञान बुझ्न सक्ने एक स्पस्ट माइन्ड सेट हुनु पर्दछ ।

मलाई यस्तो लाग्यो भन्दा पनि चार्ट ले के भन्दै छ र बजार कता गइरहेको छ यो बुझ्नु मुख्य कुरा हो । हामी आफ्नो धारणाका कारण बजारलाई स्पस्ट रुपले हेर्न सक्दैनौं । प्रत्येक सेयर लगानीकर्ताले दुई वटा मुख्य मनोभावना डर र लोभलाई बुझ्न आवश्यक हुन्छ ।

डर र त्रासलाई जित्ने 

सेयर कारोबार गर्नेले डर के हो बुझ्न जरुरी हुन्छ । डर, सम्भावित खतरा प्रतिको एक प्राकृतिक प्रतिक्रिया हो । जब सेयर लगानीकर्ताले कुनै कम्पनी वा समग्र अर्थतन्त्रका बारेमा नकारात्मक समाचार सुन्दछन्, तब डर पैदा हुन्छ । डरकै कारण सेयर कारोबारीले आवश्यकता भन्दा बढी प्रतिक्रिया जनाउने र भएको सेयर बिक्री गरी तत्काल नगदमा परिणत गर्ने सम्भावना ज्यादा रहन्छ ।

यसरी केही नोक्सान त कम गर्न सकिएला, तर नाफा कमाउनबाट वञ्चित हुने सम्भावना पनि उत्तिकै रहन्छ । सेयर कारोबारको हकमा डर घाटाको सम्भावनासँग जोडिएको हुन्छ । सेयर कारोबारीले आफ्नो डर प्रति गहन सोच र विचार पुर्याउनुपर्छ । तर, यस्तो विचार नकारात्मक समाचार तथा सूचना बाहिर आउनुभन्दा अघि नै गर्नुपर्दछ, बीचमा वा आइसकेपछि होइन ।

समयभन्दा अगावै घटनाक्रम प्रति विचार पुर्याउने हो भने त्यसमा कसरी प्रतिकृया जनाउने भन्ने निर्णय लिन सहज हुन जान्छ । जसबाट लगानी तथा कारोबार निर्णयमा डर हावी हुन पाउँदैन ।

अत्याधिक लोभमाथि विजय 

अत्याधिक लोभी लगानीकर्ता जहिले पनि अन्तिम समयसम्म बढ्दो मूल्यको फाइदा उठाउने दाउमा हुन्छन् । तर, ढीलो वा चाँडो जब बजार घट्न थाल्छ । तब यसैमा धेरै लोभी लगानीकर्ताहरु पÞmस्दछन । हो, लोभलाई जित्न त्यति सहज छैन । अझै धेरै भाउ बढोस् , अझै राम्रो फाइदा गरौं भन्ने प्रवृत्ति अधिक लोभका कारण नै जन्मिन्छ । कतिपय अवस्थामा ज्यादा लाभकै कारण प्राप्त भइसकेको फाइदालाई पनि गुमाउनुपर्ने सम्भावना रहन्छ ।

तसर्थ, सेयर कारोबारीले आफूमा भएको यस्तो लोभी प्रवृत्तिलाई पहिचान गर्नुपर्दछ । विवेकमा आधारित निश्चित र तर्कसंगत कारोबार योजना बनाउनुपर्छ र उक्त योजना अनुसार अनुशासनमा पनि बस्नुपर्दछ । यसो गर्दा कारोबारका बीचमा लोभी प्रवृत्तिमा कमी आउन जान्छ ।

भावनामा आधारित कारोबार गर्नबाट कसरी जोगिने ?

एक स्पस्ट नियम बनाउने 

सेयर लगानीकर्ताले एक निश्चित कारोबारको नियम बनाउनुपर्छ । जब मनोवैज्ञानिक तत्वहरु हावी हुने देखिन्छ, सोही नियमलाई अनुशरण गर्नुपर्दछ । आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता पहिचान गरी कारोबारलाई दिशानिर्देश गर्नुपर्दछ । कारोबारमा भावनात्मक तत्वले असर नगरोस भन्नका लागि नाफाको लक्ष्य निर्धारण गर्नुपर्दछ । नोक्सान रोकथाम (स्टप लस) गर्ने एक स्पस्ट लक्ष्य तय गर्नुपर्दछ ।

स्वयम् अनुसन्धान र समीक्षा गर्ने 

कोही साथी भाइ ले भन्यो या कुनै सामाजिक संजाल मा केहि कुरा आयो भन्दै तिनको पछि नलागी, सेयर कारोबार गर्नेले जहिले पनि आफ्नो रुचिका स्टक र सेक्टरमा विज्ञ हुन आवश्यक छ । विश्व विख्यात लगानीकर्ताहरूलाई पनि हेर्ने हो भने, उनीहरू आफूले बुझेको भन्दा बाहिरको क्षेत्रमा लगानी गर्न हिच्किचाउने गरेको देखिन्छ । दैनिक आउने समाचारहरूलाई ध्यान दिनुपर्छ । तर, त्यसबाट ज्यादै प्रभावित भई कार्य गर्नु भने हुँदैन । स्वयंलाई शिक्षित र परिष्कृत बनाउदै लैजान पनि उत्तिकै महत्वपूर्ण हुन्छ । ज्ञानले डरलाई जित्न पनि ठूलो भूमिका निर्वाह गर्दछ ।

अन्त्यमा

आफ्नो भावनालाई कन्ट्रोल गर्नका लागि राम्रो ट्रेडिंग सिस्टमका साथ एक यस्तो माइन्ड सेट–अप हुन जरुरी छ । जसबाट हामी पूर्ण रुपमा यो विश्वस्त हुन सकौं कि तत्काल नभए पनि लंग टर्ममा हामी प्रफिटमा नै रहने छौं । एक रणनीति बनाइ पहिलेका गल्ती दोहर्याउन नदिन हिस्टोरिकल चार्टको अध्ययन गरि र पूर्णतया नियम तथा अनुशासनका साथ लागु गरेर आफुमा यो आत्मविश्वास जगाउन सकिन्छ ।

हामीले यो पनि बुझ्न जरुरि छ कि हरेक ट्रेडमा हामीले प्रफिट कमाउन सक्दैनौं। कहिले काहीं त जति गरे पनि हाम्रो स्टप–लस हिट हुन्छ नै तर अनुसाशनका साथ ट्रेडिंग गर्दछौं भने आफु लाई दोष दिने ठाउँ रहन्न ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स