समितिद्वारा बीमा कम्पनीमा कार्यरत कर्मचारीको शैक्षिक प्रमाणपत्र मागः कर्मचारीमा खैलाबैला, गलत विवरण पठाए कम्पनी नै जरिवानामा

काठमाडौं । नेपाल लाइफले शैक्षिक योग्यता नपुगेका व्यक्तिलाई सहायक प्रवन्धक पदमा नियुक्त गरेको भन्दै जरिवाना गरेको बीमा समितिले सबै बीमा कम्पनीका कार्यरत कर्मचारीहरूको शैक्षिक योग्यताको प्रमाणपत्रको विवरण माग गरेको छ । समितिको यो जरिवाना सहित बेला बेलामा तहल्का मच्याउने नक्कली शैक्षिक प्रमाणपत्रको विषय फेरि बीमा कम्पनीमा प्रवेश गरेको छ ।

यसअघि नेपाल लाइफ इ्रन्स्योरेन्सले शैक्षिक योग्यता नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रबन्धकमा नियुक्त गरेको भन्दै १० हजार रुपैयाँ जरिवाना गरेको थियो भने प्रूडेन्सियल इन्स्योरेन्सका अधिकृत खम्ब बहादुर खड्कालाई पनि नक्कली पेश गरेर जागिर खाएका थिए ।

बीमा क्षेत्रमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी बढ्न थालेपछि समितिले हिजो बिहीबार एक निर्देशन जारी गर्दै बीमा कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको विवरण ७ दिनभित्र बुझाउन निर्देशन दिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘शैक्षिक योग्यताको विषयलाई लिएर समितिमा उजुरी परेको थियो,’ उनले भने ‘सो कारण हामीले शैक्षिक योग्यताको विवरण माग गरेका हौं ।’

बीमा समितिले गलत शैक्षिक योग्यताको विवरण पठाएको पाएमा पठाउने कम्पनीलाई समेत कारवाही गर्ने भएको छ । समितिको यो मागपछि यस क्षेत्रमा कार्यरत नक्कली प्रमाणपत्र धारी कर्मचारीहरूमा खैलाबैला मच्चिएको छ । बीमा समितिको यो निर्देशन पछि नक्कली शैक्षिक प्रमाणपत्र तथा विदेशी प्रमाणपत्र पेश गरेर जागिर खाएका कर्मचारीहरूको सातो गएको छ ।

बीमा समितिको निर्देशनसँगै आज शुक्रबार केही बीमा कम्पनीहरुमा बैठक बसेर आफ्ना कर्मचारीहरूको शैक्षिक योग्यता समस्या भएका कर्मचारीहरु कति छन् । समस्या भए कस्ता कस्ता समस्या हुन् भनेर छलफल भएको एक बीमा कम्पनीका अधिकारीले जानकारी दिए ।

बीमा समितिले नेपालमा सञ्चालित बीमा कम्पनीहरूमा कार्यरत सबै कर्मचारीहरुको शैक्षिक योग्यता प्रमाणपत्र सम्बन्धी विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । समितिले बीमा कम्पनीहरूमा संस्थागत सुशासन कायम गर्न कार्यरत कर्मचारीहरूको यस्तो विवरण माग गरेको हो ।

समितिले हिजो सबै बीमक तथा पुनर्बीमक कम्पनीहरुलाई निर्देशन जारी गर्दै बीमा कम्पनीहरूमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको शैक्षिक योग्यता, उत्तिर्ण गरेको वर्ष, उत्तिर्ण गरेको विश्व विद्यालय देखि विद्यालयसम्मको विवरण तोकिएको तालिकामा भरेर ७ दिनभित्र बीमा समितिमा पठाउन निर्देशन दिएको हो ।

समितिको निर्देशनअनुसार विदेशी शैक्षिक योग्यताको प्रमाणपत्रको समकक्षता प्रमाणित गर्नुपर्ने नियम बीमा समितिले लागू गरेको छ । समितिको यो निर्देशनले अब कति नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएका कति कर्मचारीको जागिर जान्छ, त्यो भने हेर्न बाँकी नै छ ।

हाल जीवन बीमा कम्पनीमा ६ हजार १६० जना भन्दा धेरै कर्मचारीहरु कार्यरत छन् भने निर्जीवन बीमा कम्पनीहरुमा ५ हजार ३९० जना कर्मचारीहरु कार्यरत छन् । समितिले बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुको शैक्षित अवस्थाको विषयमा अध्ययन गर्न यस्तो निर्देशन दिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स