प्रधानन्यायाधीस चोलेन्द्रका भाइ र श्रीमतीको नाममा गैरकानुनी सम्पत्ति भएको डा. केसीको दावी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका भाइ प्रभु शमशेर राणाको नाममा थप ३० करोड बराबरको गैरकानुनी सम्पत्ति भएकोे भन्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दर्ता भएको छ । चोलेन्द्रका भाइ प्रभुका नाममा विभिन्न स्थानमा उक्त मूल्य बराबरको गैरकानुनी रुपमा जोडेको घर जग्गा फेला परेको भन्दै छानविनका लागि सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दर्ता भएको हो ।

अभियन्ता डा. गोविन्द केसीले चोलेन्द्रका भाइ प्रभुको नाममा सम्पत्ति भेटिएको सूचना विभागलाई उपलब्ध गराएका छन् । यसअघि केसीले प्रधानन्यायाधीश राणाको सहयोगमा विचौलियाको रुपमा उनका भाइले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अनुसन्धानका लागि विभागमा उजुरी दिएका थिए ।

डा.केसी सहितले दर्ता गराएको उजुरीमा प्रधानन्यायाधीश राणाकी श्रीमतीको नाममा समेत गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति रहेकाले त्यसको पनि छानबिन हुनुपर्ने माग गरेका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा २०७८ पुस ११ मा दर्ता भएको उजुरीसँग सम्बन्धित कसुरका सम्बन्धमा सूचना उपलब्ध गराउन केसीले विभागमा निवेदन दिएका हुन् ।

प्रभु शमशेरको नाममा काठमाडौं महानगरपालिका–२९ ठमेलको कित्ता नम्बर १०८५ को ८ आना जग्गासहित घर २०७६ मंसिर २० मा खरिद भएको केसीको निवेदमा उल्लेख गरिएको छ ।

काठमाडौंको गोठाटार–८ को कित्ता नम्बर १२४, कित्ता नम्बर ३३ को साढे ३ रोपनी जग्गा समेत गरी ३० करोड रुपैयाँभन्दा बढी मूल्यका घरजग्गाहरु रहेको तथ्य अवगत हुन आएको केसीले निवेदनमा दावी गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स