राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने, के के हुँदैछ व्यवस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोली शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ । बिहिबार व्यवस्थापन समिति बैठकले साउन २९ गते शुक्रबार अपरान्ह मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेको हो । मौद्रिक नीतिका विषयलाई लिएर शुक्रबार बिहान पनि सञ्चालक समिति बैठक बस्ने भएको छ ।

‘प्राविधिक समस्या आएन भने भोलि शुक्रबार मौद्रिक नीति आउँछ, निश्चित जस्तै भएको छ’ राष्ट्र बैंक स्रोतले भन्यो ।

मौद्रिक नीति आउन ढिला भएपछि यहि साउन ११ गते राष्ट्र बैंकले परिपत्र केही निर्देश दिइसकेको छ । राष्ट्र बैंकले साउन ११ मा गरेको निर्देशनललाई समेत व्यवस्थापन हुने गरी मौद्रिक नीति आउँछ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

राष्ट्र बैंकले वित्तिय स्थायित्व प्रवद्र्धनका लागि भन्दै असल वर्गमा परेका कर्जाहरुको प्रोभिजनलाई ०.३ प्रतिशतले बढाएर १.३ प्रतिशत पुर्याएको थियो ।

२०७८ असार मसान्त भित्रमा असुल हुनुपर्ने ब्याज रकम २०७८ भदौ १५ गते भित्र असुल भएमा त्यस्तो रकमलाई २०७८ असार मसान्तको आम्दानीमा लेखांकन गर्न सकिने सुविधा दिएको परिपत्रमा उल्लेख गरेको छ ।

साथै राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अर्थतन्त्रलाई थप चलायमान गराउन मार्जिन ल्याण्डिङ कर्जामा केही सुविधा दिने भएको छ भने सेयर धितो कर्जामा केही कडा गर्न लागेको स्रोतको भनाइ छ । ‘अहिलेसम्मको अवस्थामा यहि छलफल भएको छ,’ स्रोतले भन्यो ‘शुक्रबारको बैठकले केही हेरफेर भने गर्न सक्छ ।’

यसका साथै मौद्रिक नीतिमा लघुवित्तको पुँजी वृद्धिदेखि मेगा मर्जरलाई थप प्रोत्साहन गर्ने समेत गर्ने बुझिएको छ । समग्रमा मूल्य वृद्धिको नियन्त्रण, सरकारले सार्वजनिक गरेको कार्यक्रमलाई सघाउने गरि मौद्रिक नीति आउने बुझिएको छ ।

राष्ट्र बैंकले अव लिने नीतिमा समान प्रकृतिको बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा पुँजीको आधारमा निश्चित सीमासम्म हकप्रद सेयर निष्काशन गर्न दिने गरी मोद्रिक नीति तयार पारेको राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ ।
हकप्रद जारीका लागि मर्जरको शर्त राख्दा विकास बैंक र फाइनान्स कम्पनीहरुको समेत संख्या घट्न सक्ने विश्वासका साथ राष्ट्र बैंकले यो नीति लिन लागेको हो ।

‘अवको मर्जर नीति समान वर्गको बैंकबीच गराइने खालको हुनेछ,’ राष्ट्र बैंक स्रोतले भन्यो ‘ राष्ट्र बैंकले प्रत्यक्ष रुपमा नै चुक्ता पुँजी वृद्धि गर्न लगाएर बैंकको संख्या घटाउने योजना भने अहिले बनाएको छैन ।

अब आउने मौद्रिक नीतिले बैंकको मर्जरलाई प्रोत्साहन गर्न ‘वोनश तथा अन्य उपायबाट चुक्ता पुँजी वृद्धिलाई प्रोत्साहित गरिने छ’ भन्ने बुँदा उल्लेख छ । उक्त बुँदाले बैंक तथा वित्तीय संस्थाले चुक्तापँजी वृद्धिका लागि बोनश सेयर जारी गर्न पाउनुका साथै अन्य उपायहरुले हकप्रद निष्काशनको बाटो खुला गर्ने राष्ट्र बैंक उच्च स्रोतले बताएको छ । उक्त बुँदाले हकप्रद वा डिबेञ्चरलाई जनाउँछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स