अर्थमन्त्री शर्माको प्रश्नः जनता र सरकारसँग भएको सम्पति कति हो ? यसको हिसाव गर्ने योजना चाहियो 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जनता र सरकारसँग भएको सम्पत्ति कति हो भनेर प्रश्न गरेका छन् । आज बिहीबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्रिफिङ कार्यक्रममा मन्त्री शर्माले समग्र राष्ट्रको सम्पत्ति लेखा जोखा गर्नुपर्ने आवश्यकता समेत औंल्याए । ‘जनतासँग भएको सम्पत्ति के कति हो ? सरकारको स्वामित्वमा भएको सम्पत्ति के कति हो ? यसको सम्पूर्ण मूल्याङ्कन हुनपर्यो, यसको हिसाव किताव खोई ? मलाई यसको हिसाव किताव गर्ने योजना पनि चाहियो,’ उनले भने  ।

अर्थमन्त्री शर्माले सो अवसरमा आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् । अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेश गर्न भनेका हुन् ।

‘चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरो लागि मान्य छैन । एक पटक राम्रोसँग सोच्नुहोस् राजस्व संकलन बढाउन सकिने उपायहरु तपाई आफै फेला पार्नुहुनेछ।’ उनले भने ‘त्यसको लागि तपाईहरूलाइ के चाहिन्छ, जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ त्यो उपलब्ध गराइन्छ । तर राजस्व दोब्बर बनाउने लक्ष्यका साथ काम गर्नैपर्दछ ।’

उनले करदातालाई कानुन लगाएर कर तिराउने नभई करदाता आफैले कर तिरुँ तिरुँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन मातहतका निकायलाई निर्देशन दिए । करदाता आफै उत्साहित भएर कर तिर्ने हुनुपर्दछ । त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयको तर्फबाट के के गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नुहोस् ।’ मन्त्री शर्माले अगाडि भने हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन कि गुणात्मक सुधारको खाँचो छ ।’

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले राजश्व भनेको देशकै प्राणरेखा भएको भन्दै राजश्व संकलनको निर्धारित लक्ष हेरफेर हुने संभावना रहेको बताउनुभयो । राजश्व समूहका कर्मचारीले १०–५ को ड्यूटी गरेर नपुग्ने भएकोले सोही अनुसार थप जाँगर चलाएर काममा खटिन निर्देशन दिए ।

आन्तरिक राजस्व विभाग अन्तर्गतका ८४ वटा कार्यालयहरू सबैले राजस्व संकलनमा देखिएका समस्याहरूको एमआरआई गर्नुपर्नेमा जोड दिँदै सचिव मरासिनीले समाधानका उपायहरू समेत निकाल्न भने ।

प्रविधिको माध्यमबाट सवै राजस्व कार्यालयहरुलाई  यथाशक्य कागजरहित, अनुहाररहित र भौतिक सम्पर्करहित बनाउन निर्देशन दिए । वि.सं २०५४ सालदेखि मूल्य अभिवृद्धि कर (भ्याट) लगाएदेखि जिडिपीको ९ प्रतिशतको हाराहारीमा रहेको आन्तरिक राजस्व २२ प्रतिशतमा पुगको तथ्याङ्क उल्लेख गर्दै उहाँले यसलाई व्यवस्थित गर्न विलिङ्ग सिष्टममा एकीकृत गर्न आग्रह गरे । देशका विभिन्न ठाँउमा रहेका ८४ वटा राजस्व कार्यालयमध्ये ३० वटाले मात्र तोकिएको लक्ष पूरा गरेको जानकारी दिँदै उहाँले सबै कार्यालयहरुले लक्ष अनुसारको काम गर्न निर्देशन दिए  ।

आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कुप्रसाद आचार्यले आर्थिक वर्ष २०७७/७८ को कुल राजस्वमा विभागले ४६ प्रतिशत योगदान गरेको जानकारी दिए । गत वर्ष कुल राजश्वमध्ये भन्सार विभागबाट ४५ प्रतिशत, गैरकर राजस्व ७ प्रतिशत र अन्यबाट २ प्रतिशत राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७७/७८ को लागि आन्तरिक राजस्व विभागलाई ४५० अर्बको लक्ष्य तोकिएकोमा ४२९ अर्ब संकलन भएको छ । चालु आर्थिक वर्षको लागि ५२२ अर्ब राजश्व संकलनको लक्ष्य तोकिएको छ ।

यस्तै गत असारसम्म ४० लाख ६६ हजार १३१ ले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । भने २ लाख ९० हजार ७१४ करदाता मूल्य अभिवृद्धि कर (भ्याट) मा आवद्ध छन् । व्यवसायीहरू करको दायरामा औपचारिक रुपले आवद्ध रहेको भएतापनि वार्षिक विवरण नबुझाउनेको संख्यामा वर्षेनी वृद्धि भइरहेको महानिर्देशक आचार्यले बताए । कर कार्यालयमा दर्ता भई वार्षिक विवरण नबुझाउनेहरु आर्थिक वर्ष २०७४/७५ मा ३३.१८ प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा ३७.५३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा सो संख्या बढेर ४२.९२ प्रतिशत पुगेको छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स