अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पक्राउ

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७, डम्बर चौराह नजिक सडकबाट ४ ग्राम ८ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेकोे जनाएको छ ।

पक्राउ पर्नेहरुमा दोधारा चाँदनी नगरपालिका–७, बाबाथान बस्ने २४ वर्षीय बिबेक रानामगर, २० वर्षीय रोक्की भन्ने राहुन रानामगर र सोही नगरपालिका–६, शान्ति टोल बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

बारा, बिश्रामपुर गाउँपालिका–१, बटम चौकबाट करिब २१ ग्राम ६ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित एक जना विदेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एपि ६०६४ नम्बरको मोटरसाइकलका चालक भारत घर भएका ३२ वर्षीय नबाब अंसारीलाई बिहीबार साँझ सिमा प्रहरी चौकी छतवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारेको थियो ।

बाँके, नेपालगंज उपमहानगरपालिका–१६, जयसपुरबाट करिब १९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २६ वर्षीय अस्फान अन्सारीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । सिमा प्रहरी चौकी जयसपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारेको थियो ।

पर्सा, बहुदरमाई नगरपालिका–९, बिश्रपुर भौजे बस्ने ६० वर्षीय गणेश साह कलवार र उनकै छोरा ३४ वर्षीय संतोष साह कलवारलाई करिब ७४ केजी अवैध लागूऔषध गाँजा सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले गणेशको घरमा लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी दुवैजनालाई पक्राउ गरेको जनाएको छ ।

यसैगरी पर्सा, बिन्दवासीनी गाउँपालिका–४, अमरपट्टी र झौवाको बिचबाटोबाट करिब ७ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सखुवाप्रसौनि गाउँपालिका–१, दोहोरी टोल बस्ने ३५ वर्षीय सुरेश दास र भारत मोतिहारी भेलाही थाना–१ बस्ने ४२ वर्षीय दसाही दास रहेका छन् । नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स