सेयर बजार अवसर र जोखिम, यी हुन् कारोबार गर्दा ध्यान दिनुपर्ने ६ मूख्य सिद्धान्त

सेयरबजार भनेको यस्तो ठाउँ हो जतिसुकै माथि गए पनि वा जतिसुकै तल झरे पनि ‘नलेजबेस्ड’ लगानी गर्ने मान्छेले त्यसबाट कमाउन सक्छ। यो जोखिमको क्षेत्र भएकाले त्यस जोखिमलाई भने व्यवस्थित गर्नेतिरपनि ध्यान दिनुपर्दछ ।

बजार बढ्दैमा जोखिम बढ्ने र घट्दैमा जोखिम घट्ने भन्ने पनि होइन। हुन त बजार धेरै नै बढ्यो, अब जोखिमपूर्ण छ भनेर नियामक निकायले बेला बेलामा सतर्क भएर लगानी गर्न भन्दै विज्ञप्ति निकाल्छ। त्यसले गर्दा  लगानीकर्ता अझ प्यानिक भएर जुन सुकै मूल्यमा पनि सेयर बिक्रि गरि बाहिर निस्कन हतार गर्ने हुँदा बजार झनै तल जाने गरेको देखिएको छ ।

संस्थागत लगानीकर्ताको आफ्नो विश्लेषण गर्ने टिम हुन्छ। लङटर्म, मिडियम र सर्टटर्म विश्लेषण गरेर लगानी गरेका हुन्छन्। उनीहरुले जोखिमलाई व्यवस्थापन गर्ने र जोखिम विश्लेषण गरेर नै आएका हुन्छन्  तर कयौं नयाँ लगानी कर्ता केवल  हो हो मा लागेर अरुले कमाए, म चाहिं छुटे भनेर लगानी गर्नेपनि छन्। न त तिनको बजार प्रतिको कुनै स्पस्ट बुझाई छ न त कुनै अध्ययन र विश्लेषण ।  त्यसैले बेला बेलामा ट्रयापमा पर्ने भनेकै कुनै अध्ययन र जोखिम विश्लेषण नगरीकन आउने साधारण लगानीकर्ता हुन्। अहिलेको अवस्थामा नेप्सेको इन्डेक्स (सूचक) हेरेर मात्र पुग्दैन। हामीले लगानी इन्डेक्समा गरेका हुँदैनौँ। हामीले कम्पनीमा लगानी गरेका हुन्छौँ। त्यसकारण कम्पनीको विश्लेषण गरेर सही कम्पनी चिनेर किन्ने गर्न जरुरी छ। त्यसो गर्यो भने जोखिम स्वतः व्यवस्थापन हुनजान्छ। अहिले पनि ‘हिडेन गेम’ कम्पनीहरु अर्थात् तुलनात्मक रुपले सस्तो भएरपनि अन्य कम्पनीको तुलनामा राम्रा छन्। ती छान्न सक्नुपर्यो।

नेप्सेमा सूचीकृत भएका धेरै कम्पनीहरुमध्ये त्यस्ता कम्पनी अहिले पनि २०–२५ वटा छन्। त्यस्ता कम्पनीमा लगानी गर्दा बढ्दा राम्रै बढ्ने र घट्दा आत्तिने गरी नघट्ने हुन्छ। यस्ता कम्पनीमा लगानी गर्ने र अलिकति लङटर्म दृष्टिकोण राखेर कम्तीमा एक वर्ष होल्ड गर्छु भन्ने सोच्नुपर्छ। केही गरी भएन भने कम्पनीले दिएको लाभांश कस्तो छ, लाभांशले पनि आफ्नो औसत रिटर्न उठाउँछु भन्ने आशा हुन्छ। त्यसपछि ‘क्यापिटल गेन’ भयो भने बोनस पाउने सम्भावना छँदै छ भन्ने रणनीतिका साथ अगाडि बढ्यो भने जोखिम राम्रो व्यवस्थापन गर्न सकिन्छ।

समस्या भनेको विश्लेषण नगरी लहैलहैमा आउने लगानीकर्तामा हुन्छ। उनीहरुलाई यी कुरा थाहा हुँदैन। यी कुराहरु थाहा नहुँदा आँखा अगाडि जे देखिन्छ, फेसबुक र क्लब हाउस जन्य सामाजिक संजालमा जसले जे भन्छ, त्यही कम्पनी किन्ने प्रवृत्ति छ। यसरी किन्दा कहिलेकाहीँ ट्रयापमा परिने, कहिलेकाहीँ बढ्दा राम्रै बढेको र घट्दा पनि आत्तिने किसिमले घटेको हुन्छ। जसमा प्रगति हुने ठाउँ कम भइसकेको हुन्छ। यस्ता कम्पनी छान्दा जोखिमको मात्रा धेरै बढाउँछ।

त्यसकारण ‘KDC’ सिद्धान्त अपनाएर  जस्तो परिस्थितिमा पनि उक्त सिद्धान्तलाई लागु गर्छु भन्ने अठोट  गरेर मात्र सेयर बजार छिर्नुपर्छ। यसको अर्थ के भने लगानीकर्ताले नलेज (बजार सम्बन्धी ज्ञान), डिसिप्लिन (धैर्यता) र क्यापिटल (पुँजी) व्यवस्थापनबारे जान्नुपर्छ। यी तीन कुरालाई सन्तुलन गरेर गर्न सकियो भने नेपालको सेयरबजारमा जोखिम व्यवस्थापन गर्न त्यत्ति गाह्रो कामपनि होइन।

नेपाली सेयर बजारमा लगानी गर्ने धेरैमा यी तीनै वटा तत्वका बारेमा  कुनै जानकारी नभएको देखिन्छ। ज्ञानपनि छैन। तालिम नलिई वा अध्ययन नगरी अहिले लगानी गरेर अहिले तुरन्तै कमाउन हाम फ़ालिहाल्ने प्रवृत्ति छ। साथै ‘डिसिपिलिन’ पनि छैन। पाँच रुपैयाँ बढ्यो कि बेचिहाल्ने प्रवृत्ति  हामी सबैमा नै छ। जब कि यसले ब्रोकरलाई मात्र फाइदा हुन्छ। कतिखेर प्रवेश गर्ने, कतिखेर बाहिरिने, नाफाको विन्दु कति हो? यस्ता कुरामा ज्ञान लिन खोजेको देखिँदैन। ज्ञान भएपनि ‘डिसिपिलिन’मा बसेको देखिँदैन।

अर्को कुरा क्यापिटल म्यानेजमेन्ट (पुँजी व्यवस्थापन) जस्तो कि जति महंगोमा पनि उठाइदिने, उसले चाहिं कमायो भनेर साथीसँग ऋण लिएर पनि लगानी गर्ने प्रवृत्ति देखिन्छ। यस्तो खालका व्यवहारले जोखिम झनै बढाउँछ। अर्कोतिर, अहिले राम्रो कम्पनी चिनेर लगानी गर्नसक्ने हो भने अवसर छ। अवसरलाई हेर्ने र जोखिमलाई घटाउने रणनीति लिनुपर्छ।

साना लगानीकर्ता ले ध्यान दिनु पर्ने ६ मुख्य कुराहरु के के हुन् त।

. कम्तीमा साधारण ज्ञान : सेयर बजारमा प्रवेश गर्ने साधारण लगानीकर्ताले कम्तीमा यससम्बन्धी साधारण ज्ञान लिनुपर्छ। यो पहिलो शर्त हो। अझ सकिन्छ भने एनालिटिकल (विश्लेषणात्मक) ज्ञान पनि लिएर पस्दा राम्रो। यसको लागि तालिम लिएर वा यससम्बन्धी किताबहरु पढेर ज्ञान लिनुपर्छ।

. इन्डेक्सलाई मात्र हेरेर लगानी नगरौँ : सेयर बजारमा इन्डेक्स हेर्नुपर्छ तर इन्डेक्स हेरेर लगानी गर्ने होइन। नेप्से  ३२ सय पुग्नुको अर्थ आफ्नो ठाउँमा होला तर त्यसलाई मात्र आधार बनाएर लगानी गर्ने होइन। नेप्से बढ्दा कम्पनीको सेयर घटिरहेको र नेप्से घट्दा कम्पनीको सेयर बढिरहेको पनि हुनसक्छ। नेप्से ३२ सय पुग्दापनि आफूले किनेको कम्पनीको सेयर घट्यो भने त घाटा नै हुने हो। सेयर बजारको  साधारण ज्ञान नभएकाले नेप्से बढ्यो भनेर लगानी गरेको देखिन्छ। इन्डेक्सलाई रिफ्रेन्सका रुपमा लिने र कम्पनीको टेक्निकल र फन्डामेन्टल डेटा (मुख्य मुख्य तथ्यांकहरु) अवस्था हेरेर लगानी गर्नुपर्छ।

. आफ्नै बचत, थोरै लगानी : साना लगानीकर्ताले सकेसम्म आफ्नै बचतको पैसाबाट थोरै लगानीबाट सुरु गर्नुपर्छ। १० हजार बाटपनि लगानी गर्न सकिन्छ। महंगो ब्याजमा पैसा लिएर सेयर बजारमा लगानी गर्नुहुँदैन।

. देखासिकी होइन, आफ्नै रणनीति बनाऔँ : कोही लगानी (इन्भेष्टर)को हिसाबले आइरहेका हुन्छन् भने कोही व्यापार (ट्रेडर)को हिसाबले। इन्भेष्टर र ट्रेडरमा हरेक व्यक्तिपिच्छे रणनीति फरक–फरक हुन्छ। उनीहरुबीच फरक–फरक सामाजिक, आर्थिक, ज्ञान हुन्छ। ऊ सफल भयो मपनि लगानी गर्छु,  मपनि सफल हुन्छु भन्ने रणनीतिले काम गर्दैन। आफूलाई सुहाउने रणनीति के हो, कुन कम्पनी किन्न सकिन्छ भनेर आफ्नो बेग्लै रणनीति बनाउनसक्ने हुनुपर्छ। अरुको रणनीतिमा चल्दा असफल हुन सकिन्छ।

. धेरै आक्रामक नहोऔँ : सेयर बजार किनबेचमा धेरै आक्रामकपनि हुनुहुँदैन। जो नयाँ हुनुहुन्छ, दुई/तीन वर्षको अनुभव छैन भने एकैपटक एक/दुई महिनामा दोब्बर बनाउँछु भनेर हुँदैन। थोरै पैसा लगानी गर्ने, लङटर्म लगानी गर्ने, कम्तीमा लाभांश धेरै दिएको कम्पनीमा लगानी गर्ने बानी गरियो भने विस्तारै कमाउँदै गइन्छ र आत्मविश्वास पनि बढ्दै जान्छ। साना लगानीकर्ताले यसरी सुरु गर्नुपर्छ।

. सबै कम्पनीको तुलनात्मक विश्लेषण गरौँ : कतिलाई फन्डामेन्टल विश्लेषण गर्नसक्छु भन्ने भ्रम हुन्छ। त्यो भ्रम हो भनेर मैले किन भन्छु भने एक वा दुई कम्पनीको विश्लेषण गरेर पुग्दैन। अहिले सुचिकृत रहेका २८५ वटै कम्पनीको तुलना गर्न सक्नुपर्छ। जबसम्म अरुसँग तुलना गर्न सकिँदैन, एउटा राम्रो देखियो भन्दैमा हुँदैन। समग्र विश्लेषण गर्नुपर्छ।

२८५ वटै कम्पनीको ‘पिक्चर’ आँखा अगाडि हुनुपर्छ र यो भन्दा यो राम्रो भन्ने एक किसिमको विश्लेषण गर्न सक्ने नहुँदासम्म सेयर बजारबाट राम्रो कमाउन सकिँदैन। विश्लेषण गर्ने तरिका मात्र सिकेर हुँदैन, सबै कम्पनीको विश्लेषण एकै पटक गरेर स्पष्ट पिक्चर ल्याउन सक्नुपर्छ। यी कुरा एकै रातमा हुँदैन, साना लगानीकर्ताले यी कुरा मनमा राखेर लगानी गर्ने हो भने पक्कैपनि सेयर बजारबाट कमाउन सकिन्छ।

(कार्की विगत १० वर्षदेखि पुँजी बजारमा सक्रिय छन्)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स