क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ राष्ट्र बैंकको नजरमा पर्दा अर्को गैरकानुनी धन्दा ‘अनलाइन बेटिङ’लाई उन्मुक्ति

काठमाडौं । क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ गरिएको लगानीका कारण नेपालमा विदेशी मुद्राको सञ्चिती र रेमिट्यान्स आप्रवाह घटेको भन्दै नेपाल राष्ट्र बैंकको यस्तो कारोबारमा संगलन नहुन कानूनी चेतावनी दिएको छ ।

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ गैरकानुनी भन्दै राष्ट्र बैंकले सूचना जारी गर्दै, ‘नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरुले समेत क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङमा लगानी गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने छ ।’

राष्ट्र बैंकले उक्त सूचना मार्फत् नेपालमा बस्ने नेपालीलाई मात्र हैन रेमिट्यान्सको मूख्य स्रोत विदेशमा बस्ने नेपालीलाई पनि क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङमा लगानी नगर्न चेतावनी दिएको छ । जानेर वा नबुझेर भर्चुअल मनी तथा डिजिटल मार्केटिङमा संलग्नलाई राष्ट्र बैंकको उक्त सूचनाले संत्रास पैदा गरेको छ ।

तर पछिल्लो समय नेपालमा क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङसँगै अर्को जालो अनलाईन बेटिङ (जुवा) मौलाइ रहेको छ ।
पछिल्लो समय फुटबल, क्रिकेटलगायत ठूला खेलहरुमा अनलाइन माध्यमबाट हुने बेट संसारभर बढि रहेको छ । नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन ।

विगत केही वर्षदेखि नेपाली युवाहरु माझ अनलाइन जुवा ‘वान एक्स बेट’को प्रयोग बढ्दो छ । वान एक्सले संसारभर हुने विभिन्न खेलमा जुवा खेलाउने गरेको छ । छोटो समयमा छिटो कमाउने आशमा नेपाली युवाहरु जुवाको लतमा फस्दै गइरहेका छन् ।

वान एक्सलगायत विभिन्न अनलाइन जुवा प्लेटफर्ममा लाखौं नेपाली युवाहरु संगलन रहेको आंशका छ । जुवा खेल्ले व्यक्तिगत सम्पत्ति गुमाउनुका साथै नेपाल भित्रको पैसा पनि बाहिरि रहेको छ ।

नेपाल राष्ट्र बैंकको नजरमा क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ पर्दा अर्को गैरकानूनी धन्दा अनलाइन बेटिङमा भने ध्यान नगएको जस्तो देखिन्छ ।

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको सम्बन्धमा सूचना जारी गर्दा अनलाइन बेटिङको सम्बन्धमा राष्ट्र बैंक किन मौन भनेर प्रवक्ता डा. गुणाकर भट्टलाई हाम्रो अर्थले प्रश्न सोधेको थियो ।

कानुनी व्यवस्थाले मान्यता नदिएको र कानुनले प्रतिबन्द गरेको विषयमा कारोबार नगर्न राष्ट्र बैंकको अनुरोध रहेको प्रवक्ता भट्ट बताउँछन् ।

जुवा खेल्न तथा खेलाउने कार्य गैरकानुनी

मुलुकी अपराध संहिता अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ । त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ ।

जुवा खेल्नेमात्र नभई अरुले खेलेको ठाउँमा च्याखे थाप्नेहरुलाई पनि जुवा खेलेकै सरह कारबाही हुने कानुनमा उल्लेख गरिएको छ ।

जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई पनि जुवा खेल्नेसरह नै कारबाहीको व्यवस्था गरिएको छ ।

मुलुकी अपराध संहिता कार्यान्वयनमा आउनु अघि जुवा खेल्नेहरुलाई जुवा ऐन २०२० अन्तर्गत कारबाही हुँदै आएको थियो ।

बाजी राख्नेलाई १ वर्षसम्म कैद

कुनै खेलको जित वा हारको पक्षमा बाजी राख्नेलाई पनि कैद र जरिवानाको व्यवस्था गरिएको छ । कुनै पक्षले जितेमा वा हारेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल गुमाउने गरी बाजी राखेमा बाजीको सबै रकम जफत हुनुका साथै संलग्नलाई १ वर्षसम्म कैद र १० हजार जरिवानाको व्यवस्था नयाँ कानूनमा गरिएको छ ।

तर, सार्वजनिक महोत्सव, मेला पर्व, प्रदर्शनीमा सरकारी अनुमति लिई थोरै चलअचल सम्पत्ति पाउने वा गुमाउने गरी जुवा खेलाएमा भने त्यसलाई जुवा मानिने छैन । सरकारी अनुमति लिएर चिठ्ठा सञ्चालन गरे पनि काुनन लाग्ने छैन । सरकरको अनुमति विना चिठ्ठा कटाउन पाइने छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स