१० सूचकमा १० वाणिज्य बैंक, कुन सूचकमा को अब्बल (इन्फ्रोग्राफ)

काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अन्त्यसम्मको वित्तीय विरण सार्वजनिक गरेका छन् ।

कोरोना महामारीका कारण अन्य क्षेत्रमा संकुचन देखिए पनि बैंकहरुले यो अवधिमा राम्रो व्यवसाय गरेको देखिन्छ ।
६ महिनाको अवधिका बैंकहरुले ३३ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ बराबरको नाफा गरेका छन् । जुन गत अर्वको सोही अवधिको तुलनामा २ अर्ब ३९ करोड रुपैयाँले नाफा बढाएका हुन् । गत पुसमसान्तमा बैंकहरुको नाफा ३१ अर्ब ७ करोड ३२ लाख रुपैयाँ थियो ।

यस्तोमा ३ वटा बैंकले २ अर्ब माथि र १३ बैंकले १ अर्ब माथिको नाफा कमाएका छन् । भने, बाँकी ११ बैंकको नाफा १ अर्ब रुपैयाँभन्दा तल छ ।

हाम्रोअर्थले आज नाफा, वितरण योग्य नाफा, प्रतिसेयर आम्दानी, बेसरेट, कर्जा, निक्षेप, खराब कर्जा, ट्रेडिङ आम्दानी, ब्याज आम्दानी र सम्पत्तीको आधारमा अब्बल १० बैंकको सूची तयार गरेको छ । कुन वित्तीय सूचकांकमा कुन बैंक अब्बल ?

नाफा

नाफाको आधारमा ग्लोबल आईएमई बैंक पहिलो नम्बरमा छ । बैंकले पहिलो ६ महिनामा २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ नाफा गरेको छ ।

क्रमसः नाफाका आधारमा २ देखि १० नम्बरसम्म एनआईसी एशिया बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक, प्राइम बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र नेपाल बैंक रहेका छन् ।

बेस रेट

वाणिज्य बैंकहरुमध्येमा बेस रेटको आधारमा राष्ट्रिय वाणज्य बैंक अघि छ । बैंकको बेस रेट ६.६० प्रतिशत छ । ६.८३ प्रतिशत बेस रेट सहित स्ट्यान्डर्ड चाटर्ड बैंक दोस्रो स्थानमा छ । तेस्रो स्थानमा अर्को सरकारी बैंक नेपाल बैंक रहेको छ । नेपाल बैंकको बेस रेट ७.०८ प्रतिशत छ ।

लोन एण्ड एडभान्स

कर्जा विस्तारमा एनआईसी एशिया बैंक आक्रमक देखिएको छ । २ खर्ब ७२ अर्ब ५० करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेर एनआईसी एशिया बैंक पहिलो स्थानमा छ । २ खर्ब ६७ अर्ब ६० करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह गरेर ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा छ । नबिल बैंक २ खर्ब २३ अर्ब ३० करोड १८ लाख रुपैयाँ कर्जासहित तेस्रो स्थानमा छ ।

प्रतिसेयर आम्दानी

प्रतिसेयर आम्दानी (इपीएस)को आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा छ । एनआईसी एशिया बैंकको इपीएस ४१.४३ रुपैयाँ छ । ३२.१५ रुपैयाँ इपीएससहित राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थानमा छ । सिद्धार्थ बैंक २५.१२ रुपैयाँ इपीएससहित तेस्रो स्थानमा छ ।

सम्पत्ती

कुल सम्पत्तीको आधारमा ग्लोबल आईएमई बैंक पहिलो स्थानमा छ । ग्लोबल आईएमई बैंकसँग ३ खर्ब ५५ अर्ब ५४ करोड रुपैयाँको सम्पत्ती छ । ३ खर्ब ४४ अर्ब ५१ करोड रुपैयाँ बराबरको सम्पत्ती सहित एनआईसी एशिया बैंक दोस्रो स्थानमा छ । नबिल बैंक ३ खर्ब ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको सम्पत्तीसहित तेस्रो स्थानमा छ ।

खराब कर्जा

शून्य प्रतिशत खराब कर्जासहित हिमालयन बैंक शीर्ष स्थानमा छ । नेपाल एसबीआई बैंक ०.१४ प्रतिशत खराब कर्जासहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको एभरेष्ट बैंकको खराब कर्जा ०.२६ प्रतिशत छ ।


वितरण योग्य नाफा

सबैभन्दा धेरै वितरण योग्य नाफा एभरेष्ट बैंकसँग रहेको छ । बैंकसँग २ अर्ब ४६ करोड ११ लाख रुपैयाँ बराबरको वितरण योग्य नाफा छ । १ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ वितरण योग्य नाफासहित ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा छ । नबिल बैंक १ अर्ब ४५ करोड ५० लाख रुपैयाँ वितरण योग्य नाफासहित तेस्रो स्थानमा छ ।

खुद ब्याज आम्दानी

खुद ब्याज आम्दानीको आधारमा एनआईसी एशिया बैंक पहिलो स्थानमा छ । एनआईसी एशिया बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ५ अर्ब २४ करोड १६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । ४ अर्ब ७९ करोड ५२ लाख रुपैयाँ ब्याज आम्दानीसहित ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा छ । राष्ट्रय वाणिज्य बैंक ४ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ ब्याज आम्दानीसहित तेस्रो स्थानमा छ ।

निक्षेप

निक्षेप संकलनको आधारमा पनि एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । एनआईसी एशिया बैंकले २ खर्ब ९४ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकसँग २ खर्ब ७१ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन रहेको छ । राष्ट्रिय वाणिज्य बैंक २ खर्ब ४२ अर्ब ५६ करोड निक्षेप संकलन गर्दै तेस्रो स्थानमा रहन सफल भएको छ ।


ट्रेडिङ आम्दानी

ट्रेडिङ आम्दानीको आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक पहिलो स्थानमा रहन सफल भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ४१ करोड ८३ लाख रुपैयाँ ट्रेडिङ आम्दानी गरेको छ । ३९ करोड २८ लाख रुपैयाँ बराबरको ट्रेडिङ आम्दानीसहित ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा छ । स्ट्यान्डर्ड चाटर्ड बैंक ३४ करोड ४३ लाख रुपैयाँ बराबरको ट्रेडिङ आम्दानीसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स