सरकारले यो वर्ष लक्ष्यानुसार आर्थिक वृद्धि हासिल गर्ने: अर्थसचिव मरासिनी

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले सरकारले यो वर्ष लक्ष्यानुसार आर्थिक वृद्धि हासिल गर्ने दाबी गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बोल्दै सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने दाबी गरेका हुन् ।

उनले कोभिड–१९ को दोस्रो लहरपछि आर्थिक गतिविधि स्वाभाविक चलायमान हुन खोजेकाले अर्थतन्त्रमा केही चाप देखिएको बताए ।

उनले अर्थतन्त्रमा पछिल्लो समय केही चाप रहे पनि खराब अवस्थामा पुगि नसकेको बताए ।

उनले ७.११ प्रतिशतको मूल्यवृद्धि, आठ खर्ब ८० अर्बको व्यापार घाटा, रेमिट्यान्समा गिरावाट आएकाले अर्थतन्त्रमा केही चाप बढेको स्वीकार गरे ।

विदेशी विनिमय सञ्चिति केही घटे पनि कम्तीमा ६ महिनालाई आयात धान्न सकिने अवस्थामा रहेकाले आत्तिनु नपर्ने उनको भनाइ थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि पुँजीगत खर्च पनि बढेकाले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हट्दै जाने मरासिनीको भनाइ छ ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आयात निरुत्साहित र निर्यात प्रवर्द्धन हुने गरी व्यापार सहजीकरण हुनुपर्ने बताए । आयात रोक्नु भन्दा पनि व्यवस्थित गर्नुपर्ने उनले बताए ।

अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक भएसँगै अर्थतन्त्र नै जोखिमको दिशामा रहेको भन्दै उनले अर्थसचिव मरासिनीको ध्यानाकर्षण गराए । आठ खर्ब ८० अर्ब रुपैयाँ व्यापार घाटा पुगिसकेको भन्दै उनले सरकारी नीति र योजना तथा कार्यान्वयनको पाटोमा गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको समेत बताए ।

चेम्बरले ७०औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक रामप्रसाद रेग्मीलाई सम्मान गर्‍यो । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो ।

काठमाडौंको जमलस्थित चेम्बर कार्यालयमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लले दोसल्ला ओढाएर एवं अर्थसचिव मरासिनीले प्रमाणपत्रसहित निर्देशक रेग्मीलाई सम्मान गरे ।

भन्सार विभागमा उत्कृष्ट सेवा तथा रसुवा भन्सारमा हुँदा व्यापार सहजीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले रेग्मीलाई ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताए ।

भन्सार विभागकै सिफारिसका आधारमा चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो । रसुवा भन्सारसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर भन्सारमा झन्डै १५ वर्ष बिताएका रेग्मीले सेवामा रहँदा उत्कृष्ट कार्य गरेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद शर्माले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स