नाफामा एनएमबि ‘टप फाइफ’ मा, यस्तो छ अन्य वित्तीय विवरण

काठमाडौं ।  एनएमबि बैंक बढी नाफा कमाउनेमा पाँचौ बैंक बनेको छ । लगातार अन्तर्राष्ट्रिय अवार्ड जित्दै आएको बैंकले नाफामा पनि उच्च सफलता हासिल गरेको हो ।  बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ७१ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले गरेको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.०४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६१ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद नाफा बढेको छ भने प्रतिसेयर आम्दानी घटेको छ । खुद ब्याज आम्दानी घटेपनि खुद फि तथा कमिशन आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.३७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४७.०६ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने ५.३८ प्रतिशत बढेको छ ।

सो अवधिसम्ममा बैंकको १६ करोड ५४ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ । पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८७ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ रुपैयाँ ७० पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १८ रुपैयाँ ९६ पैसामा झरेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पुँजी १२.५० प्रतिशत बढेको छ भने जगेडा कोष ११.२७ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १०.४६ प्रतिशत र कर्जा १३.९९ प्रतिशत बढेको छ ।

पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.९६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८० पैसा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स