अबको ४ महिनामा चोरी र भन्सार छलिका मोबाइल नेपालमा नचल्ने

काठमाडौं । अबको ४ महिनामा अवैध मोबाइल नेपालमा नचल्ने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अबको ४ महिनामा नेपालमा अवैध मोबाइल सञ्चालन नहुने बताए ।

मोबाइल डिभाइस म्यानेटमेन्ट सिस्टम (एमडीएमएस) राख्न सम्झौता गरिएको मलेसियन कम्पनीले अप्रिलसम्म हार्डवेयर र सफ्टवेयर जाडन गर्ने प्रतिवद्धता गरेको अध्यक्ष खनालले जानकारी दिए ।

आपूर्तीकर्ता कम्पनीको प्रतिवद्धता अनुसार ३ महिना भित्रमा एमडीएमएसका लागि आवश्यक हार्डवेयर र सफ्टवेयर जडानको काम सकिन्छ । एमडीएमएस जडान भइसकेपछि अवैध र चोरीका मोबाइल नेपालमा चल्ने छैनन् ।

प्राधिकरणले एमडीएमएस राख्न २०७६ असारमा सम्झौता गरेको थियो । मलेसियन कम्पनी नुमेरासँग प्राधिकरणले बिहीबार ७० लाख ६६ हजार ८ सय ८८ अमेरिकी डलरमा सम्झौता गरेको हो । ओएसआई कन्सल्टेन्सी इन्डिया र नमस्ते ग्लोबल कम्युनिकेसन सिंगापुरसँगको संयुक्त उपक्रमसँग प्राधिकरणले सम्झौता गरेको थियो ।

सम्झौता अनुसार ६ महिनामा भित्रमा एमडीएमएस गरिसक्नु पर्ने थियो ।

जाडन गर्ने समयदेखि नै कोभिड–१९ को महामारी फैलिएकाले लक्ष्य अनुरुप काम हुन नसकेको अध्यक्ष खनाल स्वीकार गर्छन ।

‘कोभिड–१९ महामारी काबु बाहिरको स्थिति हो । यस्तोमा विदेशी ठेकेदारलाई दवाव दिएर काम गराउन र ठेक्का तोड्न सम्भव भएन,’ खनालले भने, ‘भौतिक रुपमा उपस्थिति भएर केही उपकरण जाडन गर्नु पर्ने भएकाले पनि समस्या भयो । ३ महिना भित्रमा काम सक्ने ठेकेदारबाट प्रतिवद्धता आएको छ ।’

३ महिना भित्रमा हार्डवेयर र सफ्टवेयर जडान सम्पन्न गर्ने तथा एक महिना भित्रमा कर्मचारीहरुलाई प्राविधिक तालिम दिएर एमडीएमएस सञ्चालनमा ल्याउने योजना रहेको उनले सुनाए ।

विदेशबाट ल्याएका फोनमा आईएमईआई नम्बर दर्ता अनिवार्य

यो प्रणाली पूर्ण रूपमा सञ्चालन भएपछि विदेशबाट नेपाल ल्याएर मोबाइल चलाउन मोबाइलको आईएमईआई नम्बर दर्ता अनिवार्य गर्नुपर्छ । आईएमईआई नम्बरका आधारमा फोन वैध वा अवैध हो भनेर यो सफ्टवेयरले पत्ता लगाउनेछ । अवैध मोबाइल भए प्रणालीमार्फत बन्द गर्न सकिन्छ । फोनमा सिमकार्ड नै चल्दैन । एमडीएमएस प्रणालीले भन्सार नतिरी भित्रिएका फोनसमेत पत्ता लगाउन सहयोग गर्न सक्छ ।

आईएमईआई नम्बर यसरी दर्ता गर्नुहोस्

हरेक मोबाइल सेटमा हुने ‘युनिक नम्बर’ लाई आईएमईआई नम्बर भनिन्छ । हरेक मोबाइलका साथै सिम सल्टका आधारमा आईएमईआई नम्बर फरक हुन्छ । एउटा सिम लाग्ने मोबाइलमा एउटा र दुईवटा सिम लाग्नेमा दुईवटा आईएमईआई नम्बर राखिएको हुन्छ । मोबाइलको कभर राखिएको स्टिकरमा पनि आईएमईआई नम्बर लेखिएको हुन्छ । कभरमा आईएमईआई नम्बर देखिएन भने स्टार ह्यास ०६ ह्यास डायल गर्दा पनि मोबाइलमा आईएमईआई नम्बर देखाउँछ ।

आईएमईआई नम्बर दर्ता गर्न दूरसञ्चार प्राधिकरणको वेवसाइटमा जानुपर्ने हुन्छ । वेवसाइटमा रहेको आईएमईआई÷ईएसएन÷एमईआईडी मा गएर आईएमईआई नम्बर दर्ता गर्न सकिन्छ । प्राधिकरणका अनुसार आईएमईआई नम्बर दर्ता गर्न कुनै शुल्क लाग्दैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स