सेयर बजारमा प्राविधिक विश्लेषणको उपयोग कसरी गर्ने ?

प्राविधिक विश्लेषणलाई अहिले पनि चौकमा बसेर हात हेर्ने ज्योतिष बिद्या कै हैसियतमा हेर्ने गरिन्छ । जब कि यो त हामीले बजारमा सुनेको, पढेको, देखेको सबै कुरालाई एक गणितीय बिधि द्वारा विश्लेषण गरी जोखिम न्यूनिकरण विश्लेषण विधि या बजारको मनोविज्ञान बुझेर लगानीकर्तालाई लगानीपूर्व निर्णय गर्न सहयोग गर्ने एक विधि हो।

यहाँ धेरै जटिल गणितीय, तथ्याङ्किय अवधारणाहरुलाई एकबद्ध गरेर विभिन्न संकेतहरुको विकास गरिएको हुन्छ, जसले लगानीयोग्य बजार तथा स्टकको बारेमा सूसुचित गरिरहेको हुन्छ। विकसित बजारमा प्रयोग हुने तिनै प्राविधिक उपकरणहरुलाई यहाँ प्रविधिमैत्री सहभागीहरुले नेपाली बजारमा पनि प्रयोग तीव्र बनाएका छन्। प्राविधिक विश्लेषण धर्का तान्नु र तान्ने मात्रै हो भन्ने मानसिकताले लगानीकर्ताहरुलाई कागजी जमानाको बजार प्रतिस्पर्धीको रुपमा उभ्याउँछ ।

प्राविधिक विश्लेषण के हो?

सरल शब्दमा प्राविधिक विश्लेषण भनेको क्यान्डलका ढाँचाहरू, चार्टका ढाँचाहरू, सपोर्ट र प्रतिरोध, माग र आपूर्तिको मनोविज्ञान तथा अन्य विभिन्न सूचकहरूको अध्ययन हो। सेयर बजारको सही भविष्यवाणी गर्नु गाह्रो काम हो, तर प्राविधिक विश्लेषणले निश्चित हदसम्म बजारको सही भविष्यवाणी गर्न सजिलो बनाउन धेरै मद्दत गर्छ।

यसले मानव मनोविज्ञानमा आधारित बजारको भावना बुझ्नपनि मद्दत गर्छ र बजारको भविष्यको भविष्यवाणी गर्न सक्छ । प्राविधिक विश्लेषणले बजारमा पस्न वा निस्कन तथा कुनै कम्पनीको सेयर किन्न वा बेच्न कुन समय उपयुक्त हुन्छ भनेर ठम्याउन भने सहयोग गर्छ ।

प्राविधिक विश्लेषणको लाभ

१) आम लगानीकर्ताको मनोविज्ञान पत्ता लगाउन

प्राबिधिक विश्लेषणले बजारको सन्दर्भमा लगानीकर्ता र ब्यापारीहरुको मनोविज्ञान बुझ्न मद्दत गर्दछ र उनीहरूले के गरिरहेका छन् भन्ने स्पष्ट बुझाइ दिन्छ।

२.प्रवृत्ति विश्लेषण गर्न

प्राविधिक विश्लेषणको अन्तिम फाइदा यो हो कि यसले लगानीकर्ताहरूलाई बजारको भविष्यको भविष्यवाणी गर्न र विश्लेषणको आधारमा लगानी र व्यापारिक निर्णयहरू गर्न मद्दत गर्दछ। बजारमा सामान्यतया अप ट्रेन्ड, डाउन ट्रेन्ड, र साइडवेज वा रेन्जिङ मार्केट गरी तीनवटा प्रवृतिहरू हुन्छन् र यी प्रवृतिहरू प्राविधिक विश्लेषणको मद्दतले  सजिलै अनुमान गर्न सकिन्छ।

३. प्रवेश र निकास बिन्दुहरू

लगानी र व्यापारमा, समयले महत्त्वपूर्ण भूमिका खेल्छ। बजारमा प्रवेश गर्ने वा बाहिर निस्कने सही समय प्राविधिक विश्लेषणको मद्दतले सजिलै अनुमान गर्न सकिन्छ जसले राम्रो प्रतिफल दिन्छ। क्यान्डलस्टिक प्याटर्न, चार्ट प्याटर्न, इलियट वेभ थ्यौरी , डाउ थ्यौरी र विभिन्न इन्डिकेटरहरू लगानीकर्तालाई बजार प्रवेश गर्न र बाहिर निस्कनका लागि अत्यन्त उपयोगी छन्।

४. प्रारम्भिक संकेतहरू बुझ्न

प्राविधिक विश्लेषणको मुख्य फाइदा यो हो कि यसले चलि रहेको एक प्रवृत्ति उल्टो हुनु अघि प्रारम्भिक संकेतहरू प्रदान गर्दछ ताकि लगानीकर्ताहरू ले ती संकेतहरूको आधारमा आफ्नो निर्णय लिन सक्नेछन्। बजार निर्माताको गतिविधिहरू प्राविधिक विश्लेषणको मद्दतले विश्लेषण गर्न सकिन्छ र त्यस्ता गतिविधिहरूलाई  विश्लेषणमा अवलोकन गर्न सकिन्छ ।

५.घाटा र लक्ष्य रोक्न

प्राविधिक विश्लेषणले बजारमा लगानीकर्ताले लिएको स्थितिको लागि स्टप लस र लक्ष्यलाई स्पष्ट रूपमा परिभाषित गर्दछ। यसले लगानीकर्ताहरूलाई जोखिममा आफ्नो क्षमता अनुसार निर्णय गर्न मद्दत गर्दछ।

६. समग्र बजारको जानकारी थाहा पाउन

प्राविधिक विश्लेषण स्विङ ट्रेडर, छोटो र दीर्घकालीन अवधिका लगानीकर्ताहरूको लागि उपयोगी छ। प्राविधिक चार्ट द्वारा प्रदान गरिएको विस्तृत जानकारीले लगानीकर्ता र व्यापारीहरूलाई बजारमा सही स्थान लिन र उनीहरूको पोर्टफोलियो निर्माण गर्न मद्दत गर्दछ। चार्ट प्याटर्न , क्यान्डल स्टिक प्याटर्न , अस्थिरता , सपोर्ट र प्रतिरोध, आदिको सहयोगमा लगानीकर्ताहरू लाई धेरै जानकारी प्रदान गर्दछ।

लगानीकर्ताहरूले इक्विटी, मुद्रा, र कमोडिटी बजारको विश्लेषण गर्न विभिन्न समय फ्रेमहरूको संयोजन प्रयोग गर्छन् किनभने यसले बजार, अस्थिरता, र लगानी कर्ताको मनोविज्ञान बुझ्न मद्दत गर्दछ।

कति भर पर्ने ?

कतिपय लगानीकर्ता त प्राविधिक विश्लेषण नै अचुक अष्त्र हो भने जस्तो गर्छन् तर, यसको आधारमा मात्र लगानी गर्नु पनि सही नहुने अर्काथरी विश्लेषकहरुको भनाई रहेको छ । उनीहरु मान्छन्, ‘यो प्रभावकारी बजारको परिकल्पनामा आधारित हुन्छ र यो विश्लेषणको क्रममा प्रयोग हुने तथ्यांकमा पहिले नै बिभिन्न प्रभाव समाहित भइसकेको हुन्छ ।’

कतिपय विश्लेषकहरु मान्छन् कि यो लगानीकर्ताको मनोविज्ञानसँग पनि सम्बन्धित विषय हो । जति धेरै लगानीकर्ता यसलाई विश्वास गर्छन्, यसलाई पछ्याउँछन्, त्यति नै यसको प्रभाव देखिन्छ ।

बजार तीव्र रुपमा बढ्दा वा घट्दा पनि प्राविधिक विश्लेषण बढि प्रभावकारी हुने मानिन्छ । बजार उच्च बढ्दा कुनै कम्पनीको सेयर बास्तविक अथवा अन्तरनिहीत मूल्यभन्दा निकै उच्च भइसेकेको हुन्छ । यस्तो समयमा आधारभुत पक्ष बिर्सनु नै राम्रो हुने विश्लेषकहरु बताउँछन् ।

उच्चरुपमा बढ्दा वा घट्दा बजार वा निश्चित कम्पनीको सेयरमा लगानीकर्ताहरुको आकर्षण कत्तिको देखिइरहेको छ भन्ने जानकारी पनि प्राविधिक विश्लेषणले दिने उनीहरु मान्छन् । यसैको आधारमा निर्णय गर्न सजिलो हुन्छ ।

आधारभूत विश्लेषणपनि महत्वपूर्ण

सेयर बजारका लगानीकर्ताहरुका लागि प्राविधिक विश्लेषणसँगै आधारभूत विश्लेषण पनि महत्वपूर्ण छ । कम्पनीको वित्तीय अवस्था, देशको अर्थतन्त्र, कम्पनीले यसअघि दिएका लाभांसहरु लगायतका समष्टीगत आधारमा गरिने विश्लेषणलाई आधारभूत विश्लेषण भनिन्छ । आधारभुत विश्लेषण र प्राविधिक विश्लेषण दुवैलाई मिलाएर अगाडि बढ्न सक्नेले नै बजारबाट अधिकतम लाभ लिन सक्छन् ।

निश्कर्षमा भन्नुपर्दा प्राविधिक विश्लेषणका कतिपय औजारले कम्पनीको मूल्य बास्तविक हुनुपर्नेभन्दा कम भएको छ भन्ने वा बढि भएको छ भनेपनि जानकारी दिन्छ। यसले हुनसक्ने लाभ वा जोखिमको सम्भावनापनि देखाउँछ । त्यसैलेपनि आधारभुत र प्राविधिक दुवै पक्ष बजार विश्लेषणको लागि उत्तिकै प्रभावकारी मानिन्छन् ।

(कार्की विगत १० वर्षदेखि पुँजी बजारमा सक्रिय छन्)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स